काठमाडौं। सरकारी जग्गा व्यक्तिका नाममा दर्ता सम्बन्धमा जिल्ला प्रशासन कार्यालय बर्दियाले आवश्यक कानुनी कारबाही अघि बढाएको छ । भू–माफियाले बर्दिया जिल्ला साबिक सारेहवा गाविस–८ स्थित कित्ता नम्बर ४४२ अन्तर्गत १४४ बिघा पर्ती जग्गा (सार्वजनिक जग्गा) भूमाफियाले वर्षौंसम्म योजनाबद्ध प्रयासबाट कित्ताकाट गरी विभिन्न व्यक्तिका नाममा दर्ता गराएको खुलासापछि जिप्रकाले त्यसविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको हो ।
भूमाफिया र मालपोत कर्मचारीको मिलिमतोमा बर्दिया सोरहवास्थित अर्बौं मूल्य बराबरका झन्डै १४४ बिघा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराएको समाचार प्रकाशन गरेको थियो । जिल्ला प्रशासन कार्यालय बर्दियाले समाचार सार्वजनिकसँगै कारबाहीलाई तीव्रता दिएको जनाएको छ । जग्गा फिर्ता र संलग्न व्यक्ति तथा मालपोत कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस तयारीलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

‘जग्गा फिर्ता प्रक्रिया सुरु गरिसकिएको छ, आवश्यक प्रमाण संकलनलाई तीव्रता दिएका छौं,’ बर्दिया प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने । सरकारी जग्गा व्यक्तिका नाममा गराउन २०४० सालबाट योजनाबद्ध प्रयास सुरु गरिएको र विभिन्न समय भएका कित्ताकाटबाट हालसम्म ६२ जनाको नाममा नामसारी भइसकेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट समेत सो जग्गा हिनामिना भएको देखिएको छ । राजधानीदैनिकबाट












