काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई दुईपटकको हेमोडायलासिसपछि बिहीबार बेलुका डिस्चार्ज गरिएको हो । प्रधानमन्त्री ओलीको रगतमा बढेको हानिकारक तत्व क्रियाटिनिन हटाउन बुधबार र बिहीबार गरी दुईपटकसम्म हेमोडायलासिस गरिएको थियो ।
ग्रान्डी अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ठीक रहेको बताए । डा. पाण्डेले भने, ‘उहाँको रगतमा बढेको क्रियाटिनिनलाई क्लियर गर्न दुईपटक हेमोडायलासिस गरिएको छ । उहाँ अब स्वस्थ हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीको रगतमा क्रियाटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस थालिएको हो ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । सो मिर्गौलामा समेत समस्या आउन थालेको छ ।

उनले गत भदौमा सिंगापुर गएर ‘प्लाज्माफेरेसिस’ गरेका थिए । रगतमा ‘एन्टिबडी’ बढेपछि प्लाज्माफेरेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो । अस्पतालका निर्देशक डा. पाण्डे भन्छन्, ‘सबै कुरा बाहिर ल्याउनु हुँदैन । केही कुरामा व्यक्तिगत गोपनीयता पनि त हुन्छ नि ।’
चिकित्सकका अनुसार व्यक्तिको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलाविरुद्ध शरीरले उत्पादन गरेको हानि गर्ने तत्वलाई एन्टिबडी भनिन्छ ।
त्यसले प्रत्यारोपण गरेको मिर्गौलालाई हानि पुर्याउँछ । क्रियाटिनिन बढ्नु भनेको शरीरले एन्टिबडी बनाउनु हो । अधिकांश एन्टिबडी मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा देखिन्छ ।पत्रकार सम्मेलनमा ग्रान्डी अस्पतालका निर्देशक डा. पाण्डेले भने, ‘डायलासिस भनेको सामान्य हो, आत्तिहाल्नुपर्ने अवस्था त होइन । हामी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेको गोपनीयतालाई ख्याल गर्दै जानकारी दिनेछौं ।’
अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू ठीक भएको बताए । प्रधानमन्त्री ओलीको शरीरमा जम्मा भएको एन्टिबडीलाई प्लाज्माफेरेसिसको माध्यमबाट नष्ट गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन् । सो औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकाले बेलाबेलामा उनको स्वास्थ्यमा समस्या देखिने गरेको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्रान्डी पुगेका थिए । नयाँ पत्रिका दैनिकबाट












