१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र चीनबीच अनुभव आदानप्रदान



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ ।

समितिको आज बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका साथै उपभोक्ता अधिकार सुनिश्चित गराउने क्रममा नेपाल र चीनले गर्दै आएका कार्य अनुभव आदानप्रदान गरिएको थियो । छलफलमा समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिले गर्दै आएका काम कारवाहीका बारेमा चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराउनुभएको थियो ।

समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका साथै उपभोक्ता अधिकारसँग सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ । चिनियाँ प्रतिनिधिमण्डलले समितिले गर्दै आएको काम कारवाहीका बारेमा समितिका सदस्यबाट जानकारी लिएको थियो ।

समितिका सदस्य मुकुन्द न्यौपानेले चाडपर्वका समयमा उपभोक्ता ठगिने सम्भावना हुने भएकाले नेपालले विशेषगरी चाडपर्वको समयमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको बताउनुभएको थियो । अनुगमन टोलीले खरीद मूल्य र बिक्री मूल्यका आधारमा उपभोक्ता ठगीमा परेको वा नपरेको भनेर अनुगमन गर्ने गरेको चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराउनुभएको थियो ।

त्यस्तै समितिले जनचासोका विषय सम्बोधन गर्न सम्बन्धित मन्त्रीलाई छलफलमा बोलाएर निर्देशन दिने गरेको उहाँले बताउनुभएको थियो । सो क्रममा चीनका राज्य प्रशासन तथा बजार अनुगमन सचिव टाङ जुनले नेपालको वाणिज्य समिति र आफ्नो मन्त्रालयले गर्ने काममा धेरै प्रकारको समानता रहेको बताउनुभएको थियो । उहाँले बजार अनुगमनका साथै उपभोक्ताको हकअधिकार सुरक्षित गराउन नेपालसँग मिलेर काम गर्न चाहेको बताउनुभएको थियो ।

उहाँले सरकारको तहमा मन्त्रालयले उपभोक्ता अधिकारका बारेमा छलफल गर्ने र जनताको तहमा त्यहाँको उपभोक्ता मञ्चले उपभोक्ता अधिकार संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो । उपभोक्ता अधिकार स्थापित गराउन चीनले विशेष प्रणालीको स्थापना गरेको उपमन्त्री टाङको भनाइ थियो ।

कार्यक्रममा समितिका सभापति श्रीवास्तवले चीनको उन्नति र प्रगति देखेर आफूहरु अन्त्यन्त खुसी भएको बताउनुभएको थियो । उहाँले नेपालको द्विपक्षीय व्यापार प्रवद्र्धनका साथै पूर्वाधार विकासमा चिनियाँ सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

“समितिको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि चीनसँग सहकार्य गर्न चाहेका छौँ”, सभापति श्रीवास्तवले भन्नुभयो । उहाँले परिस्थिति अनुकूल भएमा बजार अनुगमनमा चिनियाँ प्रतिनिधिलाई लैजाने बताउनुभएको थियो । सो क्रममा चिनियाँ प्रतिनिधिमण्डलले समितिका सदस्यलाई चीन भ्रमणको निमन्त्रणसमेत दिएको थियो ।