२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा



अ+ अ-

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा प्रवाह सहजकर्ता परिचालन कार्यविधि’को मस्यौदा सार्वजनिक गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै मस्यौदामा सरोकारवाला तथा सर्वसाधारणबाट राय, सुझाव र प्रतिक्रिया आह्वान गरेको छ ।

मन्त्रालयका अनुसार उच्च शिक्षा हासिल गरेका युवालाई शासकीय प्रणाली, विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष रूपमा जोड्दै व्यावहारिक सिकाइको अवसर प्रदान गर्ने लक्ष्यसहित कार्यविधि तयार गरिएको हो । कार्यविधिले सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

सरकारी कार्यालयमा आउने सेवाग्राहीलाई सेवा प्राप्तिको क्रममा हुने अन्योल, झन्झट तथा अनावश्यक समय खर्च कम गर्दै सेवाप्रतिको पहुँच विस्तार गर्न सहजकर्ताको भूमिका रहने उल्लेख गरिएको छ ।

मस्यौदामा सहजकर्ताको छनोट, योग्यता, कार्यसम्पादन, आचारसंहिता तथा जिम्मेवारीका विषयमा समेत व्यवस्था गरिएको छ । सहजकर्ताले सेवाग्राहीलाई आवश्यक जानकारी उपलब्ध गराउने, सेवा प्रक्रियामा सहजीकरण गर्ने, गुनासो व्यवस्थापनमा सहयोग पुर्याउने तथा सेवा प्रवाहसम्बन्धी अभिलेख व्यवस्थापनमा समेत सहकार्य गर्ने जिम्मेवारी पाउने प्रस्ताव गरिएको छ ।

साथै युवाहरूमा सेवाभाव, नागरिक उत्तरदायित्व र राष्ट्रप्रतिको दायित्वबोध अभिवृद्धि हुने विश्वास मन्त्रालयको छ । मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामाथि सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सुझाव पेस गर्न सकिने जनाइएको छ ।

मन्त्री प्रतिभा रावलले युवालाई सार्वजनिक प्रशासन र सेवा प्रवाहसँग प्रत्यक्ष रूपमा जोड्न मन्त्रालयले यो अवधारणा अघि सारेको बताउनुभयो । युवाको ऊर्जा, ज्ञान र क्षमतालाई सार्वजनिक सेवासँग जोड्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यविधि तयार गरिएको मन्त्री रावलको भनाइ छ ।

उहाँले मस्यौदामाथि प्राप्त सुझावलाई समेटेर कार्यविधिलाई अन्तिम रूप दिइने जानकारी दिँदै सबै सरोकारवालालाई सुझाव पेस गर्न आग्रह गर्नुभएको छ । रासस