काठमाडौं । नेपालमा १० हजार जनसंख्या थालासेमिया (अपुष्ट रक्तकोषको समस्या) रोगबाट पीडित छन् । यो जन्मजात लाग्ने रोग हो । सिकलसेल एनिमियाजस्तै हो यो रोग । सिकलसेल एनिमिया थारू समुदायलाई मात्रै लाग्छ भने थालासेमिया सबै समुदायमा देखिएको छ । थालासेमियाका बिरामी ठूलो संख्यामा भए पनि उनीहरूको उपचारमा चाहिने औषधि नेपालमा पाइँदैन ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामसुन्दर यादवका अनुसार यस्ता रोग लागेका बिरामीलाई ‘चिलेटिङ एजेन्ट’ नामक औषधि दिने गरिन्छ । यो औषधि नेपालको औषधि व्यवस्था विभागमा दर्तासमेत छैन । विभागमा औषधि दर्ता नहुँदासम्म नेपालभर त्यसको बिक्री–वितरण गर्न कानुनी रूपमा पाइँदैन । औषधि उपलब्ध नहुँदा दश हजार बिरामीका लागि उपचारमा समस्या परेको यादवले बताए ।

एउटै प्रकृतिको रोग सिकलसेल एनिमियामा राज्यले ठूलो लगानी गरेको छ । उनीहरूको उपचारमा सरकारले एक लाख रुपैयाँसमेत सहयोग दिएको छ । तर, थालासेमियाका बिरामीले राज्यबाट औषधिको समेत सुविधा पाउन सकेका छैनन् ।
नेपालमा औषधि किन्न पाइँदैन: चिकित्सकका अनुसार विशेषगरी बालबालिकामा थालासेमिया देखापर्छ । यो रोगको निराकरणका लागि बोनम्यारो ट्रान्सप्लान्ट अन्तिम उपाय हो । बोनम्यारो ट्रान्स्प्लान्ट गर्न नसक्ने अवस्थामा समय–समयमा रगत चढाएर बिरामी बचाउने गरिन्छ । बोनम्यारो ट्रान्स्प्लान्टका लागि १२ देखि १५ लाख रुपैयाँ खर्च हुन्छ । नेपालमा थालासेमिया बिरामीका विषयमा स्वास्थ्य मन्त्रालयमातहतको रोग नियन्त्रण महाशाखाले नै अनुसन्धान गरेको थियो ।
उक्त अनुसन्धानले बिरामीको संख्या धेरै रहेको र नेपालमा यसको औषधि नपाइने भन्दै सोच्न मन्त्रालयलाई सुझाबसमेत दिएको थियो । हेमोग्लोबिन रगतमा भएका कारण रगत रातो हुन्छ । हेमोग्लोबिनले अक्सिजनलाई बोकेर शरीरको कोषिका (सेल) सम्म पुर्याउँछ । यसले रातो रक्तकोषिका १२० दिन बाँच्छ, तर यो रोगमा रातो रक्तकोषिका १० देखि २० दिनभित्रमा मर्छ । यसले गर्दा शरीरमा अक्सिजन ओसारपसारमा समस्या हुने गर्छ ।
‘रगतमा हेमोग्लोबिनको मात्रा कमी भएमा रगत चढाउनुपर्ने हुन्छ । रगत चढाए पनि बिरामीमा आइरनको मात्रा बढेर जान्छ । यसरी आइरन बढेर जाँदा यसलाई शरीरबाट बाहिर निकाल्न औषधि आवश्यक पर्छ,’ यादवले भने ।
भेरी अञ्चल अस्पतालमा मात्रै उपचार: थालासेमियाको उपचार भेरी अञ्चल अस्पतालमा मात्रै हुने गरेको छ । त्यसैले देशभरबाट थालासेमियाका बिरामी उपचार सेवा लिन भेरी अस्पताल पुग्ने गरेका छन् । औषधि व्यवस्था विभागमा दर्ता नभएका कारण भारतबाट तराईका जिल्लामा ‘ब्ल्याक’मा किनबेच भइरहेको स्वास्थ्य सेवा विभागका अधिकारीहरू बताउँछन् ।
‘दश हजारजना बिरामीलाई थालासेमियाको औषधि आवश्यक छ । नेपालमा पाइँदैन, त्यसैले भारतबाट ब्ल्याकमा ल्याएर दिनुपरेको छ,’ विभागका एक कर्मचारीले भने । विपन्न नागरिकलाई दिने सुविधामा आठ रोगको सूची रहेको छ । सो सूचीमा थालासेमिया समावेश छैन । नयाँ पत्रिका दैनिकबाट












