मकवानपुर। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहापालिकाको विभिन्न वडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर प्रशोधित पिउने पानी वितरण गर्ने गरिएको छ ।
हेटौँडा उपमहापालिकामा वडा नम्बर १२ र १३ बाहेक वडा नम्बर १ देखि १९ का करिब एक लाख ७२ हजार बासिन्दालाई स्वच्छ पिउने पानी दैनिक सरदर १० घण्टा वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताउनुभयो । उहाँले हेटौँडा नगरको विभिन्न वडाका प्रत्येक टोलमा आजसम्म २९ हजार ८०३ धारा जडान गरिएको जानकारी दिनुभयो ।
हेटौँडा उपमहापालिका–२ स्थित बुङदल खोलाको पानी, ४० डिपट्युवेल र १९ समवेलबाट दैनिक तीन करोड, ७५ लाख लिटर पिउने पानी सङ्कलन गरिँदै आएको खानेपानी बोर्डका सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।
यसैगरी सो बोर्डले हेटौँडा–१४ मा डिपट्युवेल दुई लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण र मेनलाइन शाखा पाइप विस्तार कार्य सम्पन्न गरिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त आयोजनामा हेटौँडा–१६ शक्तिमा ६ वटा ९ सय घनमिटर क्षमताको समवेलको निर्माण र करिब साढे ३ किलोमिटर पाइप लाइन विस्तार गर्ने कार्य सम्पन्न गरिएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यसैगरी हेटौँडा–१५ को सानो सुकौलीमा बोर्डले एक लाख लिटर क्षमताको पानी ट्याङ्की र वडा नम्बर १६ मा शौचालय निर्माण गरेको छ । हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाइ डिभिजन १ को संयुक्त लगानीमा हेटौँडा–११ थाना भ¥याङको सिमलटार क्षेत्रमा हाल दुई समवेल र चार लाख ५० हजार क्षमताको ओभर हेड पानी ट्याङकी तथा घर निर्माण गरेको प्रमुख सापकोटाले बताउनुभयो ।
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो परिसरभित्र अत्याधुनिक पानीे परीक्षण प्रयोगशाला हालै सञ्चालनमा ल्याएको छ । बोर्डले पानी सङ्कलन गर्ने कार्यमा प्रयोग गर्ने उद्देश्यले विभिन्न साइजका मोटर पम्पसेटहरु खरिद गरिएको जनाएको छ ।
साथै हेटौँडा–१२ र १३ का स्थानीय उपभोक्ताहरुले आफ्नो लगानीमा छुट्टाछुट्टै खानेपानीको ट्याङ्की निर्माण गरेर पाइप विस्तार गरी ती प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको हेटौँडा उपमहानगरपालिकाको प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । रासस












