काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दाबी गर्नुभएको छ ।
बुधवार आफनो मन्त्रालयसम्बन्धि विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री यादवले नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काममा सरकारले ध्यान दिएको पनि बताउनु भयो । उहाँले मन्त्रालयका लागि बजेटको आवश्यक्ता भएमा तत्काल निकासा गर्न सकिने अवस्था रहेको मन्त्री यादवको भनाई थियो ।
उहाँले भन्नुभयो,‘स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा व्यवस्था गरिएको छ । हामी रिटर्नीको तथ्यांक संकलन गरी उहाँहरुके के सिकेर आउनुभएको हो ? कहाँ रुचि, कस्तो अवसर खोज्नुभएको हो ? भन्नेकुरा बुझ्नुपर्दछ । उनीहरुको क्षमताअनुसार मुलुकभित्र रोजगारीको अवसर सृजना गर्नका लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिएको छ । बढदो माग भएको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी पठाउने गरी काम भइरहेको छ । बजेटमा धेरै महत्वपूर्ण सवालहरु समावेश भएका छन । तर, हामीले यो स्पष्टसँग भन्न आवश्यक छ कि–हामी केवल कार्यक्रम थप्ने चरणमा मात्रै छैनौ, हामी जग बसाउने चरणमा छौ । नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचना स्पष्ट नभएसम्म बजेट राखेर पनि खर्च गर्ने अवस्था हुँदैन । यो जग बसेपछि बजेट पनि त्यसरी नै बढाउँदै लैजानुपर्दछ । र, आवश्यक भएमा थप बजेट निकासा गर्न सकिन्छ ।’
मन्त्री यादवले विदेशमा गएकोहरुको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरुको तथ्यांक संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको बताउनु भयो ।











