काठमाडौं । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा मार्च महिनामा पर्यटक आगमनमा गिरावट आएको छ। अघिल्लो महिनाको तुलनामा मार्चमा यहाँ आउने पर्यटकको संख्या घटेको हो।
सिक्लेसस्थित पर्यटक सूचना केन्द्रका अनुसार मार्च महिनामा एक हजार ९२६ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्। मौसम अनुकूल नभएका कारण अघिल्लो महिनाको तुलनामा पर्यटक संख्या घटेको केन्द्रले जनाएको छ।
जङ्गलले घेरिएको बस्ती, ढुङ्गाले छापिएका बाटाहरू र ठाउँ–ठाउँमा देखिने परम्परागत संरचनाले सजिएको सिक्लेस प्राकृतिक सौन्दर्यसँगै गुरुङ समुदायको संस्कृति, परम्परा र इतिहासका कारण विशेष रूपमा परिचित छ। साथै, यो स्थान नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा समेत चिनिन्छ।
समुद्र सतहबाट करिब एक हजार ९५० मिटर उचाइमा अवस्थित सिक्लेस गुरुङ सम्पदा पदमार्गअन्तर्गत पर्ने प्रमुख गन्तव्य हो।
यहाँबाट कफुचे, कोरी, क्होलासोँथर र दूधपोखरीसम्म पदयात्रा गर्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र आकर्षणको केन्द्र मानिन्छ।












