२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकारी अध्यक्षता पाएका प्रचण्डका चार चुनौतीहरु…



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाको ४ मंसिरको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी जिम्मा दिएपछि नेकपाभित्र उनको नयाँ भूमिकालाई अनेक कोणबाट अथ्र्याउन थालिएको छ । सचिवालय बैठकले केपी ओलीलाई प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने जिम्मा र प्रचण्डलाई पार्टी संगठनको नेतृत्व गर्ने जिम्मा दिएको थियो । ३ जेठ ०७५ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि ओली र प्रचण्ड दुवै समान पद र समान भूमिकामा नेकपाको मुख्य नेतृत्वमा देखिएका थिए ।

एउटै पार्टीमा दुई अध्यक्ष भएको प्रसंगलाई अध्यक्ष ओलीले त्यतिवेला ‘जेट विमानका दुई पाइलट’ भन्ने बिम्ब प्रयोग गरेका थिए । तर, जोर पाइलटले तीन महिनामा सक्ने भनिएको पार्टी एकताका कामलाई पनि समयमै निचोडमा पुर्याउन सकेनन् । त्यसका लागि छ गुना बढी समय मात्रै लागेन, दुई अध्यक्षबीच वेलावेला तीतोमीठो सम्बन्ध पनि भइरह्यो । नेकपाले एकताका काम सक्न १८ महिना लगायो । द्विअध्यक्षात्मक प्रणालीमा चलेको सत्तारुढ दलको संगठनमा पनि ओली हाबी देखिए र सरकारको नेतृत्व पनि उनकै रह्यो ।

पार्टी एकताले पूर्णता नपाउँदै नेकपाभित्र प्रधानमन्त्री पदमै आलोपालो समझदारी भएको विषय उठ्यो । सार्वजनिक रूपमै प्रचण्डले त्यस्तो समझदारी भएको टिप्पणी गरे । सचिवालयका अर्का नेता माधवकुमार नेपालले पनि वेलावेला ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’को नारा उठाइरहे । पार्टी विधानले केन्द्रीय कमिटीको बैठक ६ महिनामा, पोलिटब्युरोको चार महिनामा र स्थायी कमिटीको बैठक तीन महिनामा बस्नुपर्ने भने पनि समयमा ती कुनै पनि बैठक हुन सकेनन् ।

तर, एकताको दिन अर्थात ३ जेठ ०७५ मा शपथग्रहण भएयता केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन । स्थायी कमिटी बैठक पनि एकपटकभन्दा बढी बस्न सकेको छैन । ४ मंसिरको सचिवालय बैठकपछि भने जेट विमानका पाइलटहरूले जिम्मेवारी बाँडफाँड गरे । तर, पार्टी हाँक्ने भनेका अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको रूपमा काम गर्नु नेकपाभित्र सजिलो विषय होइन । काँधमा आइपुगेको जिम्मेवारीलाई प्रभावकारी ढंगले बहन गर्नुपर्ने प्रचण्डको दायित्व जति छ, त्यति नै पार्टीभित्र सबैलाई रिझाएर लैजान सक्नुपर्ने चुनौती पनि छ ।

सबैभन्दा मुख्य र पहिलो चुनौती त दुई अध्यक्षबीच दशकौँदेखिको विमति र वैमनस्यले बनाएको मनोविज्ञान कम गर्दै लैजानु हो । अर्थात, जोर पाइलट भनिने दुई अध्यक्षबीच एक–अर्कालाई विश्वासमा लिनु नै सबैभन्दा ठूलो चुनौती हो । सचिवालय बैठकले कार्यकारी जिम्मेवारी दिएको एक साता पनि नबित्दै अध्यक्ष ओली र प्रचण्डले आ–आफ्ना भूमिकाबारे सार्वजनिक टिप्पणी गर्न थालेका छन् । प्रचण्डले आफूले कार्यकारी जिम्मेवारी पाउँदा पार्टी पंक्तिमा ऊर्जा थपिएको अभिव्यक्ति दिए पनि नेकपा नेताहरू नै कार्यान्वयन जटिल हुनसक्ने विश्लेषण गर्छन् ।

अध्यक्ष ओलीकै विश्वास जित्नुपर्ने:तत्कालीन एमालेभित्र ओली समूह शक्तिशाली थियो । नेकपा बनिसकेपछि पनि ओलीवरिपरि शक्तिशाली समूह छ । यो समूहलाई व्यवस्थापन गर्नु पहिलो चुनौती हुनेछ । ओली समूहमा दोस्रो वरीयता दाबी गर्दै आएका ईश्वर पोखरेललगायतको ठूलो समूह छ, जसलाई सहमतिमा लिनु पनि सजिलो छैन । अध्यक्ष ओलीलाई बेवास्ता गरेर निर्णय गर्नु अहिलेको अवस्थामा नेकपाभित्र कठिन काम हो । त्यसरी निर्णय भइहाले पनि अलपत्र पर्ने सम्भावना हुन्छ । स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा पार्टीभित्र सबै नेताको विश्वास जितेर लैजान प्रचण्डलाई हम्मेहम्मे पर्ने दाबी गर्छन् ।

माधव नेपाल र अरू नेतासँगको सहयात्रा:तत्कालीन एमालेमा ओलीपछिको ठूलो समूह चलाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डको सम्बन्ध मधुर नै छ । तर, नेपाललाई किनारामा पार्ने ओलीको स्वार्थमा प्रचण्ड पनि सहयात्री बनेको चर्चा नेपाल समूहभित्र पनि वेलावेला हुने गर्छ । ‘एक व्यक्ति एक पद’ लागू हुनुपर्ने नारा उठाउँदै आएका नेपाल ओलीसँग सन्तुष्ट छैनन् । कार्यकारी अध्यक्ष भएपछि पनि ओलीकै इच्छाअनुसार प्रचण्ड चले भने नेपाल पनि टाढिन सक्ने जोखिम त्यत्तिकै छ ।

अर्का वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य वामदेव गौतमलाई पनि मिलाएर लैजानुपर्ने चुनौती छ । पार्टीलाई विचार र विधिमा सञ्चालन गरे गुटहरू आफैँ सकिने बताउँछन्, स्थायी कमिटी सदस्य लीलामणि पोखरेल । ‘विचार, विधिमा कम्युनिस्ट पार्टी सञ्चालन हुन्छन्, यस्तोमा गुटहरू आफैँ सकिएर जान्छन्,’ पोखरेलले भने । ३१ भदौमा बसेको पार्टी सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । पछिल्लो समय प्रचण्डसँग बलियो सम्बन्ध बनाएका गौतमसँगको सम्बन्ध टिकाइराख्न पनि प्रचण्डमाथि दबाब पर्ने देखिन्छ ।

उसो त पछिल्लो समय गौतमसँग ओलीको पनि सम्बन्ध राम्रै भएको बताइन्छ । गौतमलाई उपाध्यक्ष बनाउने ओलीको प्रस्तावमाथि सबैभन्दा पहिलो समर्थन अध्यक्ष प्रचण्डले नै गरेका थिए । कार्यकारी भूमिकामा पुगेपछि सचिवालयका यी नेतासँगको सम्बन्ध कसरी सन्तुलनमा राख्ने भन्ने पनि प्रचण्डको चुनौती हो ।

पूर्वएमालेसम्बद्ध कार्यकर्तालाई विश्वासमा लिनुपर्ने: युद्धको पृष्ठभूमिबाट आएका प्रचण्डका लागि ठूलो चुनौती तत्कालीन एमालेसम्बद्ध कार्यकर्ता पंक्तिलाई मिलाएर लैजान सक्नु हो । सामाजिक जीवनमा घुलमिल भएका र शान्तिपूर्ण प्रतिस्पर्धाबाट आएका पूर्वएमालेसम्बद्ध नेता/कार्यकर्ताहरू अहिले पनि युद्धको पृष्ठभूमिबाट आएको पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई स्विकार्न धेरै ठाउँमा गाह्रो परेको देखिन्छ । प्रचण्डले त्यही पार्टी पंक्तिलाई रिझाउन वेलावेला आफूलाई मदन भण्डारीसँग तुलना गर्ने र बाहिरबाट आएको नेता भए पनि स्विकार्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै आएका छन् ।

उनले केही समयअघि आफू ‘सक्कली माओवादी नभएको’ पनि बताएका थिए । बोलेर मात्रै नभई व्यवहारमा पनि एमालेसम्बद्ध नेता–कार्यकर्ताहरूको विश्वास जित्नु प्रचण्डको चुनौती हो । स्थायी समिति सदस्य विश्वकर्मा व्यक्तिभन्दा पार्टी हितलाई ध्यानमा राखेर अघि बढे नेतृत्व (प्रचण्ड) सफल हुने ठान्छन् । नेता पोखरेल पनि पार्टी विधिमा चल्ने हो भने सबै समस्या समाधान हुने दाबी गर्छन् ।

समिति प्रणालीमा पार्टीलाई लैजानुपर्ने: पार्टी एकताको १८ महिनासम्म बस्न नसकेको केन्द्रीय कमिटीको बैठक र दुईपटक बसेको स्थायी कमिटीको बैठक डाक्नु नै प्रचण्डका लागि सुरुमै संगठन सञ्चालनको मुख्य चुनौतीका रूपमा देखिएको छ । विधानमा व्यवस्था भएअनुसार अहिलेसम्म ६ पटक बसिसक्नुपर्ने बैठकलाई उनले नियमित बनाउनुपर्ने हुन्छ । यो त्यति सहज हुनेछैन । शीर्ष नेताहरू र त्यसमा पनि दुई अध्यक्षको तजबिजीमा मात्रै पार्टी चल्दै आएको भनेर पार्टीभित्रै नेकपाले आलोचना बेहोर्दै आएको छ ।

नेता पोखरेल पूर्ववत् ढर्राले पार्टी कमिटी चल्न नहुने बताउँछन् । ‘अब बैठकहरू नियमित बस्नेछन् । अनि मात्र पार्टी विधिमा चलेको महसुस हुन्छ,’ उनले भने, ‘ऐतिहासिक आवश्यकताले पार्टी एक भएको हो । पार्टी विधिमा सञ्चालन हुनुपर्छ, यसो भयो भने धेरै समस्या आफैं हराउँछन् ।’ विधानमा व्यवस्था भएको पोलिटब्युरो कमिटी अझै गठन हुन सकेको छैन, यो गठन गर्नु पनि प्रचण्डमाथिको थप चुनौती हो । नयाँ पत्रिका दैनिकबाट