२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनमा दलको सकस: ठूला दललाई उम्मेदवार छान्नै हम्मे, साना पालो पर्खदै



अ+ अ-

काठमाडौं। उपनिर्वाचनका लागि ठूला दललाई उम्मेदवार छान्नै सकस देखिएको छ । जिल्ला तह हुँदै केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारका नाम धेरै भएपछि दलहरूलाई उम्मेदवारबारे निर्णय लिन सकस हुँदै आएको हो । १४ मंसिरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी कुल ५२ पदका लागि उपनिर्वाचन हुँदै छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०देखि विपक्षी कांग्रेस हुँदै अन्य साना दलले समेत उपनिर्वाचनका लागि अहिलेसम्म उम्मेदवारबारे निर्णय गर्न सकेका छैनन् ।

खासगरी ठूला दलभित्र उम्मेदवारका लागि आकांक्षी धेरै देखिँदा नाम टुंगो लगाउन सकस पर्दै आएको छ । यसैगरी, एउटा कुनै नाममा तत्कालै निर्णय गर्न समेत असन्तुष्ट पक्षको असहयोग रहने आँकलन गर्दै दलहरूले सकभर मिलाएर र फकाएरै एक जनालाई सर्वसम्मत उम्मेदवार बनाउने कोसिस गरिरहेका छन् । सत्तारूढ दल नेकपाले शनिबार नै उम्मेदवारबारे छलफल गर्न भन्दै सचिवालय बैठक बोलाएको थियो ।

तर, बैठकमा क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिस भई आएका नामका विषयमा सामान्य छलफल मात्रै भएको र आइतबार थप छलफल गर्ने गरी सचिवालय बैठक बोलाइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘शनिबारको बैठकमा सिफारिस भई आएका नामका विषयमा सामान्य छलफल मात्रै भयो, थप विषयमा छलफल गर्ने गरी आइतबार पुनः सचिवालय बस्छ, बैठकले उम्मेदवारबारे निर्णय लिन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।

नेकपाले उम्मेदवार सिफारिस गर्दा तल्लो तहलाई कम्तीमा तीन जनाको नाम पठाउन भनेको थियो भने कतिपय ठाउँबाट एक जनाको नाम मात्र सिफारिस भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । नेकपा केन्द्रमा कतिपय जिल्लाबाट भने दर्जन बढी आकांक्षीका नाम आएका छन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले शुक्रबारका लागि उम्मेदवारबारे छलफल गर्न भन्दै केन्द्रीय समिति बैठक डाकेको थियो । सो बैठकले समेत पदाधिकारीलाई नै उम्मेदवारबारे अन्तिम निर्णय गर्ने अधिकार दिएको छ ।

कांग्रेस पदाधिकारी बैठक आइतबार ९आज० नै सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्दै छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बस्ने पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारबारे अन्तिम टुंगो लगाउने बताए । ‘पदाधिकारी बैठकले नै उम्मेदवार टुंगो लगाउने गरी केन्द्रीय समितिले अधिकार प्रत्यायोजन गरिसकेको छ, आइतबारको पदाधिकारी बैठकले उम्मेदवारबारे अन्तिम टुंगो लगाउँछ,’ कांग्रेस प्रवक्ता शर्माले भने ।

नेकपा र कांग्रेसबाहेक राष्ट्रिय दलका रूपमा मान्यता पाएका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले समेत उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । अन्य केही साना दल भने ठूला दलले उम्मेदवार तोकेपछि मात्रै निर्णय गर्ने मनस्थितिमा छन् । खासगरी साना कम्युनिस्ट दलहरू सो रणनीतिमा छन् । समाजवादी पार्टीले भने स्थानीय तहका उम्मेदवारबारे निर्णय गर्न प्रदेशलाई जिम्मेवारी दिइएको बताएको छ । तर, प्रदेश र संघको उम्मेदवारका विषयमा प्रदेशको सिफारिसमा केन्द्रले नै निर्णय गर्ने बताउँदै आएको छ ।

राजपा महासचिव केशव झाले जिल्ला कमिटीसँगको समन्वयमा सम्भावित उम्मेदवारहरूको आन्तरिक मूल्यांकन भइरहेको र छिट्टै निर्णय हुने जनाए । उनले उपनिर्वाचनका लागि निकट शक्तिसँग तालमेल हुने सम्भावनासमेत रहेको जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आइतबार ९आजै० उम्मेदवारबारे छलफल गर्न भन्दै कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आइतबारका लागि पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइको र बैठकले नै उम्मेदवारबारे निर्णय लिने जानकारी दिए ।

राप्रपाले वडा तहमा उम्मेदवार छनोट गर्ने जिम्मा सम्बन्धित जिल्ला कार्य समितिलाई दिएको छ । गाउँपालिका र नगरपालिकाको उम्मेदवार छनोट भने सम्बन्धित जिल्ला कार्यसमितिको सिफारिसमा प्रदेश कमिटीले गर्ने गरी अधिकार दिइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारबारे भने राप्रपाले सम्बन्धित जिल्ला समितिले प्रदेश समितिलाई सिफारिस गरेबमोजिम प्रदेश समितिको सिफारिसमा पार्टी केन्द्रबाट टुंगो लगाउन लागेको हो ।

प्रतिनिधिसभामा निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका कारण कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ खाली छ ।त्यसैगरी, प्रदेशसभातर्फ भक्तपुर १ ‘क’ बाट निर्वाचित हरिशरण लामिछानेको मृत्यु भएपछि सो स्थान रिक्त छ । यस्तै, दाङ ३ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनका कारण सो स्थानसमेत रिक्त छ भने बाग्लुङ २ ‘ख’ बाट निर्वाचित टेकबहादुर घर्तीको निधनका कारण सो स्थान रिक्त छ ।

यस्तै नगरपालिकातर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको निधन पछि सो स्थान रिक्त छ । आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी कुल ५२ रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ । राजधानी दैनिकबाट