२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार



अ+ अ-

काठमाडौँ । जीवनमा आउने सङ्कटले कहिलेकाहीँ मानिसलाई पूर्णतः निराश बनाउने मोडमा पु¥याउँछ । सपना अधुरा रहन्छन्, भविष्य अँध्यारो देखिन्छ । तर त्यही अँध्यारोबीच उज्यालो खोज्ने साहस गर्नेहरू नै अन्ततः प्रेरणाको पात्र बन्छन् । यस्तै संघर्ष, आत्मविश्वास र पुनःउत्थानको कथा बोकेका पात्र हुन् सिन्धुलीमा जन्मिएका शिशिर दाहाल ।

हाल भक्तपुरको दधिकोटमा बसोबास गर्दै आउनुभएका २५ वर्षीय दाहालले विसं २०७८ मा जीवनकै कठिन मोड सामना गर्नुप¥यो । दुर्घटनामा परेर मेरुदण्डमा गम्भीर चोट लागेपछि उनी शारीरिक रूपमा अपाङ्गता बन्नुभयो । त्यसपछि उनको दैनिकी हुइलचियरमा सीमित भयो । शारीरिक अवस्थासँगै मानसिक रूपमा पनि चुनौती थपिँदै गयो । “अब के गर्ने ? कसरी बाँच्ने ?” जस्ता प्रश्नले उनलाई बारम्बार घेरिरहन्थे ।

तर दुर्घटनाले उहाँको शरीर कमजोर बनाए पनि आत्मबल भने झनै मजबुत बनायो । “के यही अवस्थालाई नियति मानेर बस्ने कि केही गरेर फेरि उठ्ने ?” भन्ने प्रश्नले उहाँलाई नयाँ बाटो रोज्न प्रेरित गर्‍यो । कृषि विषय अध्ययन गर्नुभएका दाहालले विसं २०७९ देखि नर्सरी व्यवसाय सुरु गर्नुभयो । सीमित स्रोत, शारीरिक असहजता र नीतिगत झन्झटका बीच पनि उनले हार मानेन्। आज उनको नर्सरीमा हुर्किएका बिरुवासँगै उनको संघर्षको कथा पनि फुलिरहेको छ ।

भृकुटीमण्डपमा सञ्चालन भइरहेको तेस्रो नेशनल हर्टिकल्चर एक्स्पोमा सहभागी हुनुभएका दाहाल अहिले आत्मनिर्भर उद्यमीका रूपमा स्थापित  भएका छन्  । उनी भन्छन्, “मेहनत गरे विदेश जानै पर्दैन, नेपालमै पनि सम्भावना छ ।”

उता कीर्तिपुरमा सञ्चालनमा रहेको बुढाथोकी नर्सरीमार्फत सुरसा ओझा पनि आफ्नो पहिचान बनाउँदै छन्। हजुरबाबाट सुरु भएको पारिवारिक व्यवसायलाई अगाडि बढाउँदै उहाँले पछिल्लो चार वर्षदेखि यस क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपाली समाजमा अझै पनि हर्टिकल्चर व्यवसायलाई पर्याप्त सम्मान नदिने प्रवृत्ति रहे पनि सुरसा त्यसलाई चुनौती दिँदै अघि बढिरहेका छन्। “यो क्षेत्रमा कहिलेकाहीँ हेपिएको महसुस हुन्छ, तर सोच परिवर्तन गर्न हामी आफैंले पहल गर्नुपर्छ,” उनको भनाइ छ । उनका अनुसार, सहरमा हरियालीप्रतिको बढ्दो आकर्षण, घरमै बगैँचा बनाउने चलन र वातावरणीय सचेतनाले नर्सरी व्यवसायको सम्भावना विस्तार भइरहेको छ ।

त्यस्तै, ललितपुरका दीपेन्द्र तुलाधारले पनि सङ्कटलाई अवसरमा परिणत गरेका छ । पहिले विज्ञापन एजेन्सी सञ्चालन गर्दै आएका उनले व्यवसाय कोरोना महामारीका कारण प्रभावित भएपछि नयाँ बाटो रोज्न बाध्य भए। विदेश जाने सल्लाहबीच उहाँले स्वदेशमै सम्भावना खोज्दै नर्सरी व्यवसाय सुरु गरे।

अहिले उनको मासिक आम्दानी ४५ लाख रुपैयाँसम्म पुगेको छ । भृकुटीमण्डपमा जारी पुष्प प्रदर्शनीमा उनी  ग्राहकलाई बिरुवा बिक्रीसँगै त्यसको स्याहार–सम्भारबारे जानकारी दिन पनि व्यस्त देखिन्छन्। “बिरुवा बेच्ने मात्र होइन, त्यसलाई कसरी बचाउने भन्ने सिकाउनु पनि हाम्रो जिम्मेवारी हो,” उनी भन्छन् ।

काठमाडौँको साँखुस्थित दिवा नर्सरीका आकाश सापकोटाले पनि यही क्षेत्रमा राम्रो प्रगति गर्नुभएको छ । दाइको व्यवसायबाट सिक्दै सुरु गरेका उनी अहिले सक्रिय उद्यमी बनेका छन् । उनका अनुसार नर्सरी व्यवसायबाट मासिक करिब पाँच लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ ।

यसैगरी मोरङका २२ वर्षीय अरुण विष्ट पनि विदेशिने लहरभन्दा फरक सोच राख्दै स्वदेशमै पुष्प व्यवसायमा भविष्य खोजिरहेका छन् । “विदेश जानु मात्रै विकल्प होइन, यहाँ पनि धेरै सम्भावना छ,” उनको विश्वास छ ।

नर्सरी तथा पुष्प व्यवसायप्रति बढ्दो आकर्षणसँगै यस क्षेत्रमा लाग्नेहरूको संख्या विस्तार हुँदै गएको छ । पुष्प विकास केन्द्र गोदावरीका प्रमुख रवीन्द्र थापाका अनुसार नेपालमा वार्षिक करिब साढे तीन अर्ब रुपैयाँ बराबरको पुष्प तथा आलङ्कारिक वस्तु आयात हुने गरेको छ । उक्त आयातलाई स्वदेशी उत्पादनमार्फत प्रतिस्थापन गर्ने सम्भावना उच्च रहेको उनले बताए ।

नर्सरी व्यवसायी सङ्घ नेपालका अनुसार यस क्षेत्रमा करिब ११ दशमलव ८३ अर्ब रुपैयाँ लगानी भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी व्यवसायी सक्रिय छन् । वार्षिक करिब ६.४३ अर्ब रुपैयाँको कारोबार हुने यस क्षेत्रमा एक लाख २० हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी उपक्षेत्रमा फैलिएको नर्सरी व्यवसायले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउनुका साथै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने आधार तयार गरिरहेको छ ।

नर्सरी व्यवसायी सङ्घका अध्यक्ष रामजी प्रसाद तिमल्सेनाले यस क्षेत्रको प्रवद्र्धनका लागि सरकारी नीति, प्रविधि हस्तान्तरण, गुणस्तरीय बीउ–बिजन उपलब्धता र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

नर्सरी व्यवसायको प्रवद्र्धन तथा कृषि उद्यमशीलता विकासलाई लक्षित गर्दै भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो सोमबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।