काठमाडौँ। नेपाली काँग्रेसले आफ्ना नेतृत्वमा रहेका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्य गर्न निर्देशन दिएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी सभापति गगनकुमार थापाले यस्तो निर्देशन दिनुभएको हो ।
स्थानीय सरकारले सम्पादन गर्नुपर्ने मुख्य कार्यहरूमध्ये विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै पार्टीले विशेष मार्गनिर्देशन प्रदान गरेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार स्थानीय तहले विपद् व्यवस्थापनका सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिका र गर्नुपर्ने कामहरूलाई स्पष्ट रूपमा वर्गीकरण गरी सोही बमोजिम अगाडि बढ्न आग्रह गर्नुभयो ।
पार्टीको सांगठनिक सुदृढीकरण र सदस्यता वितरणको सन्दर्भमा चर्चा गर्दै सभापति थापाले नेपाली काँग्रेस मुलुककै सबैभन्दा ठूलो सामाजिक संस्थाको रूपमा रहेको उल्लेख गर्नुभयो । पार्टीको यो विशाल सञ्जाललाई विपद् जोखिम न्युनिकरण र सचेतनाका लागि परिचालन गरिने लक्ष्य राखिएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपाली काँग्रेस पार्टीले स्थानीय सरकारहरूलाई यसपटक हामी जहाँ–जहाँ सरकारमा छौँ, त्यहाँका सबै स्थानीय तथा प्रदेश सरकारलाई विपद् व्यवस्थापनलगायत स्थानीय सरकारले गर्नुपर्ने प्रमुख कामहरूबारे स्पष्ट रूपमा निर्देशन दिएका छौँ । ती कामहरूमा विपद् व्यवस्थापन पनि समावेश छ । विपद् व्यवस्थापनको विषयमा विशेष रूपमा ‘यी–यी कामहरू गर्नुपर्छ, यसरी गर्नुपर्छ’ भनेर हामीले उहाँहरूलाई बताएका छौँ । हामी सरकारमा हुँदा मात्र होइन, सरकारबाहिर हुँदा पनि यस्ता विषयमा सक्रिय रहन्छौँ । जस्तै, आजै हामी सदस्यतासम्बन्धी बैठक गरिरहेका थियौँ । यसपटक करिव साढे ६ लाखदेखि ७ लाखसम्म सदस्य दर्ता हुनुभएको छ । सबै प्रक्रिया पूरा हुँदा यो संख्या ८ लाखदेखि ९ लाखसम्म पुग्नेछ । यसरी हेर्दा, नेपाली काँग्रेस नेपालको सबैभन्दा ठूलो सामाजिक संगठन पनि हो । यदि हामीले ‘विपद्सम्बन्धी विषयमा सबैलाई सचेत बनाऔँ’ भन्ने अभियान सञ्चालन ग¥यौँ भने, एकैपटक ८-९ लाख मानिसलाई सचेत बनाउन सक्छौँ ।’
९ लाख सदस्यलाई एकैसाथ सचेत र प्रशिक्षित बनाउन सके विपद् व्यवस्थापनको क्षेत्रमा ठूलो राष्ट्रिय योगदान पुग्ने सभापति थापाको भनाइ छ । सदस्यता सम्बन्धी बैठकका क्रममा उहाँले पार्टीको शक्तिलाई सामाजिक उत्तरदायित्व र विपद् व्यवस्थापनमा केन्द्रित गरिने स्पष्ट पार्नुभयो ।–न्युज एजेन्सी नेपाल












