काठमाडौं । १५ मंसिरमा औपचारिक उद्घाटन हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालको नेतृत्वमा साढे १९ हजार सुरक्षाकर्मी परिचालित हुँदैछन् । भित्री घेरामा प्रहरी र बाहिरी घेरामा सशस्त्र र सेना परिचालन हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सुरक्षामा आइपर्ने खतराको सम्बन्धमा सूचना संकलन र विश्लेषण गर्नेछ । काठमाडौं र ललितपुरमा हुने प्रतियोगिता, खेलाडी, खेलमैदान र होटेलहरूको सुरक्षा प्रबन्ध आइजिपी खनालको प्रत्यक्ष कमान्डमा हुनेछ ।
जनकपुरमा हुने खेलको प्रदेश २ प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्की र पोखरामा गण्डकी प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले सुरक्षा नेतृत्व गर्नेछन् । ‘भित्री घेराको सुरक्षा नेपाल प्रहरीले गर्नेछ भने त्यसपछिको घेरामा क्रमशः सशस्त्र र सेना रहनेछन्,’ नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले भने, ‘यसबाहेक सुरक्षा व्यवस्थामा थप सतर्कताका लागि सादा पोसाकका सुरक्षाकर्मी खटिनेछन् ।’ चार स्थानका लागि सुरक्षा व्यवस्था तय गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटेलसम्म, होटेलदेखि रंगशाला र खेलमैदानसम्म, होटेल र खेलमैदानमा पनि छुट्टै सुरक्षा व्यवस्था हुनेछ ।

सशस्त्रका आइजिपी शैलेन्द्र खनालको नेतृत्वमा भने समारोह व्यवस्था समिति गठन गरिएको छ । उद्घाटन समारोहमा झाँकी प्रदर्शनलगायतको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । आइजिपी खनालको संयोजकत्वमा रहेको सुरक्षा समितिमा सेनाका सहायक रथी हिमांशु खड्का, नेपाल प्रहरीका डिआइजी दीपककुमार थापा, सशस्त्र प्रहरीका डिआइजी चन्द्रप्रकाश गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र राष्ट्रिय खेलकुद परिषद्की सरस्वती केसी भण्डारी सदस्य छन् भने परिषद्का कर्मचारी फणिन्द्र पौडेल सदस्यसचिव छन् ।
‘सागका लागि आवश्यक सुरक्षा प्रबन्ध भइसकेको छ,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले भने, ‘नेपाल प्रहरीको कमान्डमा हुने सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक पर्यो भने थप सुरक्षाकर्मी थपघट गर्न सकिन्छ ।’कुनै खेलाडीलाई छुट्टै विशेष व्यवस्था भने गरिएको छैन ।
भारत–पाकिस्तानबीच कटुतापूर्ण सम्बन्ध भए पनि ती देशका खेलाडीलाई बेग्लै सुरक्षा दिनुपर्ने गरी चुनौती नभएको सुरक्षा समितिको निष्कर्ष छ । ‘व्यक्तिगत रूपमा कुनै पनि खेलाडीलाई सुरक्षा चुनौती देखिएको छैन,’ एक उच्च सुरक्षा अधिकारीले नयाँ पत्रिकासँग भने, ‘सामूहिक रूपमा गरिएको सुरक्षा व्यवस्था नै पर्याप्त छ भन्ने समितिको निष्कर्ष छ ।’
ललितपुरमा सागको सुरक्षा तयारी पूरा:सागअन्तर्गत ललितपुरमा हुने खेलको सुरक्षाका लागि सबै तयारी पूरा भएको प्रहरीले जनाएको छ । सुटिङ, पौडी, लनटेनिस, स्क्वास, बक्सिङ, तेक्वान्दो, करातेलगायत खेल ललितपुरमा हुँदै छन् । यी खेलको सुरक्षा व्यवस्थापनको सबै तयारी पूरा भएको ललितपुर प्रहरी परिसरले जनाएको छ । सागका लागि ललितपुरमा एक हजार तीन सय ७१ प्रहरी परिचालन गरिने प्रहरी परिसर ललितपुरका डिएसपी देवेन्द्र पाण्डेले बताए । ‘सागको सुरक्षा चुस्तदुरुस्त बनाउन प्रहरी चौबिसै घन्टा खटिनेछ । यसका लागि सम्पूर्ण तयारी पूरा गरेका छौँ,’ डिएसपी पाण्डेले भने ।
एन्फाको स्टेडियम, लनटेनिस, स्क्वास, तेक्वान्दो, कराते संघका कार्यालयमा प्रहरी परिचालन हुनेछन् । १५ जना प्रहरीको टोली ‘प्राइमरी जोनमा चौबिसै घन्टा परिचालन हुने जनाएको छ । त्यस्तै, खेलाडी बस्ने होटेल, पेरिमिटर सेक्युरिटी, स्टेडियम सेक्युरिटी, खेलाडी, अफिसियल, चेन्जिङ रुम, खेलाडीको किनमेल र घुमघामका लागि पनि प्रहरीले सुरक्षा व्यवस्थापन गरेको छ । खेलाडी बस्ने होटेलमा ३०–३० जना प्रहरी चौबिसै घन्टा तैनाथ रहने उनले बताए ।
सागमा खटिने सुरक्षाकर्मीका लागि भत्ता माग:साग सुरक्षाका लागि नेपाल प्रहरीले सरकारसँग थप बजेट मागेको छ । खटिने प्रहरीलाई १५ दिनका लागि दैनिक भत्ता माग गरिएको छ । त्यस्तै, इन्धन तथा सवारी मर्मतका लागि समेत बजेट मागिएको स्रोत बताउँछ । काठमाडौं, ललितपुर, पोखरा र जनकपुरका ३० स्पटमा खेल हुँदैछन् । कुल २६ खेलमध्ये काठमाडौंमा १२, ललितपुरमा नौ, पोखरामा आठ र जनकपुरमा एक प्रतियोगिता हुनेछ । प्रतियोगितामा अफगानिस्तानबाहेक सार्क राष्ट्रका तीन हजार दुई सय २८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नयाँ पत्रिका दैनिकबाट












