काठमाडौँ। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा भारतको कोलकातामा ‘पोखरा–नेपाल प्रवद्र्धन अभियान २०२६’ अन्तर्गत बी–टु–बी (बिसनेस टु बिसनेस) नेटवर्किङ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमले पर्यटकीय नगरी पोखरा र भारतको कोलकाताबीच पर्यटन सहकार्यको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । हालैका वर्षहरूमा भारतीय पर्यटकको प्रमुख रोजाइमा पोखरा पर्न थालेपछि नाट्टा गण्डकीले ‘गर्मीमे चलो पोखरा’ भन्ने मूल नाराका साथ प्रवद्र्धनात्मक अभियान शुरु गरेको हो
। कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले पोखरालाई दक्षिण एशियाकै उत्कृष्ट गन्तव्यका रूपमा चित्रण गर्दै आगामी दिनमा थप पर्यटक पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोलकातास्थित नेपाली महावाणिज्यदुत झक्कप्रसाद आचार्यले पर्यटन केवल भ्रमणको माध्यम मात्र नभई नेपाल र भारतबीचको मित्रता, संस्कृति र आर्थिक समृद्धिको बलियो सेतु भएको बताउनु भयो ।
नेपाल र पश्चिम बंगालबीचको भौगोलिक निकटता तथा सांस्कृतिक समानताले पर्यटन विस्तारमा सहजता थपेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले भारतीय व्यवसायीहरूमा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरूप्रति उत्साहजनक चासो देखिएको बताउनु भयो । कार्यक्रम संयोजक संगीता पौडेलले कोलकाता र समग्र पश्चिम बंगाल नेपालका लागि उच्च सम्भावनायुक्त बजार रहेको औंल्याउँदै प्रत्यक्ष संवादले व्यावसायिक सहकार्यमा मद्दत पुग्ने धारणा राख्नुभयो ।
पोखरा पर्यटन परिषद्का निःवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र कोलकाताबीच सिधा हवाई उडान सञ्चालन गर्नसके दुवै शहरले आर्थिक र पर्यटकीय लाभ लिन सक्ने बताउनु भयो । यस्तै, नाट्टा गण्डकीका द्वितीय उपाध्यक्ष राजेश पहारीले नेपाल–भारत सडक सञ्जालमा भएको सुधारका कारण भारतीय पर्यटकहरू निजी सवारीसाधन वा भाडाका गाडीमार्फत सहजै पोखरा पुग्नसक्ने अवस्था सिर्जना भएको जानकारी दिनुभयो ।
ईटीएए इस्टर्न च्याप्टरका अध्यक्ष कौशिक बनर्जीले नेपाल र भारतबीचको खुला सीमा र सांस्कृतिक समानता पर्यटन विकासका लागि ठूलो अवसर भएको बताउनुभयो । कार्यक्रममा टूर अपरेटर्स वेलफेयर एशोसिएशन, इण्डियन एशोसिएशन अफ टुर अपरेटर्स र ट्राभल एजेन्ट्स एशोसिएशन अफ बंगाल लगायतका विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागी व्यवसायीहरूले पोखरा, मुक्तिनाथ, लुम्बिनी, चितवन र अन्नपूर्ण क्षेत्रलाई समेटेर संयुक्त पर्यटन प्याकेज निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरा र कोलकाताबीच सिधा हवाई सम्पर्क स्थापित भएमा पश्चिम बंगाल, बिहार र झारखण्ड क्षेत्रबाट पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने नाट्टा गण्डकीका महासचिव चेतन कार्कीले जानकारी दिनुभयो ।
प्रत्यक्ष संवाद र व्यावसायिक साझेदारीका माध्यमबाट भारतीय पर्यटकलाई पोखरातर्फ आकर्षित गर्न यो कार्यक्रम कोशेढुङ्गा सावित हुने पर्यटन व्यवसायीहरूको निष्कर्ष छ । –न्युज एजेन्सी नेपाल












