११ असार २०८३, बिहीबार
,
Latest
कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला उद्यमी बढे



अ+ अ-

दार्चुला । सदियौँ देखि चुलो चौकामा खुम्चिएका पाल्पाका महिला पछिल्लो समय आफै व्यवसाय थालेर आत्मनिर्भर हुन थालेका छन् ।
विगतमा दुई चार पैसाका लागि पनि श्रीमान्सँग हात थाप्नुपर्ने बाध्यताबाट गुज्रिसकेका यहाँका महिला अहिले भने आफैं व्यापार र उद्योग सञ्चालन गरेर आत्मनिर्भर बनेका हुन् । पशुपालन, कुखुरापालन, व्यावसायिक खेती, सिलाइकटाइ, शृङ्गार प्रसाधनका साथै गुडिया बनाउने, झिनियाँ बनाउने, र अचार बनाउने व्यवसाय उनीहरुले अङ्गालेको पाइएको छ ।
महिलाको नाममा व्यापार, व्यवसाय, उद्योग दर्ता गर्ने क्रम जिल्लामा बढ्दो छ । चेतनाको स्तर बढेसँगै उनीहरुले महिला घरायसी काममै मात्र सीमित रहनुपर्छ भन्ने मान्यता त्यागेका छन् र आर्थिक उन्नतिका निम्ति उनीहरू जुर्मुराएका छन् । रामपुर नगरपालिका वडा नं ६ तालपोखराकी विष्णुदेवी गैरेले आफ्नै नाममा ‘गैरे गाईफार्म’ दर्ता गरेर व्यवसाय चलाउनुभएको छ । उहाँको फार्ममा अहिले १२ वटा गाई छन् । दूध बिक्रीबाट उहाँ मासिक ३० हजारसम्म आम्दानी गर्नुहुन्छ ।
“गाई पाल्न शुरु गरेदेखि केही न केही पैसा हातमा हुन्छ, परिवारमा खुशियाली छ, अरुको निर्भर रहनुपरेको छैन,” उहाँले भन्नुभयो ।
परिवारको दिगो आयस्रोत नहुँदा जीवनमा धेरै सङ्घर्ष गर्नुपरेको बताउँदै उहाँले आफन्त, छरछिमेक, साथीभाइसँग ऋण गुहार्दा कसैले नपत्याएको अनुभव सुनाउनुभयो । अहिले व्यवसाय फस्टाउँदा टाढिएका आफन्त, छिमेकी, साथीभाइले उहाँको खुलेरै प्रशंसा गर्न थालेका छन् ।
यस्तै रामपुर – ४ सदावर्तकी रेनुकादेवी ठाडाले ‘ठाडा तरकारी तथा नर्सरी फार्म’ आफ्नै नाममा दर्ता गरेर तरकारीका बिरुवा उत्पादन र तरकारी खेती गर्नुहुन्छ । यही व्यवसायबाट दुई सन्ततिलाई उहाँले उच्च शिक्षा अध्ययन गर्न दिइरहनु भएको छ । “व्यवसायबाटै जेठो छोरालाई भारतको पञ्जाबमा सफ्टवेयर इन्जिनीयरिङ्ग पढाएँ,” उहाँले भन्नुभयो – “उसले लगानी अनुसार राम्रै पढ्यो । अहिले पढाइ सक्याएर बैङ्लोरमा जागीर थालेकोे छ । कान्छो छोरा पोखरामा एलएलबी तेस्रो वर्षमा पढ्दैछ ।”
उहाँले तरकारी खेतीसँगै बाख्र्रा, बङ्गुर र भैसीपालन पनि गर्नुभएको छ । आफैले चलाएको व्यवसायमा बिहान दिउँसो र साँझ काम गर्न पाउँदा आनन्द लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

रामपुर–५ राङभाङ्गकी लक्ष्मी श्रेष्ठले झिनियाँको उद्योग चलाउनु भएको छ । विस।२०६५ देखि झिनियाँ उद्योग थालेकी उहाँले वर्षमा झिनियाँबाट रु सात लाख बराबरको कारोबार गर्नुहुन्छ । “घरमा बिहान साँझको कामधन्दा सक्याएपछि अरु काम हुदैन, दिउँसो फुर्सदको समय झिनियाँ बनाउने र बेच्ने गर्छु,” उहाँले भन्नुभयो – “हातमा दाम सधैं परिरहन्छ । श्रीमान्सँग पैसाका निम्ति हात थाप्नु पर्दैन ।”
शुरुमा दशै, तिहार र माघे सङ्क्रान्तिलाई मात्र लक्ष्य गरी झिनियाँ बनाउने गरेकामा उहाँ झिनियाँको माग बढेका कारण वर्षैभरि उत्पादन गर्नुहुन्छ । यसवर्षको तीज, दशैं र तिहारमा मात्रै चार लाख बराबरको झिनियाँ बिक्री गर्नुभएको छ । यहाँ उत्पादन भएका झिनियाँ पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपुर, बुटवल लगायतका ठाउँमा खपत भइरहेको छ । व्यापार राम्रो भएका कारण उहाँ अहिले कामदार नै राखेर झिनियाँ बनाउने गर्नुहुन्छ । आकार अनुसार प्रतिदर्जन रु ६० देखि ९० र फुटकर रु ८० देखि ९० सम्ममा झिनियाँ बिक्री भइरहेको छ । रामपुर नगरपालिका क्षेत्रमा करीव एक दर्जन जति महिला झिनियाँ उत्पादन व्यवसायमा आबद्ध छन् ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा पछिल्लो समय महिलाको नाममा व्यापार, व्यवसाय र उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै १२१ वटा उद्योग महिलाको नाममा दर्ता भएका छन् । जिल्लामा उत्पादनमा आधारित नौ, कृषि तथा वन्यजन्तुमा आधारित ३३, पर्यटनमा आधारित ५४ र सेवामा आधारित २५ वटा उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७५/७६ को अवधिमा ९६ वटा उद्योग दर्ता भएका छन् जसमा उत्पादनमा आधारित नौ, कृषि तथा वन्यजन्तुमा आधारित २६, पर्यटनमा आधारित २१ र सेवामा आधारित ४० वटा महिलाका हुन् । आव २०७४/७५ मा महिलाको नाममा उत्पादनमा आधारित दुई, कृषि तथा वन्यजन्तुमा आधारित ११, पर्यटनमा आधारित २५ र सेवामा आधारित २९ गरी जम्मा ६७ वटा उद्योग दर्ता भएका थियो ।
गएको कात्तिक २८ गतेसम्ममा महिलाको नाममा रु २०० दस्तुर लिएर एक करोड रुपैयाँसम्मको व्यवसाय दर्ता गरिन्थ्यो । अहिले पाँच लाखसम्म पुँजी भएका व्यवसायको सम्बन्धित नगरपालिका तथा गाउँपालिकामै दर्ता गर्ने व्यवस्था छ ।

प्रदेश नं ५ को प्रदेश सरकारबाट प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ तथा सोही नियमावली २०७६ ले पाँच लाख रुपैयाँसम्म पुँजी भएकाको सम्बन्धित स्थानीय तहमै दर्ता हुने व्यवस्था गरेको छ । पाँच लाखसम्म पुँजी भएकालाई रु एक हजार दर्ता दस्तुर र पाँच लाख भन्दा माथि २० लाखसम्म पुँजी भएकालाई रु पाँच हजार, २० लाख देखि ५० लाख सम्म १५ हजार र ५० लाखदेखि माथिका उद्योगलाई २५ हजार दर्ता दस्तुर लाग्नेछ । महिलाको हकमा भने ५० प्रतिशत छुटको व्यवस्था छ । अपाङ्ग तथा दलित पुरुषका लागि पनि ५० प्रतिशत छुट छ । अपाङ्ग, दलित पुरुषले भने व्यवसाय, व्यापार, उद्योग दर्ता गराउँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र पेश गर्नुपर्छ । उद्योग दरखास्त बापत रु १०० शुल्क तिर्नुपर्छ ।
आफ्नै नाममा उद्योग दर्ता गरेर व्यवसाय गर्ने महिलाको जिल्लामा हिजोआज उत्साह बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत बालकृष्ण गैरेले बताउनुभयो । महिला आफैले उद्योग तथा व्यवसाय चलाउन थालेपछि परनिर्भरता क्रमिक रुपले घट्दै गएको गैरेले बताउनुभयो ।
आर्थिक वर्ष २०७५/७६ को अवधिमा जिल्लामा ३७० नयाँ उद्योग थपिएका छन् भने ३६८ उद्योग नवीकरण भएका छन् । निष्क्रिय अवस्थामा रहेका ३६ उद्योग खारेज भएका थिए जसअन्र्तगत उत्पादनमा आधारित दश, कृषि तथा वन्यजन्तुमा आधारित दश, पर्यटनमा आधारित दश र सेवामा आधारित छ वटा थिए ।

आव २०७४/७५ मा कुल ८३ वटा घरेलु उद्योग दर्ता भए । ती न्यूनतम एक लाखदेखि एक करोड पचास लाख रुपैयाँसम्मका उद्योग हुन् । घरेलु उद्योग दर्ता गर्ने क्रम बढ्दै जाँदा जिल्लामा धेरैलाई रोजगारीको मिलेको छ । दश करोडसम्म पुँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोड रुपैयाँसम्म पुँजी भएका उद्योगलाई मझौला उद्योग र २५ करोडदेखि माथिका उद्योगलाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ । दश करोडभन्दा माथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ । जिल्लामा एक करोड पचास लाख रुपैयाँसम्मका दुई÷तीन वटा उद्योग मात्रै सञ्चालनमा छन् भने साठी लाख रुपैयाँसम्म लगानी रहेका व्यवसायलाई ठूला उद्योग मानिन्छ ।