११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदानमा आलुको बीउ वितरण



अ+ अ-

दमौली । जिल्लाको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई आलुको बीउ वितरण गरेको हो ।

नगरपालिकाका १४ वटै वडाका करीब ३०० कृषकलाई १६ हजार ५०० केजी आलुको बीउ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो । कृषि शाखाले जनकदेव र एमएस जातको आलुको बीउ वितरण गरेको छ । प्रतिकेजी रु ५८ पर्ने जनकदेव आलुलाई रु २९ मा र प्रतिकेजी ६० पर्ने एमएस आलुलाई रु ३० मा वितरण गरिएको वाग्लेले जानकारी दिनुभयो । “अनुदानमा आलुको बीउ वितरणका लागि सूचना निकालेका थियौँ”, वाग्लेले भन्नुभयो, “कृषकको मागबमोजिम अनुदानमा बीउ बाँडेका हौँ ।” नगरपालिकाले काभ्रेबाट आलुको बीउ खरीद गरी ल्याएको हो ।

नगरपालिकाले वितरण गरेको आलुको बीउ करीब १८३ रोपनी क्षेत्रफललाई पुग्छ । नगरपालिकाको करीब पाँच/छ सय रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको अनुमान छ । बीज भण्डारबाट पनि कृषकले आलुको बीउ खरीद गरेर लैजाने हुनाले कति क्षेत्रफलमा आलुखेती हुन्छ भन्ने आधिकारिक तथ्याङ्क भने नगरपालिकासँग नरहेको वाग्लेले बताउनुभयो । “आलुखेतीमा कृषकलाई आकर्षित गर्न र आलुमा आत्मनिर्भर बनाउन अनुदानमा आलुको बीउ वितरण गरिएको हो”, वाग्लेले भन्नुभयो ।

यसैगरी कृषि शाखाले च्याउ, हाते ट्र्याक्टर, साना सिँचाइ, मौरीगोला तथा घार, तरकारीखेतीका लागि प्लाष्टिक टनेललगायत पनि अनुदानमा वितरण गर्ने तयारी गरेको छ ।

व्यास नगरपालिका–८ जलेश्वर टोल विकास संस्थाका अध्यक्ष धर्मराज मिश्रले ६०० केजी आलुको बीउ माग गरिएकामा ३०० केजी मात्रै पाएको बताउनुभयो । टोल विकास संस्थामार्फत ६० कृषकले आलुको बीउ खरीद गरेका छन् । समूहमार्फत आलुको बीउ खरीद गरे पनि यहाँका कृषकले भने छुट्टाछुट्टै रूपमा आलुखेती गर्दै आएको मिश्रले जानकारी दिनुभयो ।

व्यास नगरपालिका–१० खहरेस्थित मादीगङ्गा महिला बहुउद्देश्यीय सहकारीअन्तर्गत महिला समूहले ९०० केजी आलुको बीउ खरीद गरेको समूहका अध्यक्ष चिजा सापकोटाले जानकारी दिनुभयो । समूहले दुई वर्षदेखि १५ रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती गर्दै आएको छ । गत वर्ष छ बोरा बीउ लगाएकोमा २४ बोरा आलु उत्पादन भएको समूहका सदस्य सान्नानी बगालेले बताउनुभयो । गत वर्ष उत्पादित आलु समूहका ६० सदस्यलाई नै वितरण गरिएको थियो । “अब यो वर्षदेखि उत्पादित आलु बिक्री वितरण गर्ने सोच बनाएका छौँ”, बगालेले भन्नुभयो ।