काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संसदमा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धि अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको पनि आक्रोश व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उहाँले आफैले संसदमा आएर नसच्याएसम्म आफूहरुको विरोध कायमै रहने अडान पनि स्पष्ट पार्नुभयो । सांसद शर्माले संसदमा हुर्मत लिने काम सरकारले गरिरहेको जिकीर पनि गर्नुभयो ।
उहाँले भन्नुभयो,‘सरकारले संसदको हुर्मत लिने काम गरिनै राखेको छ । हामीले प्रधानमन्त्रीको लगत अभिव्यक्ति सच्याउन भन्यौ । तर आजसम्म न सभामुखजीले सरकारलाई रुलिङ गर्नुहुन्छ । तपाईं संसदको रोष्टममा आएर यो भनाई सच्याउनहोस् न रुलिङ गर्नुहुन्छ न सरकार जवाफदेही भएर संसदमा आएर जवाफ दिन्छ । यसबारे आफनो प्रष्टोक्ति राख्छ । यस सन्दर्भमा फेरि हामी सबै प्रतिपक्ष दलहरुको एउटै अभिव्यक्ति छ–उक्त गलत अभिव्यक्ति संसदमा नै आएर सच्याईयोस । उहाँले भनेको कुरा सही छ भने हाम्रो सामू यो यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस । सीमानाको बारेमा उहाँले दिएको लगत अभिव्यक्ति सच्याइयोस् । त्यो सच्याउनका लागि सभामुखबाट तत्काल रुलिङ होस भन्न चाहन्छु ।’
सांसद शर्माले सरकार संसदप्रति उत्तरदायी भएको गुनासो पनि गर्नुभयो ।











