काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहासलाई स्मरण गर्दै अब हिंसात्मक संघर्षको पुनरावृत्ति हुन नदिन साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतका आन्दोलन, संघर्ष र बलिदानलाई सम्झँदै राष्ट्र निर्माणको यात्रामा नयाँ विश्वास र आशा जगाउनुपर्नेमा जोड दिएका हुन् । फरक–फरक विचार र आस्था भए पनि सबै जनप्रतिनिधि एउटै राष्ट्रिय जिम्मेवारीका साथ एउटै थलोमा उभिएको उल्लेख गरे ।
आङ्देम्बेले राजनीतिक दलगत भिन्नतालाई भन्दा माथि उठेर देशप्रति इमानदार बन्नुपर्ने आवश्यकता औंल्याउँदै सबैले ‘इमानको पसिना बगाउने’ संकल्प गर्नुपर्ने बताए । उनका अनुसार विगत ३५ वर्षमा केही पनि भएन भन्ने नकारात्मक भाष्यलाई चिर्नुपर्ने आवश्यकता छ।
उनले १० वर्षे जनयुद्ध, भूकम्प र कोभिड–१९ महामारी जस्ता कठिन परिस्थितिमा पनि देशले विकासका कदम अघि बढाएको दाबी गर्दै भएका उपलब्धिलाई सही ढंगले प्रस्तुत गर्नुपर्ने बताए। साथै अझै धेरै काम बाँकी रहेको भन्दै साझा प्रयासमा अघि बढ्नुपर्नेमा उनले जोड दिए।
बैठकमा उनले संसदीय प्रणालीलाई सबैभन्दा उत्कृष्ट लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै यस प्रणालीविरुद्ध प्रश्न उठाउने शक्तिहरु समेत अहिले संसदभित्र शालिन ढंगले उपस्थित रहेको टिप्पणी गरे। कांग्रेसले निरन्तरता र नवीनताको संयोजनमा विश्वास गर्ने भन्दै उहाँले समयअनुसार परिवर्तन हुन पार्टी तयार रहेको पनि स्पष्ट पार्नुभयो। साथै जेनजी आन्दोलनलाई निष्कर्षमा पुर्याउन कांग्रेस प्रतिबद्ध रहेको उनकाे भनाइ थियो।
नेता आङ्देम्बेले अन्त्यमा सबै राजनीतिक शक्तिलाई एकताबद्ध भएर देशलाई अघि बढाउन आग्रह गर्दै विगतका पीडादायी अनुभव नदोहोऱ्याउने साझा संकल्प आवश्यक रहेको उल्लेख गरे ।












