२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी अध्यक्षको कार्यकारी ‘अख्तियारी’ पाएपछि पहिलो पटक प्रचण्डले बोलाए सचिवालय बैठक



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्षको कार्यकारी ‘अख्तियारी’ पाएपछि पहिलो पटक नेकपा सचिवालयको बैठक बस्न लागेको हो । आज बस्ने सचिवालय बैठकमा हालै सम्पन उपनिर्वाचनको समीक्षा गर्ने कार्यसूची रहेको छ पार्टीका पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने एपेण्डिसाइटिसको शल्यक्रियापश्चात आइसीयूमा उपचार गराइरहेकाले उपस्थित हुने छैनन् ।

बैठकले उनको स्वास्थ्य लाभको कामना गर्ने र अरू समसामयिक राजनीति अवस्था र पार्टी कामको व्यवस्थापनका सन्दर्भमा पनि निर्णय हुने प्रचण्डको सचिवालयले जनाएके छ । यसअघि प्रचण्डको अध्यक्षतामा गत भदौ ९ गते सचिवालयको बैठक र एकपटक स्थायी कमिटी बैठकको बसेको थियो । कार्यकारीको अख्तियारी पाए पछि उनको अध्यक्षताको बस्न लागेको यो पहिलो बैठक हो । एक वर्षदेखि पार्टीको स्थायी कमिटीको बैठक बसेको छैन भने केन्द्रीय कमिटी बैठक नबसेको पनि लामो समय भैसक्यो ।

पार्टीमा स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउन दवाव बढेको छ । पार्टीले छिटो भन्दा छिटो केन्द्रीय समिति र स्थायी समिति बैठक बालाउनु पर्ने एक केन्द्रीय सदस्यले बताए । पार्टी एकीकरण भएपछि शपथ ग्रहणका लागि र निर्वाचन आयोगमा हस्ताक्षर बुझाउन २०७५ जेठ ३ गते नै केन्द्रीय कमिटी बैठकको आयोजना भएको थियो । त्यसपछि केन्द्रीय कमिटी बस्न सकेको छैन ।

बीचमा नेकपाका २२ जना केन्द्रीय सदस्यले बैठकको माग राख्दै हस्ताक्षरसमेत बुझाएका थिए ।बैठक बिहान ९ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बताइएको छ । यस अघि सचिवालय लगायत धेरै जसो बैठक प्रधानमन्त्री निवास बाटुवाटारमा बस्दै आएको थियो । सौर्य दैनिकबाट