२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ अधिवेशन सुरु नहुँदाको असर: विधेयक प्रमाणीकरण प्रभावित, सांसदहरूको भ्रमण रोक्का



अ+ अ-

काठमाडौं । संसद्को नयाँ अधिवेशनको सुरुवात नहुँदा विधेयक प्रमाणीकरणदेखि सांसदहरूको राष्ट्रिय–अन्तर्राष्ट्रिय भ्रमणसमेत अड्केका छन् । नयाँ अर्थात् पाँचौँ अधिवेशन कहिलेबाट सुरु हुन्छ भन्ने निधो भइसकेको छैन । सभामुख कहिले चुनिने भन्ने पनि टुंगो छैन । सांसदहरूको राष्ट्रियरअन्तर्राष्ट्रिय भ्रमण पनि रोकिएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् । उनी भन्छन्, ‘सभामुख हुँदा उहाँले समितिहरूलाई सहजीकरण गर्नुहुन्थ्यो, जुन अहिले भएको छैन । पाहुनाहरूलाई स्वागत गर्नसमेत सभामुखको अभाव खड्किएको छ । मुख्य कुरा त ऐनका रूपमा आइसक्नुपर्ने विधेयक रोकिएका छन् ।’

अहिले संसद्को दुवै सदनले पास गरिसकेका ५ विधेयक प्रमाणीकरण भएका छैनन् । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, प्रहरी समायोजन विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, औद्योगिक व्यवसाय विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरे पनि ऐन बन्न सकेका छैनन् ।

प्रतिनिधिसभा नियमावलीको नियम १३५ अनुसार दुवै सदनबाट पारित भएका विधेयक सभामुखले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरेको छ । यसैको उपनियम २ मा भनिएको छ, ‘राष्ट्रपतिबाट प्रमाणीकरण भएको सूचना प्राप्त भएपछि सभामुखले सो सूचना बैठकमा पढेर सुनाउनेछन् । अधिवेशन चालू नभएको अवस्थामा त्यस्तो सूचना सचिवले सभाको सूचनापत्रमा प्रकाशन गराई सार्वजनिक गर्नेछन् ।’

विधेयक प्रमाणीकरणका सन्दर्भमा संविधानले सभामुख वा अध्यक्षको अनिवार्य आवश्यकता देखाएको छ । विधेयक प्रमाणीकरणका सन्दर्भमा संविधानको धारा ११३ को उपधारा (१)मा भनिएको छ, ‘प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिने विधेयक उत्पत्ति भएको सदनको सभामुख वा अध्यक्षले प्रमाणित गरी पेस गर्नुपर्नेछ । तर, अर्थ विधेयकका हकमा अर्थ विधेयक हो भनी सभामुखले प्रमाणित गर्नुपर्नेछ ।’ नयाँ पत्रिका दैनिकबाट