काठमाडौं । समाजवादी पार्टीले सरकार र नेकपासँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । शनिबार बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार र नेकपासँग वार्ता गर्न संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठको वार्ता टोली गठन गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले पार्टीसँग कुनै सल्लाह नै नगरी मन्त्रीको हेरफेर गरेपछि संविधान संशोधन र सरकारमा बस्ने/नबस्नेबारे छलफल गर्न वार्ताटोली गठन गरेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताए । प्रधानमन्त्री ओलीले अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुनमा हेरफेर र राज्यमन्त्री सुरेन्द्र यादवलाई बर्खास्त गरेपछि सरकारमा बस्ने÷नबस्ने निर्णय गर्न पदाधिकारी बैठक बसेको थियो ।

अध्यक्ष यादव दिल्लीबाट शुक्रबार राति नेपाल फर्किएपछि बैठक बोलाइएको थियो । सबै पदाधिकारीले पछिल्लो राजनीतिक घटनाक्रमबारे आ–आफ्ना धारणा थालेपछि तीनबुँदे सहमति गरेर बैठक सकिएको थियो । पहिलो बुँदामा प्रधानमन्त्रीले सत्तासाझेदार दलका रूपमा समाजवादी पार्टीसँग कुनै परामर्श नगरी मन्त्रिमण्डल पुनर्गठन गर्नु सामान्य राजनीतिक मूल्य–मान्यता र संस्कृति प्रतिकूल भएकाले गम्भीर असहमति जनाएको छ ।
दोस्रो र तेस्रो बुँदामा मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा र तत्कालीन फोरमले गरेको दुईबुँदे सहमति कार्यान्वयन गर्न नेकपा र सरकारसँग वार्ता गर्न अध्यक्ष भट्टराईको संयोजकत्वमा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठको उच्चस्तरीय वार्ता टोली गठन भएको छ । नयाँ पत्रिका दैनिकबाट












