काठमाडौं । तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको एकतापछि बनेको समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले ११ प्रदेश र कार्यकारी राष्ट्रपतीय प्रणालीको एजेन्डा फेरि अघि सारेका छन् । यसअघि पनि पटक–पटक शासकीय प्रणाली परिवर्तनमा जोड दिँदै आएका डा. भट्टराईले बिहीबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपालको विद्यमान शासकीय प्रणाली परिवर्तन गर्नुपर्ने जिकिर गरेका हुन् ।
‘हालको शासकीय स्वरूपलाई परिवर्तन गर्न जरुरी छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको स्थापना, पूर्ण समानुपातिक संसद्को व्यवस्था, पहिचान र अधिकारमा आधारित १० जोड १ को प्रदेश पुनर्सीमांकन, समावेशिता र आरक्षणलाई अझ ठोस र मूर्त बनाउने प्रादेशिक भाषाहरूको व्यवस्थापन र प्रचलन, सीमान्तकृत जनसमुदायको सशक्तीकरण, नागरिकता समस्या र लैंगिक विभेद अन्त्य गर्न आवश्यक छ,’ प्रतिवेदनबारे बोल्दै भट्टराईले थपे, ‘हालको प्रशासकीय प्रणालीलाई कर्मचारीतन्त्रबाट कार्यगत एकाइ प्रणालीमा ढाल्न जरुरी छ । कानुनी जटिलता र प्रक्रियागत झन्झटलाई हटाउन जरुरी छ ।’

कार्यकर्तालाई ट्विटर चलाउन आग्रह:अध्यक्ष डा. भट्टराईले नेता–कार्यकर्तालाई सामाजिक सञ्जालमा सक्रिय हुन आह्वान गरे । सामाजिक सञ्जालमार्फत धेरैभन्दा धेरै व्यक्तिमा पुग्न सकिने र आफ्नो विचार प्रवाह गर्न सकिने भन्दै उनले कार्यकर्तालाई ट्विटर एकाउन्ट खोल्न आग्रहसमेत गरे । ‘तपाईंहरू सबैजना फेसबुक चलाउनुहुन्छ होला, तर फेसबुकमा पारिवारिक फोटो मात्रै राख्ने नगर्नुस् । अब पार्टीका गतिविधिहरूलाई पनि फेसबुकबाट प्रचार गर्नुस्,’ डा. भट्टराईले भने, ‘तपाईंहरू फेसबुकमा मात्र सीमित हुने होइन, अब ट्विटर चलाउन सुरु गर्नुस् ।
र, पार्टीका गतिविधिको हरेक पोस्टलाई रिट्विट गर्नुस् । यसो गर्दा तपाईंहरू हजारजनाले गरेको रिट्विट अर्का हजारजनाले देख्नेछन् ।’ डा. भट्टराईले संघीय परिषद् बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सूचना क्रान्ति, डिजिटल प्रविधि र सामाजिक सञ्जालको बढ्दो भूमिकालाई पार्टीले प्रचार क्षेत्रमा उपयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘हाम्रा सबै पार्टी सदस्य फेसबुक, ट्विटरजस्ता प्रचलित सञ्जाललाई उपयोग गर्न सक्ने हुनुपर्छ,’ प्रतिवेदनमा उनले भनेका छन्, ‘अनलाइन मिडियाको उपयोगमा विशेष ध्यान दिनुपर्दछ ।’ प्रतिवेदनमा नेता–कार्यकर्ताहरूले बौद्धिक विकास गर्नुपर्ने, लेखन र सार्वजनिक बहसमा सहभागी हुन मिहिनेत गर्नुपर्ने पनि उनले दोहोर्याएका छन् । ‘लेखन र सार्वजनिक बहसको अनुकुलनमा मिहिनेत गर्नुपर्छ,’ प्रतिवेदनमा भनेका छन्, ‘समाजवादी पार्टीको पंक्ति अरू पार्टीसँग तुलनात्मक रूपमा कमजोर देखिनुहुँदैन । हामी सबै हिसाबले अब्बल र सबल हुने प्रयास गर्नुपर्दछ ।’
तेस्रो धारको महत्वाकांक्षा:अध्यक्ष भट्टराईले प्रतिवेदनमाथि बोल्दै आफूहरूको पार्टी नेपाली राष्ट्रिय राजनीतिमा वैचारिक रूपमा तेस्रो धार र शक्तिका रूपमा पहिलो पार्टी बन्ने दाबी गरे । ‘हामी वैचारिक रूपमा तेस्रो धारको पार्टी बन्ने हो, गणितीय हिसाबमा तेस्रो पार्टी भन्न खोजेको होइन,’ भट्टराईले स्पष्ट पारे, ‘कांग्रेस, कम्युनिस्ट विचारधाराको होइन । हाम्रो पार्टी विकास, सुशासन र समृद्धिको नेतृत्व गर्ने पार्टी हो ।’
नेकपा र कांग्रेसप्रति आक्रोश:बैठकमा अध्यक्ष भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति आक्रोश व्यक्त गरेका छन् । नेकपाले जनताले आशा गर्ने किसिमका कुनै पनि काम गर्न नसकेको र कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेको भन्दै भट्टराईले आलोचना गरे । ‘नेकपा सरकारले सुखी नेपाली, समृद्ध नेपालको नारा चर्काए पनि व्यवहारमा भने दुःखी नेपाली र दरिद्र नेपाल देखिएको छ । समृद्धि, सुख र समाजवाद शब्द जप्दैमा पाइँदैन,’ भट्टराईले भने ।
कांग्रेसका शासनकालमा लाउडा, धमिजा, सुडानजस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरू भएको बताए । भट्टराईले भने, ‘कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । समाजवादी दलको अभावमा राजावादी र साम्यवादीलाई भोट दिन नचाहने जनमतले यो पार्टीलाई भोट दिँदै आएको छ ।’
प्रतिवेदनप्रति कार्यकर्ताको असन्तुष्टि: डा. भट्टराईको राजनीतिक प्रतिवेदनप्रति पार्टीकै नेता र कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित बैठकमा भेला भएका नेता तथा कार्यकर्ताहरूले प्रतिवेदनप्रति असन्तुष्टि जनाएका हुन् । ‘पार्टी निर्माण भएयताको ६ महिनामा पार्टीभित्र भएका काम, कारबाहीको समीक्षा प्रतिवेदनमा समावेश गरिएन,’ पार्टीका सदस्य पदम अधिकारीले भने, ‘घोषणापत्र र विधान पार्टी सदस्यहरूले अनुमोदन नै नगरी पदाधिकारीले पारित गरेकाप्रति हाम्रो असन्तुष्टि छ ।’
यस्तै सप्तरीका सदस्य चित्रनारायण यादवले पार्टीका बफादार र जिम्मेवारीपूर्ण कार्यकर्ताबीच पार्टीले मूल्यांकन नगरेको बताए । समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज (शुक्रबार) बाट सुरु हुँदै छ ।
राजपासँग एकता प्रयास जारी:अध्यक्ष भट्टराई राष्ट्रिय जनता पार्टी नेपालप्रति भने नरम देखिए । ‘राष्ट्रिय जनता पार्टी राष्ट्रिय पहिचान र अधिकारको पक्षधर, लोकतान्त्रिक दल हो । यो दलसँग हाम्रा धेरै एजेन्डाहरू मिल्छन् । यस दलसँग पार्टी एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ । यो एकता प्रयासलाई यथासम्भव छिटो तार्किक निष्कर्षमा पुर्याउने प्रयत्न जारी छ,’ यादवनिकट एक उच्च नेताले भने । नयाँ पत्रिका दैनिकबाट












