२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इयु प्रतिबन्धबारे चीनको चेतावनी



अ+ अ-

बेइजिङ। युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिरहेको युरोपेली सङ्घ (इयु) लाई चीनले कडा चेतावनी दिएको छ ।

बेइजिङले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाइए आवश्यक कदम चालेर राष्ट्रिय हित र अधिकारको रक्षा गर्ने जनाएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता इयुले मस्कोविरुद्ध विभिन्न चरणमा प्रतिबन्धहरू लागू गर्दै आएको छ । अहिले प्रस्ताव गरिएको नयाँ प्रतिबन्ध प्याकेजले रुसी सैन्य संरचनालाई सहयोग गरेको आरोप लागेका तेस्रो मुलुकका कम्पनीहरूको व्यापारिक गतिविधिलाई थप सीमित गर्ने लक्ष्य राखेको छ ।

इयु अधिकारीहरूका अनुसार प्रस्तावित सूचीमा मुख्यभूमि चीन र हङकङका १४ कम्पनीलाई समावेश गरिएको छ । यी कम्पनीहरूलाई युरोपेली वस्तु तथा प्रविधि खरिदमा प्रतिबन्ध लगाउने तयारी गरिएको बताइएको छ । यस्ता प्रतिबन्ध लागू हुन भने इयुका सबै २७ सदस्य राष्ट्रको सर्वसम्मत समर्थन आवश्यक पर्नेछ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार नियमित पत्रकार सम्मेलनमा चीनले अन्तर्राष्ट्रिय कानूनको आधारबिना लगाइने एकपक्षीय प्रतिबन्धको सधैँ विरोध गर्दै आएको बताउनुभयो । उहाँले युरोपेली पक्षसमक्ष यस विषयमा पटक–पटक गम्भीर चासो र आपत्ति प्रकट गरिएको पनि उल्लेख गर्नुभयो ।

“चीनले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्नो वैध अधिकार तथा हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक कदम चाल्नेछ”, लिनले चेतावनी दिनुभयो ।

युक्रेन युद्धमा विशेषगरी ड्रोन प्रविधिको प्रयोग निर्णायक बन्दै गएको छ । विश्वव्यापी नागरिक ड्रोन बजारमा चिनियाँ कम्पनीहरूको बलियो उपस्थिति रहेकाले तिनका केही उत्पादन सैन्य प्रयोजनमा समेत प्रयोग हुन सक्ने आशङ्काले पश्चिमी मुलुकहरू चिन्तित छन् । यद्यपि बेइजिङले आफूले युद्धरत कुनै पनि पक्षलाई घातक सैन्य सहायता नपठाएको र युक्रेन युद्धमा तटस्थ भूमिका निर्वाह गरिरहेको दाबी गर्दै आएको छ ।

इयुले भने रुसको युद्ध क्षमता कमजोर पार्न थप दबाब आवश्यक रहेको बताएको छ । युरोपेली सङ्घकी विदेश नीति प्रमुख काजा कल्लासले मङ्गलबार सामाजिक सञ्जालमार्फत नयाँ प्रतिबन्ध प्याकेजलाई पछिल्ला दुई वर्षभन्दा बढी अवधिकै सबैभन्दा व्यापक सूचीकरण भएको बताउनुभएको थियो ।

उहाँका अनुसार नयाँ उपायहरू विशेषगरी वित्तीय क्षेत्र, ऊर्जा उद्योग र ड्रोन उत्पादनसँग सम्बन्धित संरचनामाथि केन्द्रित छन् । “एक–एक इँटा हटाउँदै हामी रुसको युद्ध अर्थतन्त्रको जग कमजोर बनाइरहेका छौँ”, कल्लासले उल्लेख गर्नुभएको छ ।

युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहँदा रुसमाथिको दबाब बढाउने पश्चिमी प्रयास र त्यसविरुद्ध चीनको प्रतिरोधले बेइजिङ–ब्रसेल्स सम्बन्धमा थप तनाव उत्पन्न हुने सङ्केत देखिएको छ । (रासस\एएफपी)