२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौध महिनामा चोभार सुक्खा बन्दरगाह संचालनमै आउने



अ+ अ-

काठमाडौँ । आयात र निर्यात हुने वस्तुलाई एकीकृत सेवा दिनका लागि काठमाडौँको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) अब १४ महिनामा तयार भई सञ्चालनमा आउने भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको सो बन्दरगाह निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकता दिएपछि आगामी वर्ष तयार हुने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले सो बन्दरगाह सन् २०२० भित्र निर्माण भई सञ्चालनमा आउने बताए।

उनले भने, “सन् २०२० भित्र काठमाडौँमा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको हुनेछ ।” उनका अनुसार अहिले बन्दरगाहको निर्माण कार्य धमाधम भइरहेको छ । कुल एक अर्ब ६६ करोड रुपियाँ लागतमा निर्माण भइरहेको सो बन्दरगाहको अहिलेसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको छ । विश्व बैङ्कको ऋण सहयोगमा यो बन्दरगाह निर्माण भइरहेको हो ।
सन् २०१० देखि नै यो सुक्खा बन्दरगाह बनाउने सरकारी प्रयास सुरु भए पनि लामो समय सफल हुन सकेको थिएन ।

नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह निर्माण गर्न लागेको हो । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोड्ने भावी योजना सरकारको छ । मुलुकको व्यापार प्र्रवद्र्धनका लागि अहिले आवश्यक व्यवस्थापनको समस्या रहेकाले सोको समाधानका लागि चोभारको सुक्खा बन्दरगााहलाई सरकारले उच्च प्राथमिकतामा राखी निर्माण कार्यलाई तीव्रता दिएको उनले बताए ।

निजी क्षेत्रका समेत गुनासालाई सम्बोधन गर्दै उनीहरूकै हितमा हुने गरी निर्माण प्रक्रिया अगाडि बढाइएको उनले बताए । ढकालका अनुसार अहिले बन्दरगाहको भुइँतला निर्माण, प्रशासनिक भवन निर्माण, बन्दरगाहको क्षेत्रफलमा बार लगाउनेजस्ता काम सुरु भइसकेको छ । स्थानीय आमनागरिकको सहयोग र समर्थनमा नै बन्दरगाहको निर्माण कार्यलाई तीव्रता दिइएको
उनले स्पष्ट पारे । अब स्थानीय नागरिकबाट कुनै किसिमको अवरोध वा गुनासो नरहेको उनले बताए ।

काठमाडौँ सुक्खा बन्दरगाह निर्माण आयोजनाका प्रमुख युवक डङ्गोलले सुक्खा बन्दरगाह निर्माणको मुख्य काम नै ‘बेस’ र भवन निर्माण रहेको बताउँदै अहिले ‘बेस’ र भवनको जग निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार अहिलेसम्म सामान भण्डारण गरिने भवनहरू, बन्दरगाहको प्रशासनिक भवन र भन्सार भवनको जग हाल्ने काम सम्पन्न ‘व्याक फिलिङ’को काम भइरहेको छ । बन्दरगाह निर्माण कार्य ‘इन्टरनेसनल कन्ट्र्याक्ट विडिङ (आईसीबी)’ र ‘नेसनल कन्ट्र्याक्ट विडिङ (एनसीबी)’बाट भइरहेको छ ।

‘आईसीबी’अन्तर्गत चिनियाँ निर्माण कम्पनी चाङची आरसी (जेभी)ले र ‘एनसीबी’अन्तर्गत लुम्बिनी न्यौपाने विल्डर्स (जेभींं)ले निर्माणको जिम्मा पाएका छन् । सुक्खा बन्दरगाह सञ्चालनले भन्सार प्रक्रियामा सहजीकरण गर्नुका साथै ‘क्वारेन्टाइन’ जाँचका लागि समेत एकै ठाउँबाट सेवा उपलब्ध हुने गर्दछ । व्यापारको लागत कम गर्नुका साथै व्यापार प्रक्रियालाई समेत सहजीकरण गर्ने गर्दछ । ‘क्वारेन्टाइन’लगायत जाँचका प्रक्रियाका लागिसमेत एकै ठाउँमा सबै सेवा उपलब्ध हुने गर्दछन् ।

चार तहमा कन्टेनर राख्न सकिने गरी आधुनिक
प्रविधियुक्त यो बन्दरगाह निर्माण भइरहेको हो । बन्दरगाहमा चार तलाको २२० वटा स्लट रहनेछन् । कुल ५५३ कन्टेनर राख्न मिल्ने गरी एक हजार तीन सय स्क्वायरका चारवटा वेयर हाउसको व्यवस्था गरिनेछ । कोलकाता, विशाखापट्टनम र रसुवा नाकाबाट सामान बोकेर आउने कन्टेनरहरू यहीँ बन्दरगाहमा जाँच गरी पठाइनेछ । यो बन्दरगाह सञ्चालनसँगै अहिलेसम्म सामान आयातमा लाग्दै आएको समय र लागतमा उल्लेखनीय रूपमा कमी आउने विश्वास सरकारको छ ।

मन्त्रालयका सहसचिव ढकालका अनुसार चोभारमा सुक्खा बन्दरगाह निर्माण भइसकेपछि काठमाडौँ आउने मालवाहक सवारी साधनहरू वीरगञ्जमा रोकी भन्सार जाँच गराउनु पर्दैन, सीधै काठमाडौँ आइपुग्नेछ र यहाँ नै ती मालवाहक सवारी साधनहरूको भन्सार जाँच हुनेछ । अहिले काठमाडौँका लागि आउने मालवाहक सवारी साधनहरूको वीरगञ्जमै सिल तोडेर जाँच गर्ने गरिन्छ । यो बन्दरगाह निर्माणपछि भारत र चीनको बन्दरगाहबाट काठमाडौँ आउने कन्टेनरको सिल काठमाडौँमा तोडेर भन्सार जाँच पास गरिनेछ । बन्दरगाह बन्ने भएपछि बल्खुबाट चोभारसम्मको सडक पनि छ लेनको बन्नेछ ।

विगतमा हिमाल सिमेन्ट उद्योगले उपभोग गरेको करिब एक हजार ५४ रोपनी जग्गामध्ये २२५ रोपनी जग्गामा सुक्खा बन्दरगाह निर्माण हुन लागेको हो । बाँकी आठ सय रोपनीमा अन्तर्राष्ट्रिय प्रदर्शनी कक्षसमेत निर्माण गरिनेछ । यसमा एउटा आकाशेपुलसमेत निर्माण गरिने जानकारी उनले दिए । हिमाल सिमेन्टको नाममा रहेको सो जग्गा अहिले नेपाल सरकारको नाममा आइसकेको छ । यो बन्दरगाह निर्माणका लागि नेपाल सरकार र विश्व बैङ्कबीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै यो बन्दरगाह बनाइसक्नुपर्ने थियो ।

सरकार र विश्व बैङ्कबीच भएको सो सहमतिअनुसार विश्व बैङ्कले नेपाललाई सहुलियत दरमा ऋण उपलब्ध गराउने छ । यसअघि भैरहवाको यार्ड विस्तार, वीरगञ्जको सेज, कोलकाता-काठमाडौँ करिडोर मनिटरिङ, वीरगञ्ज–काठमाडौँ ब्रोडर क्रसिङ निर्माणका लागि एक करोड ५५ लाख अमेरिकी डलर ऋण सहयोग दिने सहमति नेपाल र विश्व बैङ्कबीच भएको थियो । सरकारले काठमाडौँको भृकुटीमण्डपमा रहेको प्रदर्शनी केन्द्र साँघुरो भएको भन्दै आर्थिक वर्ष २०७०/७१ को बजेट वक्तव्यमा हिमाल सिमेन्ट कारखानाको जग्गामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बनाउने घोषणा गरेको थियो ।

डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते सो बन्दरगाह निर्माणको शिलान्यास गरेका थिए । शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यो बन्दरगाह सञ्चालनले विदेशी सामान आयात गर्न मात्रै होइन, स्वदेशी सामान निर्यात गर्ने ढोकासमेत खुल्ने विश्वास व्यक्त गरेका थिए ।

छ वटा सुक्खा बन्दरगाह सञ्चालनमा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ढकालका अनुसार अहिले मुलुकभरि आठवटा सुक्खा बन्दरगाह निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । आठमध्ये छवटा सञ्चालनमा आइसकेको छ भने दुईवटा निर्माणको क्रममा छन् । वीरगञ्ज, तातोपानी, भैरहवा, विराटनगर र काँकडभिट्टा, दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा रहेका छन् भने काठमाडौँको चोभार र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माणाधीन अवस्थामा छन् । गोरखापत्र दैनिकबाट