काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समावेशी समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी गर्नुभएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले बजेट संविधानको मर्मविपरीत आएको भन्ने विपक्षी दलहरूको आरोप अस्वीकार गर्नुभयो। बजेटले आर्थिक वृद्धि र समानताबीच सन्तुलन कायम गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ।
अर्थमन्त्री वाग्लेले सरकारले ‘ग्रोथ विथ इक्विटी’ अर्थात् समानतासहितको आर्थिक वृद्धिको अवधारणालाई प्राथमिकता दिएको उल्लेख गर्दै समन्यायिक समुन्नति र समृद्धि हासिल गर्ने उद्देश्यका साथ कार्यक्रमहरू अघि सारिएको बताउनुभयो।
उहाँले बजेटमा ‘समाजवाद’ शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेण्डालाई व्यवहारमा उतार्ने प्रयास गरिएको जिकिर गर्नुभयो। सरकार आफ्नो पाँचवर्षीय प्रतिबद्धता र जनताबाट अनुमोदित एजेण्डाप्रति दृढ रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त र प्राथमिकता तथा बजेटबीच उच्च स्तरको सामञ्जस्य रहेको दाबी गर्नुभयो।
“हामीले जनतासँग गरेका वाचा र जनताले अनुमोदन गरेको एजेण्डालाई केन्द्रमा राखेर कार्यक्रमहरू अघि बढाएका छौं। नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेटबीच अभूतपूर्व संगति छ,” उहाँले भन्नुभयो।
उहाँले नेपालको विगतको राजनीतिक अभ्यास वामपन्थी विचारधाराबाट प्रभावित रहेको उल्लेख गर्दै त्यसबाट प्रेरणा लिइएको भए पनि बजेट संविधानविपरीत नभएको स्पष्ट पार्नुभयो।
अर्थमन्त्री वाग्लेले विपक्षी दलहरूलाई आफ्नो दलको एजेण्डाअनुसार बजेट नआएको भन्दै आलोचना गर्ने अधिकार रहेको उल्लेख गर्दै बजेटले समता र सामाजिक न्यायका मूल मान्यतालाई अघि बढाएको दाबी गर्नुभयो।
तस्बिरः गोपाल दाहाल/रासस












