दोलखाको पर्यटकीय गन्तव्य जिरी जोड्ने वैकल्पिक मार्ग कालोपत्रेको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमा काम नगरेको भन्दै दैनिक सवा लाख जरिवाना गरिएको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा सडक स्तरोन्नतिसहित चौडा र कालोपत्रे गर्ने भन्दै प्राधिकरणले ठेक्का लगाएको भिरकोट–सहरे हावा सडकको पहिलो खण्डमा ठेकेदारले काम अलपत्र पारेपछि जरिवाना लगाइएको हो । सडक विस्तार आयोजनाको कार्यसम्पादन गर्ने कार्यालय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजा एकाइ पूर्वाधारले ठेकेदार कम्पनीलाई कात्तिक मसान्तदेखि लागू हुने गरी जरिवाना लगाउने निर्णय गरेको छ ।
कार्यालयका प्रमुखसमेत रहेका सडक विस्तार आयोजना प्रमुख गणेश अर्यालले पटक–पटक म्याद थप गर्दा पनि कम्पनीले बेवास्ता गरेर सडक अलपत्र पारेपछि नियमअनुसार जरिवाना लगाउन बाध्य भएको जानकारी दिए । ‘आयोजनाको दोस्रो खण्ड निर्माणको जिम्मा पाएको कम्पनीले कालोपत्रेको काम अन्तिम चरणमा पुर्याइसक्यो, तर पहिलोले भने अझै सुरु गरेको छैन । हैरान भएर यस्तो निर्णय गरेका हौँ,’ उनले भने ।

दुईवटा प्याकेजमा काम भइरहेको २५.६५ किलोमिटरको सडकखण्डको पहिलो प्याकेज निर्माणको जिम्मा पाएको तामाङ कुमार जेभीले ठेक्काको म्याद सकिएर पटक–पटक म्याद थप गर्दा पनि सडकको पूर्वाधार निर्माणबाहेक अन्य काम गरेको छैन । यसअघि स्थानीय तह, सडक आयोजना र परामर्शदाता कम्पनीसँग धेरैपटक समयमा काम सक्ने भनी लिखित प्रतिबद्धता जनाए पनि काम नगरेपछि जरिवाना लगाउनुको विकल्प नरहेको परामर्शदाता कम्पनीले जनाएको छ ।
परामर्शदाता कम्पनी एएफ इटेको स्विस कन्सल्टेन्टका प्रमुख जिल्ला इन्जिनियर सुजन देवकोटाले अहिलेसम्म उक्त खण्डकोे प्रगति मुस्किलले ७५ प्रतिशत मात्रै पूरा भएको जानकारी दिए । उनले अहिलेसम्म काम अन्तिम चरणमा पुग्नुपर्ने भए पनि कालोपत्रे नै सुरु भएको छैन । उक्त कम्पनीलाई ठेक्का सम्झौताको कुल बजेटका आधारमा दैनिक ०.०५ प्रतिशत अर्थात् एक लाख २५ हजार ५ सय २२ रुपैयाँ प्रतिदिन जरिवाना लाग्नेछ । सडक विस्तार आयोजना प्रमुख अर्यालले यो जरिवाना दुई सय दिन लागू हुने र सो समयसम्म पनि काम नसके थप कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।
दोस्रो खण्डको काम अन्तिम चरणमा: एडिबीले भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत भूकम्प गएको एक वर्ष नबित्दै सडकखण्डको काम सुरु गरेको थियो । त्यसमध्ये पहिलो प्याकेजको काम अलपत्र छ । तर, दोस्रो खण्डको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख अर्यालले सडक आयोजनाको दोस्रो खण्डको प्रगति ९० प्रतिशत पूरा भएको बताए ।
तामाकोसी गाउँपालिकाको सहरेस्थित भँगेरी गोलाइभन्दा दुई सय मिटर तलबाट सुरु गरिएको कालोपत्रे झन्डै आठ किलोमिटर पूरा भएको छ । डिभिएसटी प्रविधिको कालोपत्रे भइरहेको सडकखण्डको काम पुसको पहिलो साताभित्रै पूरा गर्ने लक्ष्य लिएको ठेकेदार कम्पनीले जनाएको छ ।
४५ करोेड लागतमा कालोपत्रे हुँदै:दुईवटा प्याकेजको गरी आयोजनाको जम्मा लागत ४५ करोड २५ लाख रुपैयाँ छ । तामाकोसी–मन्थली सडकखण्डको भिरकोटबाट जिरी जोड्ने सडक जफेको सिम्लेदेखि हावाको देउरालीसम्म कालोपत्रे हुनेछ । एडिबीको टोलीले अवलोकन गरी भिरकोटको ढोली खोला क्षेत्र पहिरोको उच्च जोखिम भएकाले जफेको सिम्लेबाट काम सुरु गर्न निर्देशन गरेपछि सिम्लेदेखि सडक निर्माणकोे काम सुरु गरिएको हो । नयाँ पत्रिका दैनिकबाट












