काठमाडौं । भारतको महाराष्ट्रमा भारतीय जनता पार्टी (भाजपा)ले पूर्ण बहुमत हासिल गर्ने संकेत ‘एक्जिट पोल’ ले देखाएको थियो । देशमा नरेन्द्र मोदीको नेतृत्वप्रति जनलहर बढेको र मोदी नेतृत्वको जादु कायम रहेको ठान्नेहरुले महाराष्ट्रमा भाजपा एक्लैले सहज बहुमत पाउने अनुमान गर्नु अस्वाभाविक थिएन । निर्वाचन परिणाम सोचेअनुसार आएन । भाजपाले विगतको तुलनामा २० सिट गुमाउँदा शिवसेनासँगको समग्र गठबन्धनले २४ सिट गुमाएको छ । अर्थात्, शिवसेना लगभग पुरानै अवस्थामा रहँदा भाजपालाई प्रत्यक्ष नोक्सान भएको छ ।

महाराष्ट्रमा लामो समयदेखि भाजपा–शिवसेना गठबन्धनको प्रभाव रहँदै आएको छ । २५ वर्ष पुरानो यो गठबन्धन बीचमा केही समयका लागि टुटेको थियो । सन् २०१४ को विधानसभा निर्वाचनमा शिवसेनाले भाजपासँगको गठबन्धन तोडेर चुनावमा प्रतिश्पर्धा गरेको थियो । सन् २०१४ मा आफ्नै बलबुतामा चुनाव लड्नु र अहिले भाजपासँग गठबन्धन गर्नुमा शिवसेनालाई तात्विक भिन्नता देखिएको छैन । किनकि शिवसेनाले अहिले पनि सन् २०१४ कै हाराहारीमा सिट पाएको छ । भाजपा भने १२२ बाट १०२ सिटमा झरेको छ ।
चुनाव नतिजाले महाराष्ट्रमा फेरि उही गठबन्धनलाई निरन्तरता दिएको भए पनि अघिल्लो निर्वाचनको तुलनामा सत्तारुढ गठबन्धनले केही सिट गुमाएको छ । मतदातामा भाजपा–शिवसेना गठबन्धनप्रति त्यति रुची नभए पनि अन्य विकल्प त्यति गतिलो नहुँदा यो गठबन्धनले फेरि सरकार बनाउने अवसर पाएको हो । लोकसभा निर्वाचनमा कंग्रेस र उसको गठबन्धन नराम्ररी पराजित भएको थियो । महाराष्ट्रको निर्वाचनमा भने विपक्षी गठबन्धनले अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि अघिल्लो निर्वाचनको तुलनामा केही सिट बढाएका छन् । सरकार बनाउन नपाए पनि बलियो विपक्षीका रुपमा कांग्रेस नेतृत्वको गठबन्धनले उपस्थिति जनाएको छ ।
शिवसेनाको हुँकार
महाराष्ट्रलाई राजनीतिको आधारथलो बनाएको हिन्दुवादी राजनीतिक दल शिवसेनाले सहयात्री दल भाजपालाई निर्वाचन परिणामलगत्तै व्यंग्य प्रहार गरेको छ । आफ्नो मुखपत्र ‘सामना’मा सम्पादकीयमार्फत शिवसेनाले भनेको छ, ‘अब सत्ताको ध्वाँस चल्दैन ।’
चुनाव परिणामले ‘सत्ताधारी’लाई पाठ सिकाएको शिवसेनाको टिप्पणी छ ।
घट्यो भाजपाको प्रभाव
केन्द्रमा दोस्रो कार्यकाल सरकारको नेतृत्व गरेका मोदीले भारतीय जनता पार्टीलाई एउटा नयाँ उचाईमा पु¥याएकै हुन् । तर यो निर्वाचनमा भाजपाले त्यति सफलता पाउन सकेन ।
मोदीकै निकै ठूलो प्रभाव भएको गुजरात राज्यमा समेत भाजपाले आफ्नो प्रभाव गुमाउँदै आएको छ । यो पटक गुजरातमा ६ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले तीन सिट कब्जा गरेको छ ।
बिहारमा पाँच सिटका लागि भएको निर्वाचनमा भाजपा–जदयु गठबन्धनले एक सिटमात्र जितेको छ । असमको चार सिटमा भएको निर्वाचनमा भाजपाले तीन सिट जितेको छ ।












