२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईमा प्रतिबन्धित विषादी निर्धक्क प्रयोग



अ+ अ-

काठमाडौँ । सरकारले प्रतिबन्ध लगाए पनि भारतसँगको खुला सीमाका तराईका जिल्लामा निर्धक्क विषादी प्रयोग भइरहेको छ । सुरक्षाकर्मीको आँखा छलेर यस्ता विषादी भित्र्याई फलफूल, तरकारी तथा खेती किसानीका क्षेत्रमा प्रयोग गर्ने गरेका हुन् ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रले यस्ता विषादीलाई रातो स्तरमा सूचीकृत गरे पनि नियन्त्रणमा आउन सकेको छैन । विषादी व्यवस्थापन केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईका अनुसार सबैभन्दा बढी २०५७ मा १२ विषादीको आयातमा प्रतिबन्ध लगाइएको थियो ।

‘२०७६ साउनमा थप ३ विषादी आयातमा प्रतिबन्ध लगाएका छौं,’ हुमागाईले भने । उनका अनुसार प्रतिबन्ध लगाएपछि आयात गर्न पाइँदैन । आयात भइसकेका विषादी मुलुकभित्र बिक्री गर्न दुई वर्षको म्याद दिइन्छ । ‘आयात भइसकेका विषादी सकाउनुपर्ने भएकाले बिक्री अवधि दुई वर्ष राखेका छौं,’ हुमागाईले भने । केन्द्रले गैरकानुनी दाबी गरे पनि प्रतिबन्धित विषादीको तराई क्षेत्रमा भने कारोबार भइरहेको छ । व्यवसायी तथा किसानले खुला रूपमा आयात र कारोबार गर्दा पनि नियामक निकायले नियन्त्रण गर्न नसकेको हो । विषादीको अनुगमन तथा कारबाही गर्ने दायित्व केन्द्रकै हो । केन्द्रले कर्मचारी अभाव जनाउँदै अनुगमन गरेको छैन ।

केन्द्रका अनुसार हालसम्म क्लोरडेन, डीडीटी, डाइअल्ट्रिन, इन्ड्रिन हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, लिन्डेन नामक विषादी प्रतिबन्ध गरिएको छ । बीएचसी, फस्फामिडन, अर्गेनोमर्करी क्लोराइड, मिथायल पाराथियन, मनोक्रोटोफस, इन्डोसल्फान, फोरेट, कार्बोफ्युरान, कार्बोरिल, डाइक्लोरभस, ट्रायजोफस, बेनोमाइललगायत विषादीमा पनि प्रतिबन्ध लगाइएको छ ।‘ भर्खर प्रतिबन्ध गरिएको विषादी बिक्री हुने सम्भावना छ । खुला सिमानाका कारण किसान तथा व्यापारीले भारतबाट झोलामा ल्याएको पनि अनुमान छ,’ केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले भने । उनका अनुसार विगतमा निरीक्षण गर्न ज्ञान केन्द्र थिए । ज्ञान केन्द्रमा पर्याप्त निरीक्षक थिए । ‘संघीय संरचनासँगै विषादीसम्बन्धी काम गर्न प्रदेश सरकारसँग कानुन छैन,’ उनले भने, ‘त्यसैले अनुगमन र कारबाही गर्न सकिएन ।’

जीवनाशक विषादी ऐन २०४८ अनुसार सूचीकृतबाहेक अन्य विषादीको प्रयोग र बिक्री गर्न पाइँदैन । सूचीकृत विषादी बिक्री गर्न अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्छ । नियम पालना नगर्ने व्यवसायीलाई ५ हजार रुपैयाँ जरिवाना र विषादी जफत गर्न सकिने व्यवस्था छ । आयातित अधिकांश विषादी तरकारी तथा फलफूलमा प्रयोग भएको छ । खेती प्रणालीमा देखिएको समस्याले विषादीको आयात बढ्दै गएको छ । केन्द्रको तथ्यांकअनुसार बर्सेनि अर्बौं रुपैयाँको विषादी आयात भइरहेको छ ।किटनाशक विषादी धेरै आयात हुन्छ । विषादीको प्रयोगले खेतीबालीमा थप जटिलता पैदा भएको जानकारहरू बताउँछन् ।

विषादीकै कारण जमिनको उर्वराशक्ति कमजोर हुँदै गएको छ । खेतमा किराको प्रकोप बढेको उनीहरूको दाबी छ । विषादी मुख्यतः भारत, चीन, जर्मनलगायत मुलुकबाट आयात भइरहेको छ । ती विषादी कृषि, घरायसी र स्वास्थ्य क्षेत्रका लागि आयात गरिन्छ । केन्द्रका पूर्वमहानिर्देशक डिल्ली शर्माले आयातित विषादी सबैभन्दा बढी कृषि क्षेत्रमा खपत भइरहेको बताए । करिब ८५ प्रतिशत फलफूल तथा तरकारीमा खपत हुन्छ । विषादीको उचित तरिकाले प्रयोग हुन नसक्दा समस्या निम्तिने गरेको छ ।
कान्तिपुरबाट