भक्तपुर । आगामी १४ मंसिरमा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनमा गत निर्वाचनका बागी उम्मेदवारलाई पार्टी केन्द्रले टिकट दिएपछि नेकपा स्थानीय नेता तथा कार्यकर्ताले पार्टी कार्यालय भक्तपुरमा तालाबन्दी गरेका छन् । सोमबार बिहानै कार्यालय पुगेका करिब दुई सय स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन् । कार्यालयको मूलढोकामा तालाबन्दी गर्दै उनीहरूले नाराबाजीसमेत गरे ।
गत निर्वाचनमा पार्टी गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएका देवीप्रसाद ढकाल (डिपी)लाई भक्तपुर १ (क) लाई उम्मेदवार बनाउने निर्णय फिर्ता लिनुपर्ने उनीहरूको माग छ । ढकाल नेकपाका जिल्लासचिव छन् । पार्टीले कार्यकर्ताको भावनाविपरीत उम्मेदवार चयन गरेकाले निर्णय सच्याउन माग गर्दै तालाबन्दी गर्नुपरेको जिल्ला कमिटी सदस्य मन्दरा मिश्रले बताइन् । ढकाल पूर्व माओवादी पृष्ठभूमिका हुन् भने असन्तुष्टि जनाउने पूर्वएमाले पृष्ठभूमिका हुन् ।

नेकपाको केन्द्रीय सचिवालय बैठकले आइतबार साँझ जिल्ला र प्रदेश कमिटीको सिफारिसका आधारमा उम्मेदवारको टुंगो लगाएको थियो । गत निर्वाचनमा तत्कालीन एमाले र माओवादी गठबन्धनका तर्फबाट हरिशरण लामिछाने विजयी भएका थिए । तर, गठबन्धनको निर्णय अस्वीकार गर्दै बागी उम्मेदवार बनेका ढकालले सात सय ८४ मत ल्याएका थिए ।
जिल्ला कमिटीका अर्का सदस्य साधुराम दाहालले अघिल्लो निर्वाचनमा बागी बनेका ढकाललाई उम्मेदवार बनाउँदा पार्टीको जित सुनिश्चित नहुने भएकाले सहज रूपमा जित्ने नेतालाई टिकट दिनुपर्ने माग गरे ।
पार्टी निर्णय मान्नुको विकल्प छैनः अध्यक्ष देउजानेकपा भक्तपुर अध्यक्ष वचन देउजाले ताला खोल्नका लागि पहल भइरहेको बताएका छन् । उनले पार्टीको निर्णयलाई मानेर अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे । भक्तपुरबाट प्रदेश सभा सदस्य उम्मेदवारका लागि जिल्ला कमिटीले ढकालसहित १८ जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको थियो । प्रदेश कमिटीले भने ढकालसहित रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ र नारायणी फुँयालको नाम केन्द्रमा पठाएको थियो । नयाँ पत्रिका दैनिकबाट












