लिमा। राष्ट्रपतीय निर्वाचनका लागि भएको मतगणनाको आंशिक परिणामले दक्षिणपन्थी प्रतिद्वन्द्वी केइको फुजिमोरीको सामान्य अग्रता देखाएपछि पेरुका वामपन्थी राष्ट्रपति पदका उम्मेदवार रोबर्टो सान्चेजका सयौँ समर्थकले शनिबार लिमामा विरोध प्रदर्शन गरेका छन् ।
गत आइतबार सम्पन्न दोस्रो चरणको मतदानको ९८.५ प्रतिशत मतपत्रहरू गणना गरिसक्दा करिब एक प्रतिशत बिन्दुको अन्तर देखिएको छ ।
फुजिमोरीले ५०.०५ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने सान्चेजले ४९.९५ प्रतिशत मत प्राप्त गर्नुभएको छ । एक करोड ८० लाखभन्दा बढी मतपत्र गणना हुँदा फुजिमोरी सान्चेजभन्दा १८ हजार ५०० मतले अगाडि हुनुहुन्छ ।
सान्चेजले शुक्रबार फुजिमोरीलाई राजधानी लिमामा अनियमितता भएको र विदेशबाट मतदान भएको आरोप लगाउँदै पुनः मतगणनाका लागि संयुक्त आवेदन गर्न सुझाव दिनुभएको छ।
शनिबार लिमा शहरमा सान्चेजको समर्थनमा भेला भएको भीडले ‘पेरूबासीको न्याय र सम्मानका लागि, फुजीमोरी कहिल्यै स्वीकार्य हुनेछैन’ भन्ने नारा लगाउँदै शहरका विभिन्न भागमा प्रदर्शन गरेको छ ।
उनीहरूले निर्वाचन अदालत, राष्ट्रिय न्यायाधिकरणको मुख्यालय परिसरबाहिर पनि नाराबाजी गरेका थिए ।
“यहाँ विजेता सान्चेज भएको र हामी यो न्यायालयले लोकप्रिय मत र जनताको इच्छाको सम्मान गरोस् भनेर मागसहित प्रदशैन गरिरहेका छौँ,” ५७ वर्षीय शिक्षक ड्यानियल सेरोनले एएफपीसँग भन्नुभयो ।
निर्वाचन अधिकारीहरूले निर्वाचन अदालतमा दायर गरिएका विवादित मतपत्रहरू जाँच गर्ने र समस्या समाधान गर्दै मतगणना अन्तिम चरणमा पुगेको बताएका छन् ।
तर अन्तिम परिणाम अझै दुई हप्तासम्म थाहा हुन नसक्ने निर्वाचन प्राधिकरणका प्रमुखले बताउनुभएको छ ।
धेरै मतदाताहरूले राष्ट्रपतीय चुनावले वर्षौंको राजनीतिक अराजकतामा हटाउने विश्वास गरिएको थियो । करिब एक दशकको अवधिमा यहाँ आठ जना राष्ट्रपतिहरू निर्वाचित भएका थिए भने उनीहरूमध्ये अधिकांशले जनअपेक्षा अनुरूप काम नगरी भ्रष्टाचार र बेथितिलाई सम्बोधन गर्न असफल भएपछि विभिन्न अभियोग लगाई पदच्युत गरिएको थियो । यो निर्वाचनबाट निर्वाचित हुन्छ ऊ एक दशकमा नवौं राष्ट्रपति बन्नेछ । यो निर्वाचनले उपराष्ट्रपति तथा सांसदहरूको पनि टुङ्गो लगाउनेछ ।
तर कडा प्रतिस्पर्धात्मक परिणामले दक्षिण अमेरिकी राष्ट्र पेरूमा तटीय, अधिक ग्रामीण इलाका र आदिवासी समुदायको बसोबास रहेको देशको दक्षिणको जनसङ्ख्यालाई गम्भीररूपमा विभाजित गरेको देखिन्छ । (रासस/एएफपी)












