३ असार २०८३, बुधबार
,
Latest
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान रौतहटमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति घट्यो, चालु आवमा ४८ जनाको मृत्यु चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी छः उद्योगमन्त्री गौरीकुमारी काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान सञ्चार क्षेत्रको सुधार र पूर्वाधार विस्तारमा सरकारको सक्रियता, ७७ वटै सदरमुकाममा एफटीटीएच सेवा साना किसान र युवा स्वरोजगार प्राथमिकतामा रहेको मन्त्री चौधरीको भनाइ जनार्दनको प्रश्न: ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको निर्यात अवरोधले इलामका ८३ चिया उद्योग बन्द, कूटनीतिक पहल गर्न सरकारसँग सांसद राईकाे माग



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका सचेतक निष्कल राईले भारतले चिया निर्यातमा लगाएको अवरोधका कारण इलामका चिया उद्योगहरू संकटमा परेको भन्दै तत्काल कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ।

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले भारतले गुणस्तर परीक्षणका नाममा नयाँ मापदण्ड (एसओपी) लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या आएको बताउनुभयो। उक्त मापदण्डअनुसार निर्धारित शर्त पूरा नभए चिया नष्ट गर्नेसम्मको व्यवस्था रहेकाले उद्योगहरू प्रभावित भएको उहाँको भनाइ थियो।

सचेतक राईका अनुसार हाल इलामका ८३ भन्दा बढी चिया उद्योग बन्द भएका छन्। उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गइरहेको, श्रमिकहरूको रोजगारी गुमेको तथा बैंक ऋणको ब्याज तिर्नसमेत कठिनाइ भएको उहाँले उल्लेख गर्नुभयो।

उहाँले चिया उद्योग अर्थतन्त्रको महत्वपूर्ण आधार भएको भन्दै सरकारले यसतर्फ पर्याप्त ध्यान नदिएको आरोप पनि लगाउनुभयो। “यो समस्या पटक–पटक संसदमा उठाइसकेको छु, प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूलाई भेटेर पनि जानकारी गराइसकेको छु तर समाधान भएको छैन,” उहाँले भन्नुभयो।

सचेतक राईले सरकारले भारतसँग तत्काल संवाद गरी चिया निर्यात खुलाउन जी–टु–जी पहल गर्नुपर्ने, कूटनीतिक प्रयास तीव्र बनाउनुपर्ने तथा दीर्घकालीन समाधानका लागि चिया परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने सुझाव दिनुभयो। साथै, तेस्रो देशमा निर्यातका लागि बजार सुनिश्चित गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो।

निष्कल राईले चिया उद्योगको समस्यालाई गम्भीर आर्थिक र सामाजिक संकटको रूपमा लिँदै तत्काल समाधानका लागि सरकारलाई दबाब दिनुभएको हो।