२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा चरम ठगी: औषधिजन्य उपकरण ३३ सय गुणा बढी लिएर बिक्री



अ+ अ-

काठमाडौं । काठमाडौं बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले औषधि र औषधिजन्य उपकरणमा व्यापक ठगी गरेको पाइएको छ । केन्द्रबाट खरिद भएका औषधिमा खरिद मूल्यभन्दा ३ हजार ३ सय गुणासम्म बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ । केन्द्रको फार्मेसीबाट औषधि र भल्बहरू खरिद मूल्यभन्दा २ हजार ७ सय गुणादेखि ३ हजार ३ सय गुणा बढीसम्ममा बिरामीलाई बिक्री गरी व्यापक ठगी गरेको पाइएको हो ।

बिरामीलाई सहुलियतमा औषधि उपलब्ध गराउनुपर्ने सरकारी नीतिविपरीत सो केन्द्रले अत्यधिक मूल्य लिएर खुलेआम ठगी गर्दै आएको हो । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रको छानबिन प्रतिवेदनले नै यस्तो तथ्य औंल्याएको हो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ लाख ९३ हजार रुपैयाँ पर्ने पेरिमाउन्ट एडवार्ड नामक बायोलोजिकल भल्बलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजीमा सोही कम्पनीको भल्बलाई १ लाख १० हजार रुपैयाँ लिइँदै आइएको छ ।

यसरी हेर्दा भल्ब किन्नका लागि केन्द्रले एक लाख ८३ हजार रुपैयाँ बढी लिएको देखिएको छ ।सप्लायर्स तथा फार्मेसीहरूको आपसी मिलोमतोमा मनोमानी ढंगले कम गुणस्तरीय उपकरणलाई बढी मूल्य लिई सप्लाई गरेको देखिएको छ । फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ९ मा ‘औषधि र औषधिजन्य पदार्थको बिक्री मूल्य निर्धारण गर्दा यसको खरिद मूल्यमा २० प्रतिशतमा नबढाइ बिक्री मूल्य निर्धारण गरिने’ उल्लेख छ । तर, यसरी बिक्री मूल्य निर्धारण गर्दा अधिकतम खुद्रा मूल्यभन्दा बढी हुनुहुँदैन ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा औषधि र भल्बमा खरिद मूल्यभन्दा २ हजार ७ सय गुणा बढीसम्म मनोमानी तरिकाले बिक्री मूल्य तोकी अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । राष्ट्रिय सतर्कता केन्द्रले फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा ९ को व्यवस्थाविपरीत भएको भन्दै केन्द्रलाई निर्देशिका संशोधन गरी सेवाग्राहीलाई मर्का नपर्ने गरी औषधिको मूल्य समायोजन गर्न निर्देशन दिएको छ । शहीद गंगालाल राष्ट्रिय केन्द्रले मुटुको भल्बको बिक्री मूल्य निर्धारण गर्दा केन्द्रकै निर्देशिकाबमोजिम एमआरपी उल्लेख भएकोमा एमआरपी ५ प्रतिशत कम गरी र उल्लेख नभएकोमा १६ प्रतिशत नाफा राखि बिक्री मूल्य निर्धारण गरेको देखिएको छ ।

बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने औषधिजन्य उपकरणको गुणस्तर तथा मूल्य समायोजन नहुँदा बिरामी मर्कामा परेका छन् । मुटुमा ट्रान्सप्लान्ट गरिने भल्बहरू मेडिकल र बायोलोजिकल गरी दुई प्रकारको हुने गरेको र मुटुको भल्बलगायतका औषधिजन्य उपकरणको आधिकारिक बिक्री मूल्य निर्धारण गर्ने, गुणस्तर मापन गर्ने तथा नियमन गर्ने कानुनी तथा संस्थागत व्यवस्था प्रभावकारी नरहेको देखिएको छ ।

औषधिजन्य उपकरणको गुणस्तर तथा मूल्यको अनुगमन तथा नियमन गर्ने संस्थागत व्यवस्था प्रभावकारी नदेखिँदा सप्लायर्स तथा फार्मेसीले मिलेमतोमा मनोमानी तरिकाले कम गुणस्तरीय उपकरणलाई बढी मूल्य राखी सप्लाई गर्ने गरेको देखिएको छ । सतर्कता केन्द्रले कम गुणस्तरीय उपकरणलाई बढी मूल्य तिरेर किन्नुपर्ने बाध्यता रहने भन्दै विद्यमान संस्थागत व्यवस्थामा आवश्यक सुधार गरी प्रभावकारी तुल्याउन सरकारलाई सुझाव दिएको छ ।

आवश्यक कारबाहीको सिफारिस:राष्ट्रिय सर्तकता केन्द्रले औषधिमा ठगी गर्ने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका जिम्मेवार पदाधिकारीमाथि आवश्यक कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष सिफारिस गरेको छ । राजधानी दैनिकबाट