२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुसीको खबर: श्रम स्वीकृतिका लागि घण्टौं लाईन बस्न नपर्ने, सुरु भयो ‘ई–टोकन’



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन श्रम कार्यालयमा गएर घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । वैदेशिक रोजगार विभागले आइतबारदेखि अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली नम्बरका आधारमा पालो आउने व्यवस्था गरेसँगै सेवाग्राहीलाई घण्टौँ लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको हो । विभागले आइतबारदेखि विराटनगरबाहेक छवटा श्रम कार्यालयबाट ई–टोकन वा विद्युतीय पालो प्रणाली सुरु गरेको छ । मङ्सिर १ गतेदेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गरेको हो ।

विराटनगर श्रम कार्यालयको ठाउँ सानुपर्ने भएकाले यो प्रक्रिया एक/दुई दिन ढिला सुरु हुने विभागले जनाएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत काम सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनका अनुसार उक्त प्रणालीअन्तर्गत सेवाग्राहीले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्नेबित्तिकै निजको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुने छ ।

सेवाका लागि सेवाग्राहीले जुन कार्यालयमा छिटो पालो आउँछ त्यहाँबाट सेवा लिनसक्ने भन्दै महानिर्देशक भुसालले भने, पर्वतबाट आउने सेवाग्राही हुनुहुन्छ भने काठमाडौँभन्दा पोखरामा छिटो पालो आयो भने त्यहीबाट लिन सक्नुहुन्छ वा काठमाडौँबाट फाराम भरेको व्यक्तिले काठमाडौँमा तीन दिनपछि मात्रै पालो आउने भो तर बुटवल जाँदा भोलि नै पालो आउँछ र निजलाई जरुरी छ भने पुनः श्रम स्वीकृति त्यहीँबाट लिन सक्नुहुन्छ, नयाँका लागि त काठमाडौँको ताहचल आउनुपर्छ, अन्य प्रदेशमा यो व्यवस्था छैन ।

ई–मेसेजिङ पनि लागू: यस्तै विभागले आइतबारबाट ई–मेसेजिङ पनि कार्यान्वयनमा ल्याएको छ । श्रम स्वीकृतिका लागि सेवाग्राहीले फाराम बुझाइसकेपछि कारणवश सेवाग्राहीको फाराम अस्वीकृत हुने भएमा वा थप कागजात पेस गर्नुपरेको खण्डमा विभागले मोबाइलमा एसएमएस (मेसेजिङ) पठाउने व्यवस्था गर्न लागेको छ । श्रम स्वीकृतिको सूचना पनि मोबाइलको मेसेजमार्फत विभागले जानकारी गराउने व्यवस्था गर्ने छ । सेवाग्राहीले फाराम भर्दा पेस गरेको इमेलमा श्रम स्टिकर पठाउने कार्य यसअघि नै कार्यान्वयनमा ल्याइसकेको विभागले जनाएको छ ।

यस्तै विभागका महानिर्देशक भुसालले विद्युतीय भुक्तानीका लागि लामो समयदेखि प्राविधिक तयारीपश्चात् सेवा प्रदायकसँग सम्झौताको चरणमा पुगेको र छिटै कार्यान्वयनमा जाने जानकारी दिए । यो प्रणाली लागू भएपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा बिचौलियाको सहयोग माग्नुपर्ने अवस्थाको पनि अन्त्य हुने उनको भनाइ छ । अहिले श्रमका कार्यालयमा भीड लाग्नुको कारण कतिबेला पालो आउँछ भन्ने थाहा नै हुँदैन, त्यसले गर्दा समस्या भएको भन्दै उनले यसलाई नै सहज बनाउन हामीले एकीकृत अनलाइन प्रणाली लागू गर्न लागेको पनि जानकारी दिए । गोरखापत्र दैनिकबाट