२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुभाषिक नेपाल: पत्ता लाग्यो नयाँ ६ वटा भाषा



अ+ अ-

काठमाडौँ । नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको छ ।

नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ । आयोगका अध्यक्ष डा। लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।

संवत् २०६८ को जनगणनाअनुसार नेपालमा बोलिने १२३ वटा भाषामध्ये चीन–तिब्बती परिवारका ६८, भारोपेली परिवारका ४८, आग्नेली परिवारको एउटा (सन्थाली भाषा), द्रविड परिवारको एउटा (उराँव र कुडुख भाषा) र भाषिक परिवार नखुलेको कुसुन्डा भाषा अस्तित्वमा थिए । आयोगका अध्यक्ष अवस्थीले भने, “नेपालको संविधानले सङ्कल्प गरेअनुसारको काम गर्ने तौरतरिका मिलेको छैन, संविधानको अग्रगामी सोचअनुसार त्यसको पूर्ण पालना भएको छैन । ”

आयोगले देशका सातवटा प्रदेशमा बोलिने भाषाको विज्ञ समूहमार्फत सूक्ष्म अध्ययन गरिरहेको छ । आयोगले तयार गर्ने अन्तिम प्रतिवेदनमा कुन प्रदेशमा कुन कुन भाषाको सम्भाव्यता छ भनी प्रतिवेदन दिने तयारी आयोगको छ । आयोगको कार्य अवधि अझै दुई वर्ष छ ।

केही भाषा सङ्कटमा: नेपालमा एक लाखभन्दा बढी वक्ता सङ्ख्या भएका भाषा १९ वटा छन् । यो सङ्ख्या नेपालको कुल जनसङ्ख्याको ९५.९१ प्रतिशत हुन आउँछ । बाँकी जनसङ्ख्याले बोल्ने भाषामध्ये अत्यन्त थोरै वक्ता भएका दुरा, कुसुन्डा, तिलुङजस्ता २४ वटा भाषा अस्तित्व मेटिने स्थितिमा पुगेका छन् । पूर्वीय दर्शन र सभ्यताका धरोहर पाली, संस्कृत र भोट भाषाहरू सङ्कटग्रस्त छन् । नेपालका साङ्केतिक भाषाहरूसमेत हराउँदै जाने स्थिति उत्पन्न भएको छ ।

आफ्नो माटोसितको सम्बन्ध टुट्दै गएका कारण नेपाल उत्पत्तिका भाषाहरूको शब्द भण्डार घटेको, व्याकरण खण्डित भएको र उच्चारण पद्धतिमा समेत विचलन आएको निष्कर्ष आयोगको प्रतिवेदनमा छ । नेपालको सरकारी कामकाजको भाषाका रूपमा संविधानमा उल्लेख भएको नेपाली भाषाका साथै नेपालमा बोलिने नेपाल उत्पत्तिका राष्ट्रभाषाहरू दिनानुदिन क्षीण हुँदै गएको कुरा भाषा आयोग र अन्य निकायबाट गरिएका अध्ययनहरूले देखाएका छन् ।

प्रतिवेदनमा भनिएको छ, “अङ्ग्रेजीप्रतिको अनावश्यक मोह, औपनिवेशिक मानसिकता र बजारले सिर्जना गरेका भ्रमका कारण नेपालको भाषिक विविधता र बहुभाषिक जीवन पद्धति सङ्कटमा पर्दै गएको छ । ” आयोगले नेपाल भाषिक विघटनतिर द्रुत गतिमा अगाडि बढिरहेको अवस्थाको चित्रण प्रत्येक प्रतिवेदनमा गर्दै आएको छ । यस विषयमा नेपाल सरकार र नेपाली समाजको ध्यान जानु अति नै जरुरी छ, भाषिक विघटनका कारण हाम्रो अस्तित्व सङ्कटमा पर्ने स्थिति देखा परेको भन्दै आयोगले सबैको ध्यानाकर्षणसमेत गराएको छ ।

आयोगले आफ्नो कार्यमा सहजीकरण गर्न १०१ भाषाको विज्ञसूची तयार गरेको छ, जसअन्तर्गत ४४ भाषाका ५० संस्था र ९३ भाषाका २७० जना विज्ञहरूको सूची तयार पारेको छ । आयोगले उच्चस्तरीय भाषानीति निर्धारण समिति गठन गरिनुपर्ने र संवैधानिक प्रावधानहरूका साथै भाषासम्बन्धी अन्य कानुनी प्रावधानको कार्यान्वयनका लागि समन्वय र सहजीकरण गर्ने कार्यको दायित्वसमेत भाषानीति निर्धारण समितिलाई दिइनुपर्ने सुझाव दिएको छ ।

नेपाली भाषा अनिवार्य:यसैगरी आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारी कामकाजको अभिलेखन, पञ्जीकरण, नामकरण, प्रमाणीकरण र सम्प्रेषण नेपाली भाषामा हुने अनिवार्य व्यवस्था गरिनुपर्ने सुझाएको छ । नेपाली भाषाका अतिरिक्त प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण भएमा सम्बन्धित प्रदेशभित्रको सरकारी कामकाजको अभिलेखन, पञ्जीकरण, नामकरण, प्रमाणीकरण र सम्प्रेषण सो भाषामा समेत हुने व्यवस्था मिलाइनुपर्ने सुझाव पनि दिइएको छ । गोरखापत्र दैनिकबाट