२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको स्वास्थ्यको ख्याल गर्दै प्रधानमन्त्रीनिवास धमाधम भत्काइँदै, २९ करोडको नयाँ भवन बन्दै



अ+ अ-

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिँदै छ । पुराना भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएको छ । प्रधानमन्त्रीनिवासको पुरानो भवन भत्काउन करिब एक महिना लाग्नेछ । प्रधानमन्त्री केपी ओलीलाई मुख्यसचिवको सरकारीनिवासमा सारिएको छ । भवनका भग्नावशेषको फोहोर र निर्माण सामग्रीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा असर गर्ने भएकाले उनलाई मुख्यसचिवको निवासमा सारिएको हो ।

नौ दिन अस्पतालमा उपचार गराएर प्रधानमन्त्री ओली अहिले बालुवाटारमा आराम गर्दै आएका छन् । मुख्यनिवासमा रहँदै आएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भने सभामुखनिवासमा सारिएको छ । पूर्वसभामुख कृष्णबहादुर महराको निवास खाली भएपछि राष्ट्रिय सभाध्यक्षलाई सो निवासमा सारिएको हो ।

दुवैवटा भवन एकसाथ निर्माण गरिने: सहरी विकास तथा भवन निर्माण विभागले प्रधानमन्त्री आवासका दुईवटै भवन एकैसाथ निर्माण सुरु गरेको छ । प्रधानमन्त्री ओलीको निर्देशनअनुसार विभागले निजी तथा सार्वजनिक भवन एकैसाथ बनाउन थालेको हो । विभागको योजनाअनुसार पहिलो चरणमा निजी भवन बनाउने र दोस्रो चरणमा प्रधानमन्त्रीका लागि सार्वजनिक भवन निर्माण गर्ने थियो ।

निजी भवन निर्माणपछि प्रधानमन्त्रीलाई सो भवनमा सारेर मात्रै सार्वजनिक भवन निर्माण गर्ने योजना थियो । विभागले गत असोजदेखि प्रधानमन्त्रीको नयाँ भवन निर्माण काम सुरु गरेको थियो । निजी भवनको जग र पिलर उठाउने काम सकिएको विशेष भवन आयोजना प्रमुख प्रक्रिण तुलाधरले बताए । निजी भवन नौ महिनामा तयार हुनेछ भने सार्वजनिक भवन १५ महिनामा सम्पन्न भइसक्नेछ ।

२९ करोडमा बन्नेछ भवन:प्रधानमन्त्रीनिवास २९ करोड रुपैयाँ निर्माण हुने भएको छ । विभागको अनुमानित रकमभन्दा २९ प्रतिशत कममा विभागले कोनटेक प्राइभेट कम्पनीसँग निर्माण सम्झौता गरेको हो । विभागले आवास निर्माणका लागि ४० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो । प्रधानमन्त्रीनिवास निर्माणका लागि १७ वटा कम्पनीले आवेदन दिएका थिए । सबैभन्दा कम मूल्य कोनटेकको आवेदन परेको थियो ।

०७२ सालको विनाशकारी भूकम्पले प्रधानमन्त्रीनिवासमा क्षति पुगेको थियो । साथै, प्रधानमन्त्रीनिवासको क्षेत्रफल साँघुरो भएपछि गत वर्षको पुसमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो । भवनको आर्किटेक्चर डिजाइन आजु डिजाइन कम्पनी र स्ट्रक्चर डिजाइन क्राफ्ट डिजाइन कम्पनीले गरेको थियो ।

चोक शैलीमा बनाइँदै सार्वजनिक भवन:सार्वजनिक भवन चोक शैली (कन्ट्रियार्ड कन्सेप्ट) मा बनाइनेछ । करिब एक हजार स्क्वायर फिटमा निर्माण गर्न लागिएको भवन नेपाली संस्कृति र परम्रागत झल्किनेछ । यो भवन तीन तलाको हुनेछ । भुइँतलामा १४ वटा संरचना निर्माण गरिनेछ । यो तला विशेषगरी अति विशिष्ट व्यक्तित्वसँगको भेटघाटका लागि छुट्टाइएको छ ।

त्यस्तै, पहिलो तलामा विभिन्न प्रयोजनका लागि नौवटा संरचना बनाइनेछ । यो तला विशेषगरी सार्वसाधारणसँग भेटघाटका लागि प्रयोग गरिनेछ । भवनको माथिल्लो तला प्रधानमन्त्रीको व्यक्तिगत प्रयोगका लागि छुट्याइएको छ । जहाँ विभिन्न प्रयोजनका लागि १२ वटा संरचना बनाइनेछ । यो भवनको बीचमा चोक हुनेछ । नेपाली परम्परागत शैलीअनुसार भवनको बीचमा चोक हुने संयोजनक तुलाधरले बताए । चोकमा नेपालको विभिन्न संस्कृति झल्कने कला राखिनेछन् ।

अति विशिष्ट पाहुना कोठासहितको निजी भवन: प्रधानमन्त्रीनिवासमा बनाइँदै गरेको निजी भवन प्रधानमन्त्रीको व्यक्तिगत जीवनका लागि प्रयोग गरिनेछ । सार्वजनिक भवन भने राजनीतिक पार्टीसँगको भेटघाट, कूटनीतिक व्यक्तित्व र सर्वसाधारणसँगको भेटघाटका लागि प्रयोग गरिनेछ । निजी भवन साढे दुई तलाको हुनेछ । भवन पाँच सय स्क्वायर फिटमा फैलिएको हुनेछ । यो भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० वटा संरचना निर्माण गरिनेछ ।

पाहुना कोठा, बस्ने कोठा, भान्सा र खाना खाने कोठा, लउन्ड्री, सुरक्षा कोठालगायतका संरचना निर्माण गरिनेछ । भवनको पहिलो तलामा विभिन्न प्रयोजनका लागि १५ वटा संरचना बनाइनेछ । दोस्रो तला भने अति विशिष्ट पाहुनाको प्रयोजनका लागि हुनेछ । जहाँ विभिन्न ११ वटा संरचना निर्माण गरिनेछ । नयाँ पत्रिका दैनिकबाट




भर्खरै