२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री ज्ञवालीले गरे नेपालको विकासबारे यस्तो खुलासा



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका)ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पुर्याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताउनुभएको छ ।

जाइका अल्मुनाई एसोसिएशन अफ नेपाल (जान)को ४६ औँ वार्षिक कार्यक्रमका अवसरमा आज आयोजित दक्षिण एशियामा प्राकृतिक विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा उहाँले जाइका नेपालको महत्वपूर्ण विकास साझेदार संस्था भएको र यसले नेपालको भूकम्पपछिका निजी घर, सार्वजनिक पूर्वाधार, सांस्कृतिक पुरातात्विक सम्पदालगायत पुनर्निर्माणमा गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि नै मैत्रीपूर्ण कायम रहेको उल्लेख गर्दै जापानले नेपालका सरकारी अधिकारीको क्षमता, सीप तथा ज्ञान अभिवृद्धिमा छात्रवृत्ति प्रदान गरी महत्वपूर्ण सहयोग पुर्याउँदै आएको उल्लेख गर्नुभयो । दक्षिण एशिया कुनै न कुनै प्रकारका प्राकृतिक विपद्को जोखिममा रहेको उल्लेख गर्दै उहाँले नेपालले आगामी चैत २१ र २२ गते ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयमा अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद गर्न लागेको अगवत गराउनुभयो ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपालका राष्ट्रपतिको जापान भ्रमण तथा उच्चस्तरीय छलफल र जापानका परराष्ट्रमन्त्रीको नेपाल भ्रमण भएको स्मरण गर्दै यो वर्ष जापानका लागि अर्थपूर्ण रहेको बताउनुभयो । साथै यही वर्ष ओशाका–काठमाडौँ सिधा हवाई उडान शुरु भएको उल्लेख गर्दै उहाँले नेपाल–जापान सम्बन्ध सुदृढ बनाउन जानले खेलेको भूमिकाको प्रशंसासमेत गर्नुभयो ।

जानका अध्यक्ष डा रामचन्द्र भुसालले अल्मुनाईबीच र जापानबीच मैत्रीपूर्ण भेटघाट तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउँदै सम्मेलनले दिने साझा सन्देश आत्मसात् गरी यस क्षेत्रका समुदाय लाभान्वित हुने बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणको प्रगतिका बारेमा जानकारी गराउँदै पुनर्निर्माणका विविध क्षेत्रमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, जाइका नेपालका प्रमुख प्रतिनिधि युमिको आशाकुमा, जाइका अल्मुनाई एसोसिएशन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) का अध्यक्ष मोहम्मद मोजाम्मेल हक खानले यस क्षेत्रको विकास निर्माणमा जाइकाले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै सम्मेलन अल्मुनाईबीच भेटवार्ता र अनुभव आदानप्रदानका लागि महत्वपूर्ण हुने बताउनुभएको थियो ।

सम्मेलनमा जानका महासचिव शान्तिलक्ष्मी शाक्यले जानले गरेका कार्य र गतिविधिका बारेमा जानकारी गराउँदै यसले नेपाल जापानबीचको सम्बन्ध सुदृढ गर्न सहयोग पुगेको बताउनुभएको थियो । सम्मेलनमा जानले प्रकाशित गरेको ‘मिलन’ पत्रिकाको विमोचन गरिएको थियो भने वित्त आयोगका अध्यक्ष पौडेललाई सम्मान गरिएको थियो ।

दक्षिण एशिया भूकम्प, बाढीपहिरो, सुनामीलगायत प्राकृतिक प्रकोपबाट प्रभावित रहेको सन्दर्भमा सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञले प्रस्तुत गर्ने विपद् व्यवस्थापनसम्बन्धी कार्यपत्रमाथि छलफल हुने र आदानप्रदान हुने अनुभव तथा ज्ञान सबैका लागि उपयोगी हुने बताइएको छ ।