बिर्तामोड। झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले आज प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी भारतको बिहार राज्य, अररिया जिल्ला, ग्राम पञ्चायत सिरसियाकला, थाना भरगामाका स्थायी बासिन्दा तथा हाल दमक–५ मा बस्दै आएका ३४ वर्षीय राकेशकुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
झापाकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले घटनाको अनुसन्धानका क्रममा सङ्कलन गरिएका प्रमाण, प्राविधिक विश्लेषण तथा विभिन्न सूचनाका आधारमा पण्डितलाई पक्राउ गरिएको बताउनुभयो ।
प्रहरीका अनुसार पण्डित दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडान गर्ने मिस्त्रीको काम गर्दै आएका थिए । मृतक तिवारी र आरोपितबीच पुरानै चिनजान रहेको तथा उनीहरूबीच नियमित भेटघाट हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा घटनाको राति पनि दुवै जनासँगै रहेको प्रमाण फेला परेको एसपी खड्काले बताउनुभयो । प्रारम्भिक अनुसन्धानबाट आर्थिक लेनदेन भएको पाइएको तथा बैंकबाट पैसा झिकी कारोबारसमेत भएको देखिएको, तत्पश्चात उनीहरूबीच विवाद भएको र त्यस क्रममा पण्डितले तिवारीको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
हत्यापछि घटनालाई लुकाउने उद्देश्यले आरोपितले शवलाई बोरामा पोको पारी मोटरसाइकलमार्फत दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रको रतुवा खोलाको पुलमुनि लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र पोको पारिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो ।
एसपी खड्काले घटनामा प्रयोग भएका सामग्री तथा अन्य प्रमाणहरूसमेत सङ्कलन गरिएको जानकारी दिँदै अभियुक्तविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कानुनी प्रक्रियाको लागि जिल्ला अदालत झापावाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो । रासस












