२ असार २०८३, मंगलवार
,
Latest
गेरुवामा निशुल्क लोकसेवा तालिमको समापन मुस्ताङका होटल र पसलमा अनुगमन सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छः सचेतक परियार ‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति रास्वपा सांसदहरू भन्छन्ः बजेट शक्ति केन्द्रको वरिपरि घुम्यो निर्माण सामग्री र ढिलासुस्तीका कारण हुने दुर्घटनाको क्षतिपूर्ति ठेकेदारबाटै भराउन सांसद न्यौपानेको माग बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइरल भिडियोबारे सांसद भट्टराईको स्पष्टीकरणः ‘निजी जीवनको सामान्य क्षणलाई विवाद नबनाइयोस्’



अ+ अ-

काठमाडौं ।रास्वपा सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा आफूसँग सम्बन्धित एक पुरानो भिडियो व्यापक रूपमा साझा भइरहेको विषयमा स्पष्टीकरण दिएकी छन्।

भट्टराईले उक्त भिडियो हालको नभई आफू सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिमा आउनुअघि निजी रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो भएको बताएकी छन्। भिडियोमा आफू सवारी साधनको चालक नभई यात्रुको रूपमा रहेको र केही क्षण कारको झ्यालबाट बाहिर हेर्दै रमाइलो गरिरहेको दृश्य मात्र देखिएको उनको भनाइ छ।

उनले उक्त भिडियो कुनै सरकारी कार्यक्रम, सार्वजनिक दायित्व वा औपचारिक भूमिकासँग सम्बन्धित नरहेको स्पष्ट पार्दै त्यसलाई राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित नहुने उल्लेख गरेकी छन्।

सार्वजनिक पदमा रहेका व्यक्तिप्रति नागरिकहरूको चासो स्वाभाविक रहेको स्वीकार गर्दै भट्टराईले सार्वजनिक जिम्मेवारीमा रहे पनि व्यक्तिको निजी जीवन र व्यक्तिगत स्वतन्त्रताको अधिकार कायम रहने बताएकी छन्। “म सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक हुँ,” उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्।

भट्टराईले जीवनको कुनै न कुनै चरणमा उत्साह, उमेर वा परिस्थितिका कारण अधिकांश व्यक्तिबाट ट्राफिक नियम तथा सडक सुरक्षाको दृष्टिले उपयुक्त नहुने व्यवहार हुन सक्ने उल्लेख गरेकी छन्। भिडियोमा देखिएको गतिविधिलाई पनि सोही सन्दर्भमा बुझ्न आग्रह गर्दै उनले सडक सुरक्षा र ट्राफिक नियमको पालना सबैको साझा जिम्मेवारी भएको बताएकी छन्।

उनले विगतका अनुभवबाट सिक्दै भविष्यमा आफूले यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। साथै, सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरेकी छन्। उनका अनुसार यस घटनालाई आलोचना वा विवादको विषयभन्दा पनि सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिन सकिन्छ।

भट्टराईले कुनै छोटो भिडियो वा सीमित दृश्यका आधारमा व्यक्तिको चरित्र, जिम्मेवारीबोध वा सार्वजनिक प्रतिबद्धताको मूल्याङ्कन गर्नु उचित नहुने धारणा पनि राखेकी छन्। व्यक्तिको मूल्याङ्कन उसको समग्र कार्यसम्पादन, व्यवहार र योगदानका आधारमा हुनुपर्ने उनको भनाइ छ।

सांसद भट्टराईले आफू आफ्नो जिम्मेवारीप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै जनताको विश्वासलाई सम्मान गर्दै इमान्दारिता, जवाफदेहिता र समर्पणका साथ दायित्व निर्वाह गरिरहने प्रतिबद्धता दोहोर्‍याएकी छन्। साथै, आफूलाई विश्वास र सद्भाव व्यक्त गर्ने सबै नागरिक तथा शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेकी छन्।