उदयपुर। उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको कर्मचारी सवार बा२ख ६४३८ नम्बर सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय सङ्गमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाएको थियो । उपचारकै क्रममा बर्दिबास नगरपालिका निवासी ५५ वर्षीय विमलेश दत्तलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी गौशाला नगरपालिका–२ निवासी ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देशकुमार चौधरीलाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । बस चालक महोत्तरी गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेको र प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । रासस












