२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द



अ+ अ-

बाँके। बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ ।

निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले पाँच योजनाको ठेक्का सम्झौता रद्द गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गाउँपालिकाको विभिन्न वडामा योजना निर्माण कार्यका लागि अमन कन्स्ट्रक्सन, गुलरिया–५, बर्दियासँग गरिएका पाँच वटै ठेक्का सम्झौता रद्द गरिएको हो ।

खजुरा गाउँपालिका–४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्र गर्न २०७७ फागुन १२ गते अमन कन्स्ट्रक्सन, गुलरिया–५, बर्दियासँग ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७८ जेठ ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम पूरा भएको छैन ।

दुई भागमा अलग–अलग ठेक्का आह्वान गरिएको उक्त योजनाअन्तर्गत ग्राभेल हाल्ने र गिट्टी बिछ्याउने काम भए पनि कालोपत्र हुन नसक्दा सडक पुनः जीर्ण बनेको छ ।

अमन कन्स्ट्रक्सनले ठेक्का पाएको एनआइसी बैङ्कदेखि मनकामना जाने सडक तथा नाली निर्माण, गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति, तथा बिगाउँ ९० नम्बरदेखि १०५ नम्बरसम्मको बाटो स्तरोन्नतिका योजना पनि वर्षौंदेखि अधुरै छन् ।

पालिकाले यी सबै पाँचवटै ठेक्का रद्द गर्ने निर्णय गरेको हो । सबै ठेक्का अमन कन्स्ट्रक्सनकै रहेका छन् । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले सम्झौता रद्द गरी कालोसूचीमा किन नराख्ने भन्दै पालिकाले गत मङ्सिर २ गते सार्वजनिक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

सार्वजनिक सूचना जारी भएपछिको तोकिएको अवधिमा पनि सम्झौताबमोजिम निर्माण कार्य अगाडि बढाउने विश्वसनीय आधार पेस गर्न नसकेकाले अमन कन्स्ट्रक्सन, गुलरिया–बर्दियासँगको ठेक्का सम्झौता अन्त्य गरिएको उहाँको भनाइ छ । रासस




भर्खरै