काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सभामुख पदमा निर्वाचित भए संविधान र कानूनको परिधिभित्र रहेर निष्पक्ष तथा न्यायपूर्ण ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शुक्रबार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै अर्यालले आफूलाई प्राप्त हुने जिम्मेवारीलाई पूर्ण इमानदारीका साथ निर्वाह गर्ने बताउनुभयो । उहाँले राज्यका तीन प्रमुख अंग—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै संसद्को गरिमा उच्च राख्ने दाबी गर्नुभयो ।
उहाँले आफ्नो उम्मेदवारी व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर देश, जनता र राष्ट्रिय हितको संरक्षणका लागि भएको उल्लेख गर्नुभयो । सभामुख पदमा पुगेपछि संसद्को भूमिका अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने आफ्नो प्राथमिकता रहने पनि उहाँले स्पष्ट पार्नुभयो ।
अर्यालले भन्नुभयो, “मैले जुन जिम्मेवारी पाउने अवसर प्राप्त गर्छु, त्यो अझै प्रक्रियामै छ । यदि म उक्त पदमा पुगें भने नेपालको संविधान, कानून र नेपाली जनताको हितलाई केन्द्रमा राखेर व्यवस्थापिकाको काम न्यायपूर्ण ढंगले अघि बढाउनेछु ।”
सभामुख चयन प्रक्रिया अघि बढिरहेका बेला रास्वपाले आफ्नो तर्फबाट उपसभापति अर्याललाई उम्मेदवार बनाएको हो ।
सभामुख निर्वाचनलाई लिएर राजनीतिक दलहरूबीच सरगर्मी बढिरहेका बेला अर्यालले आफ्नो कार्यकालमा संसदीय अभ्यासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याउनुभएको छ ।












