काठमाडौं उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न थालिएको छ । प्रधानमन्त्री कार्यालयले निर्देशन दिएसँगै खाल्डा पुर्न थालिएको हो । प्रधानमन्त्री कार्यालयले २८ असोजमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), केयुकेएलअन्तर्गतकै आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), सडक विभागलगायत निकायलाई बोलाएर खाल्डा पुर्न निर्देशन दिएको थियो । अहिले सबै निकायले खाल्डा पुर्न थालेका छन् ।
‘प्रधानमन्त्री कार्यालयमा भएको छलफलपश्चात् अहिले सडकका खाल्डाखुल्डी पुर्न थालेका छौँ,’ आयोजना कार्यान्वयन निर्देशनालयका कार्यबाहाक निर्देशक भोजविक्रम थापाले भने, ‘पिआइडी, केयुकेएल र सडक विभागले खाल्डाखुल्डी पुर्ने र पाइप मर्मत गर्ने काम गरिरहेका छन् ।’

उनका अनुसार सडकका केयुकेएलले चुहावट नियन्त्रण र पाइप मर्मतसँगै सडक मर्मतको काम गरिरहेको छ । विभागले आठ मिटरभन्दा माथिका सडकमा र पिआइडीले मेलम्ची खानेपानी अयोजनाका पाइप बिछ्याउने क्रममा खनिएका सडक मर्मत गरिरहेको छ । पिआइडीले खाल्डा पुर्न विभागलाई ८५ करोड दिएको थापाले जानकारी दिए ।
रातारात काम गर्दै केयुकेएल
केयुकेएलले चुहावट नियन्त्रण गर्ने काम रातारात गरिरहेको छ । चुहावट नियन्त्रणलाई तीव्रता दिइएको प्रवक्ता प्रकाश राईले जानकारी दिए । ‘कतिपय अवस्थामा सडक खन्नुपर्ने हुन्छ । त्यसका लागि सडक विभागसँग एकमुष्ठ रूपमा अनुमति लिएर काम गरिरहेका छौँ,’ उनले भने, ‘लिकेज नियन्त्रण र सडक मर्मतको काम एकैसाथ गरिरहेका छौँ ।’ उनले चुहावट नियन्त्रणसँगै सडक मर्मतको काम रफ्तारमा अघि बढेको बताए । ‘पुराना पाइप भएकाले चुहावट धेरै हुने गरेको छ । तर, त्यसको नियन्त्रण र सडक मर्मत जतिसक्दो चाँडो सक्ने हाम्रो लक्ष्य छ ।’ नयाँ पत्रिका दैनिकबाट












