०७२ साल वैशाख १२ गतेको रात मानिसहरू आ–आफ्ना शयनकक्ष छाडेर चौरमा हानिए । खुला आकाश हेरेर सुते । यो इतिहासमै नेपालीहरूले गरेको सबैभन्दा ठूलो टेन्टेड क्याम्प थियो । सबै खुला आकाशमुनि आएको दिन । एक हिसाबले भन्ने हो मानिसहरूको भ्रम च्यातिएको दिन थियो त्यो । महलमा बस्दैमा, गाडी चढ्दैमा, खाली जमिनलाई हेला गर्नेहरूलाई चौरले गिज्याइरहेको थियो । ‘देख्यौ पासा आखिरमा मै त रहेछु नि दुःखमा काम लाग्ने,’ भन्दै थिए चौरहरू । चौर अरू वेला फोहोर थुपार्ने र कुकुरलाई शौच गराउने ठाउँ थियो । त्यस रात शयनकक्ष बन्यो । मानिसहरूले थाहा पाए सबैभन्दा सुरक्षित खुला जमिन रहेछ । त्यो रात आकाश कति शान्त देखिन्थ्यो अनि धर्ती कति अशान्त ।
लामखुट्टे इतिहासमै सबैभन्दा बढी रमाएको समय थियो त्यो । हरेक दिन लामखुट्टेहरू भोज गर्थे । हाम्रो रगतको चुस्की लिन्थे । कैयौँ पेग रगतको चुस्की लिएपछि सायद ती कतै गएर मस्त निदाउँथे वा धेरै धोकेपछि कोही सिद्धिन्थे । कतिले त पेग लिँदालिँदै आक्रमणमा परेर देहत्याग पनि गरे होलान् । जमिन हल्लिँदा निधन भएका हजारौँ मानिसहरूको सूचीमा आफ्नो नाम नपरेकामा बाँचेका मानिसहरू त्यही खुल्ला जमिनमा लम्पसार परेर आकाश हेर्दै भगवानलाई धन्यवाद दिइरहेका थिए । लामखुट्टेको टोकाइ त्यो डरका अगाडि के नै थियो र । त्यो समय खुला जमिन कति प्रिय थियो । त्यो बाध्यताको पिकनिकमा हामीलाई सहरका बेचेखुचेका खुला जमिनले कत्रो राहत दिएका थिए ।
कचौराजस्तो उपत्यकाको पिँध लगभग भरिइसक्यो । सहर बेलगाम फैलिरहेछ । हालैको एक अध्ययनले भन्छ– उपत्यकामा सन् २००० मा झन्डै ६४ वर्गकिलोमिटर क्षेत्रफलमा बसोवास थियो । सन् २०१८ मा त्यो बढेर लगभग १५० वर्गकिलोमिटर पुगेको छ । दुई दशकमा साढे दुईगुणाको वृद्धि । काठमाडौं विश्वमै सबैभन्दा उच्च गतिमा सहरीकरण भइरहेका १० सहरको सूचीमा पर्छ । बागमतीले बनाएका फाँटहरूमा बिस्तारै घरहरू फल्दै छन्, अहिले त्यो चोभार काटेर दक्षिण झरिसक्यो । बागमतीले उपत्यका छाड्दा बनाएको गहिरो खोँचले चोभार र भैँसेपाटीलाई छुट्याइदियो ।
चोभारको पूर्वमा बागमतीको देब्रे किनारबाट उचालिएको जमिनको थाप्लोमा फराकिलो फाँट छ, त्यसको नाम भैँसेपाटी । पहिला भैँसीपाटी अहिले मान्छेपाटी । त्यही थाप्लाको पश्चिममा ठूलो चौर छ । जो कसैले त्यहाँ पुग्नेबित्तिकै भन्छ, ‘यो जमिनमा अहिलेसम्म कसैको आँखा लागेको छैन ?’ त्यही चौरको छेउमा हामी सरेको ४८ घन्टापछि हिमालय पर्वत घरक्क भयो । जमिन वेगले हल्लियो । त्योभन्दा वेगले हाम्रो तनमन हल्लियो । हामी पनि बिस्तारा बोकेर त्यही चौरमा पुगेका थियौँ । उत्तानो परेर आकाश हेरेका थियौँ । सोधेका थियौँ– किन आकाश हल्लिरहेको छैन ? अनि धर्ती किन काँपिरहेको छ ?
जब मानिसहरू भुँइचालोपछि चौरभरि सुतिरहेका थिए, यस्तो लाग्थ्यो– हामी सुतेको चौर सामूहिक बगैँचा हो । अब सबैले माया गर्नेछन् । खुला जमिनको महत्व हामी सबैले बुझ्यौँ । तर, सोचेजस्तो कहाँ हुन्छ ? त्यसको केही दिनपछि फेरि मानिसहरूले आफू सुतेको चौर बिर्से । अरूको त कुरै छाडौँ, पढेलेखेका, राम्रै आम्दानी भएका, स्वघोषित सभ्य मानिसहरू कुकुरलाई शौच गराउन त्यही चौरमा यताउता गर्न सुरु गरिहाले । यी तिनै मानिस हुन् जो त्यसको केही बेरपछि आफ्नै कुकुरको आची चिल्ला गाडीले कचक्क पारेर कार्यालय जान्छन् । यस्तो देख्दा आफैँलाई धिक्कार्दै सोध्न मन लाग्छ– के मान्छे साँच्चै बुद्धिमान् प्राणी हो ?
मानिस राम्रो घरमा बसेको छ । राम्रो गाडी चढ्छ । राम्रा कपडा लगाएको छ । राम्रो जागिर खान्छ होला, तर पनि आफैँ हिँड्ने बाटो, अरू बस्ने चौरमा कुकुरलाई शौच गराउँदा ऊ पटक्कै लाज मान्दैन । भुइँचालो गइहाल्यो भने त्यही मान्छे फेरि आफ्नै कुकरको गुहुमा सुत्न आउनुपर्छ भन्ने पनि हेक्का राख्दैन । मान्छेले कहिले चेत्छ ? किन ऊ यति सामान्य कुरा पनि बुझ्दैन ? यस्तै प्रश्न गर्दै म भुइँचालोपश्चात् सुतेको चौरको सयौँपटक फेरो मार्थे । त्यही अहिलेसम्म आँखा नलागेको जमिनमा केही समयअघि प्रधानमन्त्रीजी हुइँकिएर गए र भने, ‘अब यहाँ हाम्रा मन्त्री सुत्छन् ।
यो चौरमा सयौँ घर बनाइनेछ । त्यहाँ अहिले काम नपाएर हल्लिरहेका प्रदेशका मुख्यमन्त्रीजीहरूलाई निवास बनाएर भुलाइनेछ । अनि ललितपुरको पुल्चोकमा रहेको मन्त्रीनिवासमा मन्त्रीजीहरूलाई काम गर्न गाह्रो भयो । यस्तो उकालो लागिरहेको देशका मन्त्रीजीहरू पुराना घरहरूमा कुचुक्क परेर बसेको पटक्कै सुहाउँदैन । त्यसैले आधुनिक महलहरूमा मन्त्रीजीहरूलाई बसाइनेछ ।
यो सहर हामी सबै मिलेर बिगार्यो । सहर भनेको घर र बाटा भन्ने बुझ्यौँ । नदीमा गुहु बगायौँ, हावामा धुवाँ । जमिनमा पिलर गाड्यौँ, रूखमा आरा लगायौँ । जता जता खाली जग्गा देख्यौ उतै महल ठड्यायौँ । होइन, हामीले यो कस्तो सहर बनायौँ ? हामीले किन यति चाँडै भुइँचालो बिर्सियौँ ? किन यति चाँडै हामीमा अहम् जाग्यो ? सय वर्षअघि होइन ।
दश वर्षअघि पनि होइन । जम्मा चार वर्षअघिको कुरा हो यो, हामी सबै चौरमा सुतेको । व्यक्तिले त लौ बिर्सियो, तर सरकारले त सामूहिक हितको वकालत गर्छ भन्ने लागेको थियो यद्यपि लाग्नु एउटा कुरा हो, हुनु अर्को कुरा । सोचेको थिएँ– कम्तीमा खुम्चिँदै गएको खुला जमिनमा सरकारले पार्कहरू बनाउनेछ । अर्को विपद्मा फेरि काम लाग्ने ती खुला जमिनलाई मास्नेछैन ।
भूमाफियालाई तह लगाएर सरकारले खुला जमिनको रक्षा गर्ला । हरेक वर्ष सरकारले भन्नेछ– हामीले यो वर्ष यति पार्क बनायौँ । हामीलार्ई भुइँचालोले सिकायो । तर, सरकारलाई त त्यो खुला चौर देखेर असह्य भइरहेको रहेछ । अरूलाई सिकाउनुपर्ने मन्त्रीजीहरू यो चौर मास्नमा कसिने भए । प्रधानमन्त्रीले पर्सिएको यो खुला जमिन छिट्टै काटिनेछ । त्यसमा राता–निला मन्त्रीनिवास बन्नेछन् । झन्डा फहराइनेछन् । साइरनजडित गाडीहरू हुइँकनेछन् । म र छोरी खेलेको त्यो चौर एक सम्झनामा मात्रै हुनेछ । ज्या के भयो यस्तो ।
केही समयअघिदेखि नै मन्त्रीनिवास बन्ने खबरले जग्गा कारोबारीहरू खुब रमाएका थिए । बग्रेल्ती क्याफे खुलेका छन् भैँसेपाटीमा अहिले । काठमाडौंको ठमेलपछि ललितपुरको झम्सीखेल झमेल भयो, अब भैँसेपाटी भमेल बन्नेवाला छ । तीन वर्षमा जग्गाको मूल्य तीनगुणा बढी भइसक्यो । मन्त्रीजीहरू आएपछि त झन् कति गुणाले बढ्ने हो, थाहा छैन । केही समयअघि एउटा क्याफेमा बसेर कफी खाँदै थिएँ, छेउको मानिसले फोनमा कुरा गर्दै भने, ‘म दलचोकमा छु, तँ यतै आइज ।’ खासमा उनी भैँसेपाटी आवासको गेटनजिकै थिए । उनले फोन गरेका मानिस केही बेरमा आइपुगे र भने, ‘के हो नाम नै फेरिदिएको यो ठाउँको, दलचोक रे ।’ उत्तर फर्कियो, ‘ल हेर उः त्यहाँ रूखको छेउमा अहिले एउटा जग्गा बैना भइरहेछ । हरेक दिनजसो यहाँ दुई–चार जग्गा बैना भइरहेका हुन्छन् । त्यसैले मैले दलचोक भनेको ।’

वास्तवमा त्यो खुला जमिन नै त्यो ठाउँको सुन्दरपक्ष थियो । सय रोपनी बढी क्षेत्रफलको खाली जग्गा रिङरोडभित्र त अब कल्पना नै भइसक्यो । रिङरोड बाहिर पनि खाली जग्गा भेट्न मुस्किल पर्दै गएका वेला लागेको थियो– भुइँचालोको सम्झनामा सरकारले आफ्नो यो जग्गाबाट पार्क बनाउने अभियान सुरुवात गर्ने छ । तर, कस्तो सोझो नागरिक म, हरे ? त्यस्तो असामान्य कुरा सोच्ने आँट मैले कसरी गरेँ ? के मैले ठूलो अपेक्षा गरेँ वा म निकै भावुक भएँ ?
दलचोकका कारोबारीहरू गद्गद् भए पनि प्रधानमन्त्रीले शिलान्यास गरेदेखि मन अशान्त भएको छ । न त मलाई मन्त्रीजीहरू आउने कुराले हर्ष छ, न त घरजग्गाको मूल्य बढेकोमा खुसी । बरु मलाई चौर मासिएकोमा दुःख लागेको छ र त्योसँगै मन्त्रीजीहरूको सवारीको डरले मन उत्तिकै पिरोलिएको छ । मन्त्रीजीहरूको सुरक्षामा प्रहरीको पहरा बढ्नेछ । आखिर हाम्रो प्रहरी मन्त्री–नेताजीकै लागि हुन् भन्ने कुरा पटक–पटक प्रमाणित भई नै सकेको छ । त्यसलाई भिआइपी एरिया घोषणा गरिनेछ । चकाचक हुनेछ । म पनि एकदम खुसी हुनुपर्ने । आफैँलाई सुरक्षित ठान्नुपर्ने, तर मन पट्क्कै खुसी छैन । एकातिर खुला चौरको नाश अर्कातिर मन्त्रीजीहरूको त्रास । किन म मेरै नेताहरूसँग यति डराइरहेछु ? के यो जरुरी छ ? आफैँलाई प्रश्न गर्छु ।
म डराउनुका अरू पनि थुप्रै कारण छन् । मलाई मन्त्रीजीहरूको गाडीमा जडित साइरनको आवाजले अहिले नै तर्साइरहेको छ । प्रहरीका जवानहरूले बन्दुक तेस्र्याएर मतिर फर्की तर्ने आँखाले मलाई त्रसित गरिरहेछ । मन्त्रीजी सवार हुने सवारीको वेगले त्यो चौरको वरिपरि खेल्ने, साइकल चलाउने केटाकेटीलाई कतै सुइँकाउला कि भन्ने डरले म अहिले नै आत्तिइसकेको छु ।
मन्त्रीजीलाई कम्ता हतार हुँदैन । देश बनाउन तल्लीन मन्त्रीजीहरू आँधीहुरीको वेगमा आउने–जाने गर्छन् । म अहिलेदेखि नै कायल छु । आफ्नै नेता–मन्त्री आउँदा किन मलाई स्वागत गर्न मन लागिरहेको छैन ? अहिले नै पनि भैँसेपाटीमा कति नेता–मन्त्री बस्छन् । रामोराम ढाँटेको होइन, उनीहरूलाइ देख्दा मलाई नमस्ते गरौँजस्तो पटक्कै लाग्दैन । किन म उनीहरूलाई देखेपछि नमस्ते गर्नुपर्ला कि भनेर अर्कातिर मोडिन्छु ?
किन हातहरू उचालिन्नन् ? किन आशा जाग्दैन ? के मलाई मात्रै यस्तो भएको हो कि अरूलाई पनि भइरहेको छ ? के म निराशावादी भएँ ? त्यस्तो नुहुनुपर्ने । अहिलेसम्म सबै कुरा बुझेर यही बसेको मानिस कसरी निराशावादी हुन सक्छ ? हामीले बनाएका नेता–मन्त्री देखेर हामीलाई यस्तो अत्यास किन लागिरहेको छ ? के म फेरि भावुक मात्रै भएको हुँ ? म बुझ्दिनँ । आफैँलाई प्रश्न गर्छु । यो देशमा प्रश्न मात्रै गर्ने हो, उत्तर कसैले दिँदैन भन्ने थाहा पाई–पाई पनि प्रश्न गर्न मन लाग्छ ?
मिल्छ भने मन्त्रीजी तपाईं नआउनुस् । त्यो खाली जग्गामा पार्क बनाउनुस् । कहिलेकाहीँ टहल्न आउनुस् । बिन्ती मात्रै गर्न खोजेको हो । यसै पनि यो लोकतन्त्रको युगमा नागरिकले बिन्तीभन्दा माथि केही गर्न पाएकै कहाँ छ र ? अरू के नै भनौँ र मन्त्रीजी, चौर त गइगयो, तर तपाईं आउने नै भए पनि हाम्रो सातो नलिनुस् । हामी सुतेको चौरमा अब तपाईं भोज गर्नुस् । मोज गर्नुस्, तर हामीलाइँ आतंकित नपार्नुस् । नागरिकको जय त कहिल्यै भएन, तपाईंको जय होस् ।
नयाँ पत्रिकाबाट












