२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ठीक ढंगले भएको छैन्: मन्त्री ढकाल



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ठीक ढंगले नभएको बताएका छन् । सोमबार मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको स्वास्थ्य पत्रकार र मन्त्रीबीच साक्षात्कार कार्यक्रममा उनले बिरामी बेहोस बनाउने तालिम लिएका कर्मचारी स्थानीय तहमा फाइल बोक्ने काममा सरूवा भएको टिप्पणी गरे ।

जुन ढंगंले समायोजन हुनुपर्ने त्यो किसिमले कर्मचारी समायोजन नभएको भन्दै उनले समायोजनका क्रममा आएका दुई हजार गुनासोमध्ये एक हजार व्यवस्थापन गरेको र एक हजार व्यवस्थापनको क्रममा रहेको जानकारी दिए । समायोजनको गुनासोका आधारमा केही वैकल्पिक उपायहरू अपनाएर समाधान गर्ने मन्त्री ढकालले बताएका हुन् । ‘हिमाली जिल्लाहरूमा खाली भएका दरबन्दीमा प्रोत्साहन गरी सेवा सञ्चालन गर्ने हाम्रो तयारी रहेको छ’ उनले भने, ‘जुुुन ठाउँमा आवश्यकता र माग छ उक्त ठाउँमा कर्मचारी पठाउने हो भने यसको समस्या सुधार हुँदै जान्छ ।’

त्यस्तै उनले समायोजनको गुनासो सम्बोधन तीव्र रूपमा गरिने बताएका छन् । कार्यक्रममा बोल्दै मन्त्री ढकालले सात हजार गुनासोमध्ये दुई÷चारवटा विकल्पमार्फत समाधान हुने बताए ।व्यावहारिकरूपमा नमिलेका समायोजनहरूबारे पुनर्विचार गर्ने उनको भनाइ छ । उनले थपे, ‘पहिला जुन पदमा थिए उक्त पद घटुवा नहुनेगरी व्यवस्थापन गर्न क्याविनेटबाट निर्णय गराउँदा करिब १५ सयदेखि २ हजारको मात्रै व्यवस्थापन हुन्छ । पहाडी र हिमाली जिल्लामा खाली भएका र जान चाहनेहरूलाई पठाएर अन्य केहीको व्यवस्थापन गर्न सकिन्छ ।’

त्यस्तै यी विकल्पबाट पनि नमिल्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा भने पुल दरबन्दी सिर्जना गरेर व्यवस्थापन गर्ने उनले बताए । त्यसका लागि कर्मचारी समायोजनमा काम गरिरहेका कर्मचारीलाई सहयोग गर्न उनले आग्रह गरे । मन्त्री ढकालले तीनमहिना भित्रै महशुश गर्ने गरी मन्त्रालयको काम र प्रभावकारितामा परिवर्तन देखिन थाल्ने दाबी गरे । मन्त्री ढकालले आफू स्वास्थ्यमा आएको एक महिना मात्रै भएको भन्दै उनले मन्त्रालयको सबै कुरा बुझ्न नपाएको बताए ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका पदाधिकारी तथा स्वास्थ्य पत्रकारहरूले मन्त्रालयले समयमा सूचना नदिने र सकेसम्म सूचना लुकाउन खोज्ने गरेको भन्दै गुनासो गरेका थिए ।यसका साथै स्वास्थ्य संवेदनशील र प्राविधिक विट भएकाले पत्रकारहरूलाई पनि स्वास्थ्यकर्मीलाई जस्तै तालिम र अभिमुखीकरण आवश्यक रहेको बताएका थिए । प्रतिउत्तरमा मन्त्री ढकालले आफूले सकेसम्म स्वास्थ्यका सूचना प्रवाह गर्ने संयन्त्रलाई चुस्तदुरूस्त राख्ने बताए । सौर्य दैनिकबाट