काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी परित्याग गर्नुभएको पूर्वमहामन्त्री धवलशमशेर राणालाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ ।
पार्टीको केन्द्रिय समितिको बैठकका निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसंग कुरागर्दै उहाँले पार्टी छाडेर गल्ती नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले नेताहरुले पार्टी छाडेको कुरा जानकारीमा नआएको बताउनु भयो । उहाँले नेताहरूले पार्टी छाडेर गल्ती नगर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ । राप्रपाका पूर्वमहामन्त्री राणाले भने पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गर्ने घोषणा गरिसक्नु भएको छ । अध्यक्ष लिङदेनले भने राणाको उक्त कार्यलाई जीवनकै अन्तिम गल्तीको संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले पार्टीको केन्द्रीय समितिको बैठकमा यस विषयमा कुनै जानकारी पनि पाएका छैनौँ । अहिलेसम्म हाम्रा कोही साथीहरुले सुन्नुभएको पनि छैन, उहाँहरुले जीवनको यो क्षणमा आएर यस प्रकारको गल्ती गर्नुहुन्न भन्ने मैले विश्वास गर्छु र उहाँहरुले कथम् यस प्रकारको काम गर्नुभयो भने उहाँहरुको जीवनको यो अन्तिम गल्ती हुनेछ । यस प्रकारको कामहरु पहिले पनि उहाँहरुबाट हुँदै आएको हो तर अहिले मेरो दृढ विश्वास छ, उहाँहरुले यस प्रकारको गलत काम गर्नुहुन्न र गर्नुभयो भने जीवनको अन्तिम गल्ती हुनेछ । समय बाँकी छ । अहिले नै नेतृत्वको बारेमा बहस गर्ने समय आएको छैन । महाधिवेशनको जुन ठ्याक्कै समय आउँछ, त्यसबेला साथीहरुसँग छलफल, परामर्श पछि हामी टुंगोमा पुग्छौँ । तर आउने महाधिवेशनमा नेतृत्वलाई प्रभावकारी र समयसापेक्ष बनाउने कुरामा हामी सबैको ध्यान केन्द्रित हुनेछ ।’
उहाँले पार्टी नेतृत्वको बहस गर्ने बेला पनि नभएको बताउनुभयो । महाधिवेशनको निर्धारित समय आएपछि साथीहरूसँग छलफल र परामर्श गरेर निष्कर्षमा पुग्ने उहाँको भनाई छ ।
पार्टी नेतृत्वलाई अझ प्रभावकारी, सशक्त र समयसापेक्ष बनाउने विषयमा सबैको ध्यान केन्द्रित हुने उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल












