काठमाडौँ । गत हप्तामात्र दक्षिणी छिमेकी मुलुक भारत पुगेर आएका परराष्ट्रमन्त्री शिशिर खनाल आगामी आइतबार चीन प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयको समाचार स्रोतका अनुसार मन्त्री खनाल यही ३१ जेठमा पाँच दिने भ्रमणका लागि उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएका हुन् ।
उनले दक्षिणी छिमेक भारतको तीनदिने भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा एश जयशंकरसँग भेटवार्ता गरेका थिए । उक्त भेटको एक सातामै उनले चिनियाँ विदेश मन्त्री वाङ यीसँग पनि भेट गर्ने भएका हुन् । भारतजस्तै उनको यो उत्तरी छिमेकीको यात्रालाई पनि महत्वपूर्ण रुपमा लिइएको छ ।
उनी भारतबाट आएपछि मात्र चीनको यात्रा तय भएको परराष्ट्र स्रोतले जनायो । त्यसैले छोटो तयारीमा भएकाले यस उनको यो पहिलो पटक हुन लागेको चीन भ्रमणमा खासै नयाँ एजेण्डा भने नरहेको स्रोतले बतायो । तर पनि यसअघिका दुई देशबीचका द्धिपक्षी सम्झौता र कार्यक्रमहरुको समिक्षा भने हुने भएको हो ।
गत हप्तामात्र अर्थात मन्त्री खनाल भारत जान लागेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएका थिए । त्यसक्रममा उनलाई भारतीय सत्तारुढ दल र भारत सरकारको भव्य स्वागत र सम्मानको नेपालमा व्यापक मात्रामा चर्चा पनि भएको थियो । त्यसैले पनि सो भ्रमण जारी रहेकै बेला परराष्ट्र मन्त्री खनालको भारत भ्रमणको तय हुनु र सभापति लामिछाने फर्किएकै दिन उनी भारत जानुपर्ने हतारोले पनि उक्त भ्रमणलाई अर्थपूर्ण बनाएको थियो ।
त्यसैले त्यो भन्दा कम अर्थपूर्ण उत्तरी छिमेकको यो भ्रमण पनि नरहेको कूटनीतिक वृत्तमा चर्चा छ । गत भदौ महिनामा नेपालमा भएको जेनजी आन्दोलनका क्रममा सहभागी टिओबी, त्यसपछि दलाई लामाले नेपालमा नयाँ सरकारलाई दिएको बधाई र चिनियाँ सम्बन्धसँग जोडेर पछिल्लो समयमा भएका विविध टिकाटिप्पणी र क्रियाकलापबाट उत्तरी छिमेकीसँगको नेपालको सम्बन्धमा विविध जटिल आयामहरु थपिँदै गरेका चर्चाहरु छन् ।
वर्तमान सरकार बनेपछि नेपाल चीन सम्बन्धका कतिपय अत्यन्तै संवेदनशील सम्बन्धका पाटाहरुमा अनावश्यक रुपमा प्रवेश भएका तथा फ्रि तिब्बत जस्ता दुई देशबीचको गम्भीर नीतिका विषयमा पनि खुले आम र हल्का रुपका टिकाटिप्पणीहरु बाहिरिने गरिरहेकै छन् । यस्तो अवस्थमा नेपालका विदेशमन्त्रीको चीन भ्रमण नेपाल र चीन दुवै पक्षका लागि अर्थपूर्ण मानिएको छ ।
परराष्ट्रमन्त्री खनालले आजसम्म एजेन्डा सार्वजनिक गरेका त छैनन् तर पनि मुख्य एजेण्डा भने सम्बन्धको पछिल्लो पुनरावलोकन नै रहेको पाइएको छ । मन्त्री खनालले यस भ्रमणका विषयमा नेपालमा रहेका चीन सम्बन्धका सरोकारवालासँग छलफल गर्ने तयारी गरेका र त्यसबाट चीनसँगको कुराकानीका विषयवस्तुहरु चयन हुनसक्ने मन्त्रालय स्रोतले उल्लेख गरेको छ । तर मन्त्री खनाल निकट स्रोतले भने हाम्रो उत्तरी ठूलो छिमेकीसँगको भ्रमण र भेटवार्ताका लागि गर्नुपर्ने तयारीको औपचारिकताका लागि सरोकारवालाहरुसँग छलफल गर्ने तय भएको भए पनि भ्रमणको खासै नयाँ एजेण्डा नरहेको र सम्बन्धको पुनरावलोकन नै मुख्य एजेण्डा रहेको बताएको छ ।
भारतसँग द्धिपक्षीय सहकार्यका एजेन्डामा छलफल र तीनबुँदे सहमति गरेका मन्त्री खनालले उत्तरसँग भने त्यस्तो कुनै सहमतिका बुँदा तयार नपारेको बताइएको छ । अहिलेलाई चीनसँग विश्वासको सम्बन्ध स्थापित गर्नु नै अन्य कुनै एजेन्डा भन्दा महत्वपूर्ण हुन सक्ने मन्त्रालय स्रोतले जनायो । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्ताबाट सम्बन्ध पुनरावलोकनको प्रस्ताव गर्नेछन् ।
तर यता सत्तारुढ दल रास्वपा तथा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह भने छिमेकीहरुसँग पुराना एजेन्डामा छलफल गर्न चाहिरहेको छैन । पुराना कुराहरुमा फेरि छलफल चलाएर त्यसलाई परम्परागत कूटनीतिक औपचारिकता दिनेतर्फ सत्तारुढ दल र प्रधानमन्त्री नरहेकाले कुनै नयाँ काम र एजेण्डमा अघि बढाउन परराष्ट्रमन्त्री खनाललाई चुनौती आइलागेको छ । सोही अनुरुप उहाँ उत्तरी छिमेकीसँग गरिने कुराकानी र अघि बढाइने एजेण्डको खोजीमा रहेको उहाँको सचिवालय स्रोतले जनायो ।
तर पनि यसरी अघि बढ्ने एजेण्डमा चीन सरकार भने तयार नहुन सक्छ । चीन पछिल्ला समयमा नेपालमा भइरहेका चीन सम्बन्धका क्रियाकलापहरुमा नेपालसँग स्पष्ट हुन चाहेको स्रोत बताउँछ । त्यो विश्वासको वातावरण बन्न सक्दा मात्र नयाँ एजेण्डामा चीन अघि बढ्न चाहेको कूटनीतिक वृत्तमा चर्चा छ ।
अहिले चीनलाई नेपालको वर्तमान सरकार पश्चिमासँग नजिक रहेको दिल्ली र बेइजिङको आशंका छ । सायद त्यसै विषयले उनले हालै गरेको भ्रमाणका क्रममा भारतलाई स्पष्ट पार्ने प्रयास गरेका थिए । यही विषयमा चीनसँग पनि उनको कुराकानी हुनेछ र यसलाई नेपालका तर्फबाट स्पष्ट पार्ने प्रयास उनले गर्नेछन् ।
हुन पनि पछिल्ला दिनमा वाशिसङ्टनबाट काठमाडौंंको यात्रा निकै बाक्लिएको छ भने यता भारत र चीनको छैन । भारतबाट आउन लागेका विदेश सचिव पनि अन्तिममा आएर भ्रमण रोकेका थिए । सायद त्यस विषयमा मन्त्री खनालले आफ्नो भारत भ्रमणका समयमा स्पष्ट गरेको हुनुपर्दछ । वाशिङ्टनको बाक्लिँदो काठमाडौँ भ्रमणका बारेमा बेइजिङ पनि जानकार नहुने कुरै भएन । सम्भवत यसप्रति बेइजिङको पनि चासो बढेको होला । र, त्यस विषयमा पनि मन्त्री खनालले स्पष्ट गर्ने नै छन् ।
यी भ्रमणहरुले हाम्रा उत्तर र दक्षिणी छिमेकीलाई आशंकाको बलका बारेमा दिल्लीसँग जस्तै बेइजिङसँग पनि खुलेरै कुराकानी हुने परराष्ट्र स्रोतले जनायो । वर्तमान सरकार बनेपछि पश्चिमबाट कैयौँ उच्चस्तरीय भ्रमण भइसकेको छ । हालै भ्रमणका क्रममा दिल्लीमा रहेका रास्वपा सभापति लामिछानेसँग समेत राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसियाका विशेषदूत सर्जियो गोरले भेटेका थिए । तर यता हाम्रा उत्तर दक्षिण छिमेकीहरुले भने यो रुपमा काठमाडौँको औपचारिक भ्रमण गरेका छैनन् ।
यी विषयहरुमा आँखा पुर्याइरहेका काठमाडौँ, दिल्ली र बेइजिङका भू–राजनीतिक विश्लेषकले परारष्ट्र मन्त्री खनालको यो चीन भ्रमणलाई अर्थपूर्ण रूपमा लिएका छन् । उनीहरुका अनुसार अहिले परराष्ट्र मन्त्रीले चीनको भ्रमण गरेर कुनै नयाँ एजेण्डा स्थापित गर्ने या सहमति सम्झौता गर्ने भन्दा पनि सम्बन्ध पुनस्थापित गर्नु नै महत्वपूर्ण हुनेछ ।












