काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनको मतगणना केहीबेर अघि सुरु भएको हो ।
अबको करिब एक घन्टामा मतगणना सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिनुभयो । जिल्ला सभापतिसहित पदाधिकारीका सबै पदमा निर्वाचन भएको छ ।
सभापति पदमा नेता सुरेश सापकोटा र राजु शाक्य प्रतिस्पर्धामा हुनुहुन्छ । प्रथम जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो ।
काठमाडौँ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधि छनोटका लागि पनि निर्वाचन भएको छ । काठमाडौँका अन्य ९ वटा क्षेत्रका क्षेत्रीय प्रतिनिधि भने सर्वसम्मतरूपमा चयन भएका छन् ।
रास्वपाले शनिबार र आइतबार जिल्ला अधिवेशन तोकेको छ । आज ३८ जिल्लामा अधिवेशन भएको बाँकी २७ जिल्लामा आइतबार अधिवेशन हुनेछ । राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने रास्वपाको तयारी छ ।
यही जेठ २६ गतेदेखि प्रदेश अधिवेशन हुँदैछन् । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति र जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगले जनाएको छ । रासस












