२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ प्रदेश र कार्यकारी राष्ट्रपतीय प्रणाली समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठक प्रमुख एजेन्डा



अ+ अ-

काठमाडौं । तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको एकतापछि बनेको समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले ११ प्रदेश र कार्यकारी राष्ट्रपतीय प्रणालीको एजेन्डा फेरि अघि सारेका छन् । यसअघि पनि पटक–पटक शासकीय प्रणाली परिवर्तनमा जोड दिँदै आएका डा. भट्टराईले बिहीबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपालको विद्यमान शासकीय प्रणाली परिवर्तन गर्नुपर्ने जिकिर गरेका हुन् ।

‘हालको शासकीय स्वरूपलाई परिवर्तन गर्न जरुरी छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको स्थापना, पूर्ण समानुपातिक संसद्को व्यवस्था, पहिचान र अधिकारमा आधारित १० जोड १ को प्रदेश पुनर्सीमांकन, समावेशिता र आरक्षणलाई अझ ठोस र मूर्त बनाउने प्रादेशिक भाषाहरूको व्यवस्थापन र प्रचलन, सीमान्तकृत जनसमुदायको सशक्तीकरण, नागरिकता समस्या र लैंगिक विभेद अन्त्य गर्न आवश्यक छ,’ प्रतिवेदनबारे बोल्दै भट्टराईले थपे, ‘हालको प्रशासकीय प्रणालीलाई कर्मचारीतन्त्रबाट कार्यगत एकाइ प्रणालीमा ढाल्न जरुरी छ । कानुनी जटिलता र प्रक्रियागत झन्झटलाई हटाउन जरुरी छ ।’

कार्यकर्तालाई ट्विटर चलाउन आग्रह:अध्यक्ष डा. भट्टराईले नेता–कार्यकर्तालाई सामाजिक सञ्जालमा सक्रिय हुन आह्वान गरे । सामाजिक सञ्जालमार्फत धेरैभन्दा धेरै व्यक्तिमा पुग्न सकिने र आफ्नो विचार प्रवाह गर्न सकिने भन्दै उनले कार्यकर्तालाई ट्विटर एकाउन्ट खोल्न आग्रहसमेत गरे । ‘तपाईंहरू सबैजना फेसबुक चलाउनुहुन्छ होला, तर फेसबुकमा पारिवारिक फोटो मात्रै राख्ने नगर्नुस् । अब पार्टीका गतिविधिहरूलाई पनि फेसबुकबाट प्रचार गर्नुस्,’ डा. भट्टराईले भने, ‘तपाईंहरू फेसबुकमा मात्र सीमित हुने होइन, अब ट्विटर चलाउन सुरु गर्नुस् ।

र, पार्टीका गतिविधिको हरेक पोस्टलाई रिट्विट गर्नुस् । यसो गर्दा तपाईंहरू हजारजनाले गरेको रिट्विट अर्का हजारजनाले देख्नेछन् ।’ डा. भट्टराईले संघीय परिषद् बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सूचना क्रान्ति, डिजिटल प्रविधि र सामाजिक सञ्जालको बढ्दो भूमिकालाई पार्टीले प्रचार क्षेत्रमा उपयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘हाम्रा सबै पार्टी सदस्य फेसबुक, ट्विटरजस्ता प्रचलित सञ्जाललाई उपयोग गर्न सक्ने हुनुपर्छ,’ प्रतिवेदनमा उनले भनेका छन्, ‘अनलाइन मिडियाको उपयोगमा विशेष ध्यान दिनुपर्दछ ।’ प्रतिवेदनमा नेता–कार्यकर्ताहरूले बौद्धिक विकास गर्नुपर्ने, लेखन र सार्वजनिक बहसमा सहभागी हुन मिहिनेत गर्नुपर्ने पनि उनले दोहोर्याएका छन् । ‘लेखन र सार्वजनिक बहसको अनुकुलनमा मिहिनेत गर्नुपर्छ,’ प्रतिवेदनमा भनेका छन्, ‘समाजवादी पार्टीको पंक्ति अरू पार्टीसँग तुलनात्मक रूपमा कमजोर देखिनुहुँदैन । हामी सबै हिसाबले अब्बल र सबल हुने प्रयास गर्नुपर्दछ ।’

तेस्रो धारको महत्वाकांक्षा:अध्यक्ष भट्टराईले प्रतिवेदनमाथि बोल्दै आफूहरूको पार्टी नेपाली राष्ट्रिय राजनीतिमा वैचारिक रूपमा तेस्रो धार र शक्तिका रूपमा पहिलो पार्टी बन्ने दाबी गरे । ‘हामी वैचारिक रूपमा तेस्रो धारको पार्टी बन्ने हो, गणितीय हिसाबमा तेस्रो पार्टी भन्न खोजेको होइन,’ भट्टराईले स्पष्ट पारे, ‘कांग्रेस, कम्युनिस्ट विचारधाराको होइन । हाम्रो पार्टी विकास, सुशासन र समृद्धिको नेतृत्व गर्ने पार्टी हो ।’

नेकपा र कांग्रेसप्रति आक्रोश:बैठकमा अध्यक्ष भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति आक्रोश व्यक्त गरेका छन् । नेकपाले जनताले आशा गर्ने किसिमका कुनै पनि काम गर्न नसकेको र कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेको भन्दै भट्टराईले आलोचना गरे । ‘नेकपा सरकारले सुखी नेपाली, समृद्ध नेपालको नारा चर्काए पनि व्यवहारमा भने दुःखी नेपाली र दरिद्र नेपाल देखिएको छ । समृद्धि, सुख र समाजवाद शब्द जप्दैमा पाइँदैन,’ भट्टराईले भने ।

कांग्रेसका शासनकालमा लाउडा, धमिजा, सुडानजस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरू भएको बताए । भट्टराईले भने, ‘कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । समाजवादी दलको अभावमा राजावादी र साम्यवादीलाई भोट दिन नचाहने जनमतले यो पार्टीलाई भोट दिँदै आएको छ ।’

प्रतिवेदनप्रति कार्यकर्ताको असन्तुष्टि: डा. भट्टराईको राजनीतिक प्रतिवेदनप्रति पार्टीकै नेता र कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित बैठकमा भेला भएका नेता तथा कार्यकर्ताहरूले प्रतिवेदनप्रति असन्तुष्टि जनाएका हुन् । ‘पार्टी निर्माण भएयताको ६ महिनामा पार्टीभित्र भएका काम, कारबाहीको समीक्षा प्रतिवेदनमा समावेश गरिएन,’ पार्टीका सदस्य पदम अधिकारीले भने, ‘घोषणापत्र र विधान पार्टी सदस्यहरूले अनुमोदन नै नगरी पदाधिकारीले पारित गरेकाप्रति हाम्रो असन्तुष्टि छ ।’

यस्तै सप्तरीका सदस्य चित्रनारायण यादवले पार्टीका बफादार र जिम्मेवारीपूर्ण कार्यकर्ताबीच पार्टीले मूल्यांकन नगरेको बताए । समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज (शुक्रबार) बाट सुरु हुँदै छ ।

राजपासँग एकता प्रयास जारी:अध्यक्ष भट्टराई राष्ट्रिय जनता पार्टी नेपालप्रति भने नरम देखिए । ‘राष्ट्रिय जनता पार्टी राष्ट्रिय पहिचान र अधिकारको पक्षधर, लोकतान्त्रिक दल हो । यो दलसँग हाम्रा धेरै एजेन्डाहरू मिल्छन् । यस दलसँग पार्टी एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ । यो एकता प्रयासलाई यथासम्भव छिटो तार्किक निष्कर्षमा पुर्याउने प्रयत्न जारी छ,’ यादवनिकट एक उच्च नेताले भने । नयाँ पत्रिका दैनिकबाट