३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने दिशामा सरकारले काम थालेको बताउनुभएको छ। उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत त्यसको आधार निर्माण गरिएको र आगामी पाँच वर्षभित्र त्यसलाई सार्थक निष्कर्षमा पुर्‍याउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले पछिल्ला डेढदेखि दुई दशकसम्म नेपाली युवाहरू आफ्ना सपना साकार पार्न विदेश जान बाध्य भएको उल्लेख गर्दै अब त्यस्तो अवस्था दोहोरिन नदिने गरी बजेटमार्फत आवश्यक जग बसालिएको बताउनुभयो।

उहाँले बजेटको प्रभाव कार्यान्वयनपछि थप स्पष्ट हुने उल्लेख गर्दै युवाहरूलाई बजेटका व्यवस्था अध्ययन गर्न आग्रह गर्नुभयो।

अर्थमन्त्री वाग्लेले युवा उद्यमशीलता प्रवर्द्धनका लागि करमा सहुलियत, कर बक्यौता तथा विभिन्न प्रशासनिक झन्झटमा परेका उद्यमी–व्यवसायीलाई राहत दिने व्यवस्था, सरकारी प्रशासनको डिजिटलाइजेसन तथा सुशासनका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो।

उहाँका अनुसार करका दर घटाएर वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवालाई करसम्बन्धी झन्झटबाट मुक्त गर्ने व्यवस्था गरिएको छ।

यस्तै, करसम्बन्धी विवाद र बक्यौता समस्यामा परेका उद्योगी–व्यवसायीलाई नयाँ सुरुवात गर्ने अवसर प्रदान गर्ने उद्देश्यले बजेटमा विभिन्न सहुलियतपूर्ण व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

बजेट निर्माणका क्रममा युवाहरूको उद्यमशील सोच, नवप्रवर्तन र व्यवसाय विस्तारका सम्भावनालाई विशेष ध्यान दिइएको उल्लेख गर्दै उहाँले घोषणा गरिएका कार्यक्रमको अधिकतम लाभ लिन युवा तथा उद्यमीहरूलाई आग्रह गर्नुभयो।