२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस पुरानो मित्र भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले बुझाए रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो



अ+ अ-

काठमाडौं । नेपाल र रुसबीच १४ वर्षपछि औपचारिक वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार रुसी समकक्षी सेर्गेई लाभरोभसँग मस्कोमा औपचारिक वार्ता गरेका हुन् । ०६२ सालमा तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे औपचारिक भ्रमणमा गएपछि यसपटक परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण भएको हो । ज्ञवालीले रुसी विदेशमन्त्रीलाई २० चैतमा आयोजित सगरमाथा संवादमा सहभागी हुन निमन्त्रणा दिएका छन् ।

साथै, उनले राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री केपी ओलीले रुसी समकक्षी दिमित्री मेद्भेदेवलाई पठाएको निमन्त्रणापत्र पनि ज्ञवालीले समकक्षी सेर्गेइलाई हस्तान्तरण गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय भ्रमणले दुई देशबीचकोे सम्बन्धमा नयाँ आयाम थप्नेसमेत उल्लेख गरेका थिए । रुसी विदेशमन्त्री लाभरोभले नेपालको निमन्त्रणालाई आफ्नो देशले हार्दिकताका साथ ग्रहण गरेको र उपयुक्त समयमा कूटनीतिक च्यानलमार्फत तय गरिने जवाफ दिएका छन् ।

०६२ सालमा रुसका लागि राजदूत रहेका कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले रुसीमन्त्री लाभरोभलाई त्यसवेला पनि औपचारिक भ्रमणका लागि निमन्त्रणा दिइएको बताए । ‘पुटिन त्यसवेला पनि राष्ट्रपति थिए । उनकी बौद्धमार्गी श्रीमतीमार्फत् पुटिनको नेपाल भ्रमणका लागि प्रयास भएको थियो । अहिले ती श्रीमतीसँग पुटिनले डिभोर्स गरिसकेका छन्,’ श्रेष्ठले भने ।

रुसी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह:परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना समकक्षीमार्फत रुसी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । ‘दुईजना मन्त्रीहरूबीच लगानी, व्यापार, पर्यटन, शिक्षा, ऊर्जा, पूर्वाधार विकास, संस्कृति र जनस्तरको सम्बन्धका विषयमा द्विपक्षीय सहकार्य गर्ने विषयमा विस्तारमा छलफल भयो,’ भेटवार्तापछि नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच राजनीतिक समझदारी थप बढाउनुपर्ने, विविध क्षेत्रमा आपसी हितका सहकार्य प्रवद्र्धन गर्नुपर्ने, आपसी हितका नयाँ क्षेत्र पहिचान गर्नुपर्ने तथा शान्तिपूर्ण र सम्पन्न विश्वका निम्ति क्षेत्रीय र विश्व मामिलामा सहकार्य वृद्धि गर्नुपर्नेमा छलफल भएको बताए ।

रुसले पूर्वाधार विकासमा गरेको सहयोगप्रति आभार:नेपालले ०७२ को भूकम्पपछि रुसले नेपाललाई गरेको सहयोग तथा विगतमा पूर्वाधार विकासलगायतमा गरेको सहयोगप्रति आभार व्यक्त गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा रुसबाट बढीभन्दा बढी पर्यटकको अपेक्षा गरेको पनि समकक्षीलाई बताए । ‘दुई नेताले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा, शान्ति स्थापना तथा निःशस्त्रीकरणलगायत विश्वका समसामयिक विषयमा पनि विचार आदानप्रदान गरेका छन्,’ नेपाली दूतावासको विज्ञप्तिमा उल्लेख छ, ‘उनीहरूले बहुपक्षीयता, अन्तर्राष्ट्रिय विषय राष्ट्रसंघलाई केन्द्रमा राखेर छलफल गर्नुपर्नेलगायतका धारणा पनि राखेका छन् ।’

नेपाल डायलग पार्टनर रहेको सांघाई को–अपरेसन अर्गनाइजेसन (एससिओ) मार्फत दक्षिण एसिया र युरोपबीच क्षेत्रीय सहकार्य थप सुदृढ हुनुपर्नेमा पनि छलफल भएको छ । रुसले एससिओको दायराभित्र सहकार्य विस्तारका लागि आश्वासन दिएको छ । रुसी विदेशमन्त्रीले १४ वर्षपछि नेपाली समकक्षी ज्ञवालीको भ्रमणले रुसी महासंघलाई नेपालले दिएको महत्वको अर्थमा बुझेको बताए । नेपालको परिवर्तित राष्ट्रिय सन्दर्भमा ज्ञवालीको भ्रमणलाई रुसले महत्वपूर्ण रूपमा लिएको मन्त्री लाभरोभको भनाइ थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने– रुस पुरानो मित्र: परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीच सरकारी, व्यापारी, प्राज्ञिक, सञ्चार, वैज्ञानिक, विद्यार्थी, कलाकारलगायत विभिन्नस्तरको सम्बन्ध विकसित भइरहेको पत्रकार सम्मेलनमा बताए । उनले रुस नेपालको पुरानो मित्र रहेकोसमेत स्मरण गरे । ‘हामी घरेलु राजनीतिक संक्रमणमा व्यस्त रहनुपरेका कारण रुसमा लामो ग्यापपछि भ्रमण भएको हो । अहिले आधारभूत रूपमै राष्ट्रिय सन्दर्भ परिवर्तन भएपछिको भ्रमण हो । लामो राजनीतिक संक्रमण सकिएपछि हामी आर्थिक सामाजिक विकासको चरणमा प्रवेश गरेका छौँ,’ ज्ञवालीले भने ।

रुसले विकासशील विश्वको सामूहिक हित प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ज्ञवालीको भनाइ थियो । नेपाल र रुसबीच सन् १९५६ जुलाई २० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । अक्टोबर २ देखि ५ सम्म ऊर्जामन्त्री वर्षमान पुनले रुसको भ्रमण गरेका थिए । यो वर्ष दुई देशका सांसदहरूको टोलीले एक–अर्को मुलुक भ्रमण गरेका छन् । सन् २०२८ को द्विपक्षीय व्यापार ९१ लाख अमेरिकी डलर बराबरको भएको थियो । नयाँ पत्रिका दैनिकबाट